९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

जसपा र लोसपा लचिलो

तराई/मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) एमसिसी सम्झौता संसद्बाट पास गर्न सकारात्मक देखिएका छन्। जसपा सरकारमा छ भने लोसपा बाहिर छ।

प्रतिनिधिसभामा जसपाका १९ र लोसपाका १३ सांसद छन्। जसपाका दुई सांसद रेशम चौधरी र हरिनारायण रौनियार निलम्बित छन्। चौधरीले भने जसपा छाडेर नयाँ पार्टी घोषणा गरेका छन्।

जसपा संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले सार्वजनिकरूपमै एमसिसी पास गराउन लबिङ गरिरहेका छन्। जसपा कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवले एमसिसीको पक्षमा औपचारिक रूपमा केही बोलेका छैनन् । तर पनि उनी पास गर्नुपर्ने कित्तामा रहेको स्रोत बताउँछ। यादव निकट मानिने जसपा कार्यकारिणी समितिका सदस्य मृगेन्द्रसिंह यादवले जसपाले एमसिसी पास गर्ने औपचारिक निर्णय नगरे पनि त्यसको पक्षमा रहेको बताए।

‘हाम्रो अध्यक्षज्यू (उपेन्द्र यादव) पनि एमसिसीको विरोधमा हुनुहुन्न, पक्षमा हुनुहुन्छ भन्ने मेरो बुझाइ छ,’ यादवले भने, ‘तर यस विषयमा पार्टीमा औपचारिक छलफल भने भएको छैन।’ आफू व्यक्तिगत रूपमा एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा रहेको यादवले बताए।

जसपा कार्यकारिणी समितिका अर्का सदस्य गंगानारायण श्रेष्ठले पनि आफू एमसिसीको पक्षमा रहेको बताए। ‘यसबारे पार्टीले औपचारिक निर्णय गरेको त छैन तर व्यक्तिगत रूपमा एमसिसी पास गर्नुपर्छ भन्ने पक्षमा म छु,’ श्रेष्ठले भने। श्रेष्ठ संघीय परिषद्का अध्यक्ष भट्टराइसँग निकट मानिन्छन्।

सरकारमा जसपाका चार मन्त्री छन्। जसमध्ये राजेन्द्र श्रेष्ठबाहेक अन्य ३ जना पार्टी अध्यक्ष यादवसँग निकट मानिन्छन्। उनीहरू सबै एमसिसीको पक्षमा रहेका जसपाका अर्का एक नेताले बताए।

जसपाका नेता तथा पूर्वमन्त्री इस्तियाक राईले जनतामा फैलाइएका भ्रम चिरेर एमसिसी संसद्बाट पास गर्नुपर्ने बताए। उनले भने, ‘अन्योल र भ्रम चिरेर एमसिसी पास गर्नुपर्छ।’

यसैगरी, जसपाबाट अलग भएर बनेको लोसपा पनि एमसिसीको पक्षमा उभिएको छ। बुधबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोसपा अध्यक्ष महन्थ ठाकुर बालुवाटार पुगेका थिए। भेटमा एमसिसी, लोसपाका माग, सांसद रेशम चौधरीको रिहाइलगायत विषयमा छलफल भएको ठाकुरका सहयोगी सतेन्द्र मिश्रले बताए। पछिल्लो समय प्रधानमन्त्री देउवा र लोसपाका नेताहरूको निकटता र भेटघाट बढ्दै गएको छ।

लोसपाका नेताहरूले सार्वजनिक रूपमा एमसिसीको विरोध गरेका छैनन्। लोसपा कार्यकारिणी समितिका सदस्य केशव झाले आफ्नो पार्टी एमसिसी संसद्बाट पास हुनुपर्छ भन्ने पक्षमा रहेको प्रष्ट पारे। ‘सरकारले एमसिसी अनुमोदनका लागि संसद्मा ल्यायो भने हामी पास गराउने पक्षमा उभिन्छौं,’ झाले भने।

प्रकाशित: २१ माघ २०७८ ०१:२७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App