coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रदेश २ नामांकनः चार नाममध्ये मतदानबाट टुंगो लगाइने

प्रदेश २ को नाम अंकबाट अक्षरमा रूपान्तरित हुन सकस जारी छ। आइतबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरू प्रदेशको स्थायी राजनधानीको विषयमा एकमत प्रायः देखिए पनि नामांकनमा विभाजित देखिए।

नामांकनमा एकमत कायम गर्न प्रदेशसभाका सभामुख सरोजकुमार यादवको संयोजकत्वमा विशेष समिति नै गठन गरी दफाबार छलफल गरिएको थियो। तर, छलफलबाट नाममा एकमत कायम हुन सकेन। विशेष समितिले छलफलबाट तयार प्रतिवेदन प्रदेशसभा बैठकमा प्रस्तुत गरिएको छ। जसमा अब गोप्य मतदानमार्फत नामांकनको विषय टुंग्याउनुपर्ने निष्कर्ष निकालिएको छ।

प्रतिवेदनमा पुस १५ देखि २७ गतेसम्म चलेको समितिको ८ वटा बैठकमा छलफलको माध्यमबाट ६ वटा नामको प्रस्तावलाई ४ र ६ वटा राजधानीको प्रस्तावलाई ३ वटामा सीमित गर्न सकेको उल्लेख छ। अब नाम र राजधानी यसै साता गोप्य मतदान प्रक्रियामा जानुपर्ने, मतदानको लागि आवश्यक निर्वाचन कार्यविधि, जनशक्ति स्रोतसाधन, मतदान सामग्रीहरू तथा सुरक्षा प्रबन्धलगायतका यथोचित व्यवस्थापन गर्नुपर्ने, मतदान प्रक्रिया सभाकक्षसँगै रहेको कक्षमा सम्पन्न गर्ने समितिले निष्कर्ष निकालेको छ।

सभामुख सरोजकुमार यादव नेतृत्वको समितिले तयार गरेको प्रतिवेदनअनुसार अब नामका विषयमा चारवटा र राजधानीका विषयमा तीन वटा प्रस्तावमाथि मतदान हुनेछ।

प्रदेश २ को नाम मधेश, जानकी, मिथिला भोजपुरा र मध्य मधेश प्रदेश छन्। सांसदहरू शैलेन्द्रकुमार यादव र भरतप्रसाद साहले मधेश प्रदेश नाम प्रस्ताव गरेका हुन्। यसमा सांसदहरू बबिता कुमारी, रानीकुमारी तिवारी, सावित्रीदेवी साह, जगतप्रसाद यादव र दिलीप साह समर्थक छन्।

जानकी प्रदेशको प्रस्तावकमा प्रमोदकुमार यादव छन् भने समर्थकमा वेची लुंगेली, डिलीप्रसाद उप्रेती र नागेन्द्र राय यादव छन। मिथिला भोजपुराको प्रस्तावकमा शिवचन्द्र चौधरी छन् भने समर्थकमा नागेन्द्रप्रसाद सिन्हा, प्रमिलादेवी दास र मन्जुकुमारी यादव छन्।

प्रदेश २ को राजधानीका लागि गरिएका प्रस्तावमा जनकपुर, पोखरिया र सखुवा प्रसौनी गाउँपालिका तथा पर्सागढी नगरपालिकासहित वीरगञ्ज र वीरगञ्ज महानगरपालिका छन्। परमेश्वर साह, रविन्द्र बैठा, उपेन्द्रप्रसाद कुशवाहा, शारदादेवी थापा र भरतप्रसाद साहले राजधानी जनकपुर राख्न प्रस्ताव गरेका हुन्।

सिंगासन साह कलवारले पोखरिया, सखुवा प्रसौनी, पर्सागढीसहित वीरगन्जलाई राजधानी बनाउन प्रस्ताव दर्ता गराएका छन्। तेस्रो प्रस्ताव दर्ता गराएका राजेश्वरप्रसाद शाहले वीरगन्जलाई मात्र राजधानी बनाउन माग गरेका छन्।

प्रदेशको स्थायी राजधानी र नामांकनका लागि प्रदेशसभामा हाल कायम रहेको प्रदेशसभा सदस्यको संख्याको दुईतिहाइ बहुमतले पारित गर्न सक्ने संवैधानिक प्रावधान रहेको छ। प्रदेशसभामा हाल ६ वटा दल र एक स्वतन्त्र सांसद गरी १०४ जना प्रदेश सांसदहरू छन्।

सत्तारूढ जसपाका ३९, सत्तारुढ दल कांग्रेसका १९, सत्ता घटक एकीकृत समाजवादीका १३ र माओवादी केन्द्रका ८ प्रदेश सांसद छन्।

प्रमुख प्रतिपक्षी लोसपाका १६ र प्रतिपक्षी एमालेका ८ र नेपाल संघीय समाजवादीका १ सांसद छन्। दुईतिहाइका लागि ६९ जना सांसदको मत चाहिन्छ।

प्रकाशित: ३ माघ २०७८ ०४:१६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App