६ वैशाख २०८१ बिहीबार
राजनीति

एमाले सुनसरीको अध्यक्षमा रेवतीरमण भण्डारी विजयी

नेकपा एमाले सुनसरी अध्यक्षमा संस्थापन पक्षका रेवतीरमण भण्डारी विजयी भएका छन्। ७ औं जिल्ला अधिवेशनअन्तर्गत भएको निर्वाचनको मत परिणामअनुसार निकटतम प्रतिद्धन्दी खेमराज पोख्रेललाई १४५ मतान्तरले हराउँदै भण्डारी विजयी भएका हुन्। विजयी भएका भण्डारीले ९२० मत पाए भने पोख्रेलले ७७५ मत पाए।

अर्का उम्मेदवार तथा इटहरीका मेयर द्धारिकलाल चौधरीले मात्र ८० मत पाए। पुष २७ गते भएको मतदानमा कुल १८०५ मत खसेको थियो। कूल मतदाता २१५० थिए।

अध्यक्षमा विजयी भण्डारी र पोख्रेल दुवै संस्थापन पक्षका नेता हुन्। भण्डारी एमाले सुनसरीमा २ कार्यकाल अध्यक्ष भएर नेतृत्व हाँकिसकेका थिए भने पुष ५ गतेपछि पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले गठन गरेको जिल्ला कमिटीको पनि अध्यक्ष भएका थिए।

दश बुँदे पक्षधरले उनलाई अध्यक्षमा स्वीकार नगरेपछि पार्टी विवाद मिलाउन पोख्रेलको अध्यक्षतामा ७ औं जिल्ला अधिवेशन आयोजक कमिटी गठन गरिएको थियो।

संस्थापन पक्षका नेताहरुले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेपनि सहमति नजुटेपछि निर्वाचन भएको थियो। पोख्रेललाई स्थायी कमिटी सदस्य भीम आचार्य तथा १० बुँदे पक्षले साथ दिएको थियो। संस्थापन पक्ष विभाजित हुँदा उनले जित्ने आँकलन अन्ततः फेल खायो। सुनसरी गृह जिल्ला भएका स्थायी कमिटी सदस्य आचार्यले अध्यक्षमा भण्डारीलाई रोक्न हरसम्भव प्रयास गरेका थिए।

उपाध्यक्ष पदमा पनि भण्डारी प्यानलका निलम खनाल १०११ मत पाएर विजयी भए। उनका निकटतम नन्दकुमार बस्नेतले ७ सय मत पाए। दुई उपसचिवमा पनि संस्थापनकै राम कोइराला र योग्यराज खड्का विजयी भए। कोइरालाले ८२१ र खड्काले ५६३ मत पाएका छन्। कोइराला अध्यक्ष भण्डारीको प्यानलमा समेटिदा संस्थापन पक्षकै भएपनि उम्मेदवार धेरै भएपछि खड्का प्यानलमा अटाएका थिएनन्। सचिव पदमा पर्शुराम यादव सर्वसम्मत निवार्चित भइसकेका थिए। उनी पनि संस्थापन पक्षकै नेता हुन्।

बाँकी सदस्यहरुको मतगणना शुक्रबार बिहानदेखि गर्ने गरि स्थगित गरिएको अधिवेशन आयोजक कमिटीका प्रचारप्रसार सहसंयोजक रवि खनालले जानकारी दिए।

प्रकाशित: २९ पुस २०७८ १५:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App