२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

हिन्दुवादी पार्टी खोल्दै थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अलग भएको घोषणा गरेका कमल थापा नयाँ पार्टी खोल्ने गृहकार्यमा जुटेका छन्।

नयाँ पार्टी खोल्ने विषयमा बुधबारबाट छलफल गरिने र केही दिनमा घोषणा हुने थापाका सहयोगी राजाराम बड्तौलाले बताए। उनका अनुसार नयाँ पार्टीले हिन्दु धर्मको अजेन्डालाई उच्च प्राथमिकतामा राख्ने भएको छ। राजतन्त्रको अजेन्डा राख्ने कि नराख्ने, टुंगो नलागेको उनले बताए। ‘नयाँ पार्टी खोल्ने परिस्थिति तयार हुँदै गएको छ। एकदुई दिनमै घोषणा हुन्छ’, बड्तौलाले भने।

थापा निकट स्रोतका अनुसार नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडिनेछैन। पार्टीको नाममा राप्रपा शब्द नजोडे राप्रपा फुटाएको सन्देश नजाने थापाको बुझाइ रहेको स्रोतले बतायो। २०७६ सालमा एक सार्वजनिक कार्यक्रममा थापाले भगवद् गीता छोएर अब कहिल्यै पनि आफूले राप्रपा नफुटाउने कसम खाएका थिए।

यतिखेर राप्रपाका अधिकांश नेता तथा कार्यकर्ताले त्यस घटनालाई स्मरण गरेका छन् । थापा निकट एक नेताले भने, ‘उहाँ (थापा) ले राप्रपा फुटाउने छैन भन्नुभएको हो । नयाँ पार्टीको नाममा राप्रपा शब्द जोडेमा पार्टी फुटाएको सन्देश जान्छ तर अर्को नाम राखी पार्टी घोषणा गरेमा फुटाएको सन्देश जाने छैन।’

थापा निकट स्रोतका अनुसार नयाँ पार्टीमा पशुपतिशमशेर राणालाई पनि बोलाइएको छ। तर गत मंसिरमा सम्पन्न राप्रपाको एकता महाधिवेशनमा थापा प्यानलबाट निर्वाचित धेरैजसो पदाधिकारीले उनलाई साथ नदिने सम्भावना देखिएको छ।

महामन्त्रीमा निर्वाचित भुवन पाठकले थापाले खोल्ने नयाँ पार्टीमा आफू नजाने प्रस्ट पारे। महाधिवेशनमा पाठक थापा प्यानलबाट चुनाव लडेका थिए। ‘उहाँ (थापा) को निर्णय अनपेक्षित तथा दुर्भाग्यपूर्ण छ’, पाठकले भने, ‘उहाँले नयाँ पार्टी खोल्नुभयो भने म त्यसमा जाने छैन। अरु साथी पनि जानुहुन्न।’ यसैगरी थापाको प्यानलबाट उपाध्यक्षमा चुनाव जितेका बुद्धिमान तामाङ पनि नयाँ पार्टीमा नजाने भएका छन्।

गत महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले आफ्नो पराजयमा पूर्वराजा ज्ञानेन्द्र शाहको हस्तक्षेप प्रमुख कारण रहेको भन्दै त्यसबारे छानबिन गर्न समिति बनाउन आग्रह गरेका थिए। यस विषयमा निर्णय गर्न उनले पार्टीका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनलाई २ पटकसम्म चिठी लेखे।

लिङ्देन छानबिन समिति गठन गर्न तयार भएनन्। गत शनिबार थापा र लिङ्देनबीच भेटवार्ता भयो तर निरर्थक रह्यो। त्यसपछि थापा नयाँ पार्टी खोल्ने निष्कर्षमा पुगेका हुन्। स्थापना कालदेखि नै थापा राप्रपामा आबद्ध छन्। २०६२ मा उनले राप्रपा फुटाएर राप्रपा नेपाल बनाएका थिए।

प्रकाशित: २६ माघ २०७८ ००:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App