१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

विभाजनको ६ महिनामै जसपामा मतभेद

विभाजन भएको ६ महिनामै जनता समाजवादी पार्टी (जसपा) मा गम्भीर विवाद देखिएको छ। जसपा संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई र कार्यकारिणी समितिका अध्यक्ष उपेन्द्र यादवबीचको मतभेदले पार्टीमा स्पष्ट रूपमा दुई गुट देखिएको छ। भट्टराई पक्षधर नेताले उनलाई कार्यकारी अधिकार सहित कार्यकारिणी समितिको अध्यक्ष र अशोक राईलाई संघीय परिषद्को अध्यक्ष बनाउनुपर्ने माग गरेका छन्।

जसपाबाट अलग भई महन्थ ठाकुरले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपामा कार्यकारिणी अध्यक्षको एक पद खाली छ। ठाकुरले पार्टी छाडेपछि रिक्त सो पदमा भट्टराईलाई ल्याउनुपर्ने उनी पक्षधर नेताहरूको माग छ। जसपा विधानमा दुईजना कार्यकारिणी अध्यक्ष हुने व्यवस्था छ। यादव पक्षधर नेताले भने जसपालाई एकल अध्यक्ष प्रणालीमा लैजानुपर्ने तर्क गरेका छन्।

भट्टराई पक्षधर नेताहरू उनलाई ‘सेरोमोनियल’ अध्यक्षका रूपमा संघीय परिषद्को नेतृत्व दिइएकोमा सन्तुष्ट छैनन्। सबै कार्यकारी अधिकार यादवसँग रहेकाले भट्टराई पक्षधर नेताहरू असन्तुष्ट भएका हुन्। पार्टीबाट सरकारमा सहभागी हुने मन्त्री र राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्दा कार्यकारिणी अध्यक्ष यादवले एकलौटी निर्णय गरेको भट्टराई पक्षधर नेताहरूको आरोप छ। भट्टराई र यादव पक्षबीच अहिले कार्यकारिणी अधिकार प्रयोगको विषयलाई लिएर विवाद उत्पन्न भएको हो।

भट्टराईसँग निकट कार्यकारिणी समितिका सदस्य तथा पूर्वमहासचिव गंगानारायण श्रेष्ठ राष्ट्रिय चरित्रको पार्टी निर्माण गर्न र पार्टीलाई सामूहिक समावेशी नेतृत्व प्रणालीमा लैजान ३ वटा कलस्टरलाई समेटेर तीनजना अध्यक्ष बनाउनुपर्ने बताउँछन्। ‘विधान अधिवेशन नहुँदासम्म अहिलेको विधानले व्यवस्था गरेअनुसार ३ वटा कलस्टर समेटेर तीन जना अध्यक्ष (२ कार्यकारिणी र १ संघीय परिषद्) चयन गरौं भन्ने हाम्रो माग हो,’ श्रेष्ठले भने, ‘विधान अधिवेशनपछि यो व्यवस्था विधानमै राखौं।’

यादवसँग निकट कार्यकारिणी समितिका सदस्य विजय यादव भने अब पार्टीलाई एकल अध्यक्षात्मक प्रणालीमा लैजानुपर्ने तर्क गर्छन्। ‘पार्टीमा दुईजना अध्यक्ष हुने प्रणाली असफल भइसकेको छ। यो हामीले विगतमा भोगिसकेका छौं’, विजयले भने, ‘त्यसैले पार्टीलाई एकल अध्यक्षात्मक प्रणालीमा लैजानुपर्छ। दुई अध्यक्ष हुने प्रणालीलाई निरन्तरता दिनेतिर अब सोच्दै नसोचौं।’ विधान अधिवेशनअघि पार्टीमा दुईजना कार्यकारी अध्यक्ष राख्न नसकिने उनले बताए। ‘पार्टीलाई बलियो र सशक्त बनाउन पनि एकल अध्यक्षात्मक प्रणाली चाहिन्छ,’ विजयले भने।

मतभेद बढ्दै गएपछि भट्टराई पक्षधर नेताले जतिसक्दो चाँडो पार्टी कार्यकारिणी समितिको बैठक बोलाउन माग गरेका छन्। कार्यकारिणी समितिको बैठकबाटै विवादको छिनोफानो हुने उनीहरूको भनाइ छ। ‘तत्काल कार्यकारिणी समितिको बैठक बोलाउन हामीले माग गरेका छौं,’ श्रेष्ठले भने, ‘अब बैठक बोलाउन ढिलो गर्नु हुँदैन।’

कार्यकारिणी समितिका अध्यक्ष यादवले पछिल्लो पटक समितिको बैठक मंसिर तेस्रो साता बोलाएका थिए। उक्त बैठक राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार चयन गर्ने विषयमा केन्द्रित भएको थियो। कार्यकारिणी समितिका अध्यक्ष यादव पक्षधर नेताहरू विधानअनुसार नै अध्यक्षले पार्टीलाई अघि बढाएको र आवश्यकताअनुसार बैठक भइरहेको बताउँछन्।

स्रोतका अनुसार जसपाबाट सिँचाइमन्त्री बनेका महेन्द्र यादव र पार्टी कार्यकारिणी समितिका अध्यक्ष यादवबीचको सम्बन्ध पनि त्यति राम्रो छैन।   पार्टीबाट सरकारमा जानेको सूची प्रधानमन्त्रीलाई दिँदा अन्तिम समयमा प्रमोद साहको नाम हटाएर महेन्द्रलाई राखिएको थियो। अहिले सिँचाइ मन्त्री महेन्द्र पार्टी अध्यक्ष यादवले बोलाएका बैठक र कार्यक्रममा पनि जान छाडेका छन्।

सर्लाहीमा पार्टी समायोजन गर्दा अध्यक्ष यादवले महेन्द्र पक्षलाई किनारा लगाएका थिए। यसैकारण महेन्द्र अध्यक्ष यादवसँग असन्तुष्ट भएको स्रोतको दाबी छ।   सर्लाही सिँचाइमन्त्री महेन्द्रको गृहजिल्ला हो।

६ महिनाअघि जसपामा विभाजन आउँदा महेन्द्रले ठाकुरको साथ छाडी अध्यक्ष यादवलाई साथ दिएका थिए। पार्टीबाट सरकारमा सिँचाइ मन्त्री भएका महेन्द्र अध्यक्ष यादवसँग असन्तुष्ट भएको र अर्का नेता राईको पनि साथ पाएकाले भट्टराई पक्ष हौसिएको छ।

यसै मौकामा पार्टीमा आफ्नो पकड बढाउने पक्षमा छ। कार्यकारिणी समितिका अध्यक्ष यादव रिक्त अर्को कार्यकारिणी अध्यक्ष पदमा भट्टराईलाई ल्याउन सहमत भएनन् भने पार्टीमा विभाजन समेत आउनसक्ने खतरा पनि छ। गत साउनमा जसपा विभाजन भएको थियो। जसपाबाट अलग भई ठाकुर, राजेन्द्र महतो लगायतले लोसपा गठन गरेका हुन्। पार्टी विभाजनपछि जसपा कार्यकारिणी समितिमा ३४ सदस्य छन्।

प्रकाशित: २ माघ २०७८ ००:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App