८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले उदयपुरमा अध्यक्षका आकांक्षी बढ्दै

तीनजनाको उम्मेदवारी घोषणा

अध्यक्षका आकांक्षीहरु खड्ग परियार, कुशल बस्नेत, कालु लामा र प्रमेश घिमिरे। तस्बिरः महेश्वर

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को जिल्ला अधिवेशन शुक्रबारदेखि सदरमुकाम गाईघाटमा सुरु भएको छ। अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने यसअघिकै रटान पार्टीले लगाउँदै आए पनि अध्यक्षमा दावी गर्नेको संख्या भने बढ्दै गएको छ।  

गुटगत प्रबृत्तिको अन्त्य गर्ने भन्दै चितवन महाधिवेशनबाटै सर्वसम्मत नेतृत्व चयन गर्ने मनसुवा अध्यक्ष केपी ओलीले लिएका थिए। तर, अध्यक्ष ओलीको सर्वसम्मतको प्रयासलाई पूर्व उपाध्यक्ष डा. भीम रावलले लोकतान्त्रिक मूल्य मान्यता अनुसार चुनावी प्रतिस्पर्धा गर्न पाउनुपर्ने भन्दै उम्मेदवारी दिएर बिफल पारेको असर देशभर पर्ने देखिन्छ।  

उदयपुर पनि यसबाट अछुतो छैन। अधिवेशन सुरु नहुँदै आधा दर्जन बढीले अध्यक्षको दावी गरेको पाइएको छ। अधिवेशन हुनुभन्दा महिनादिन अघिदेखि नै नेतृत्व दावी गर्नेहरु बजारका चिया र भट्टी पसलमा देखिएका हुन्। कोही सर्वसम्मत पाए मात्र नेतृत्व लिने दाउमा छन् भने कतिपय चुनावी प्रतिस्पर्धा गरेरै किन नहोस नेतृत्व हत्याएरै छाड्ने प्रयासमा छन्। केहीले समूह बनाएर उम्मेदवारी घोषणासमेत गर्न भ्याईसकेको हुँदा समग्र परिस्थितिले एमाले उदयपुरमा सर्वसम्मत नेतृत्व चयनको संभावना ४९ प्रतिशतभन्दा कमै रहेको नेता कार्यकर्ताहरु स्वीकार्छन्।

अघिवेशन सुरु हुनअघि नै ३ जनाले अध्यक्षको उम्मेदवारी घोषणा गर्न भ्याईसकेका छन्। हालका सचिव प्रमेश्वर घिमिरे र सचिवालय सदस्य कुशल बस्नेतले प्यानलरहित अध्यक्षको उम्मेदवारी घोषणा गरेका छन् भने अर्का सचिवालय सदस्य कालु लामाले टेकबहादुर राउतलाई सचिव बनाएर अध्यक्ष उम्मेदवारी घोषणा गरेका छन्। अन्य आकांक्षीहरु हालका अध्यक्ष इश्वरमणि राउत, उपाध्यक्ष बिमल कार्की, दुर्गाकुमार थापा, खड्ग परियार, गोपाल खत्री भने बजार चर्चामै सीमित रहे पनि आफूपटि परिणाम ढल्काउने अभियानमा उद्धत छन्।

राउत, अघिल्लो अधिवेशनमा पराजित अध्यक्षका उम्मेदवार थापा र खत्री सर्वसम्मत पाए मात्र अध्यक्ष बन्ने बताईरहेका छन्। कार्की सर्वसम्मत वा चुनाव कुनैको पक्षमा नदेखिए पनि अध्यक्ष हुने वातावरण आफ्नो भागमा पार्नेगरी ‘रिजर्भ’ रहेको उनीनिकट कार्यकर्ताहरु बताउँछन्। अकांक्षीमध्येका खड्ग परियार सचिवालय सदस्य तथा जिल्ला समन्वय समिति प्रमुखसमेत हुन्। परियारले पार्टीलाई दलित अधिकारको पैरवी अभियानसँगै ३० वर्षदेखि अनवरत योगदान गरेकोले आफूलाई अध्यक्षको सवल दावेदार रहेको बताउँछन्। ओली कदमपछि पुनगर्ठित केन्द्रीय सदस्यसमेत भएका परियारले पार्टीलाई असल अभिभावकीय नेतृत्व प्रदान गर्न आफू सक्षम रहेको भन्दै अध्यक्षको दावेदार रहेको बताए।  

हालका अध्यक्ष राउतले संकटका बेला पार्टीलाई बचाएर यो अवस्थासम्म ल्याई पुर्‍याएको भन्दै त्यो योगदानको कदर गरेर पनि एक कार्यकाल आफूलाई अध्यक्ष दिनुपर्ने मनसुवा व्यक्त गरिरहेका निकटस्थहरु बताउँछन्। चुनावै लडेर अध्यक्ष हुने कुरा भने उनले उठाएको नसुनेको कार्यकर्ताहरुको भनाई छ।  

पछिल्लो अवस्थाले अध्यक्षका आकांक्षीहरु कोही पनि पछि हट्ने अवस्थामा देखिँदैनन्। अघिल्लो अघिवेशनबाट अध्यक्ष जितेर माओवादीसँग एकीकरणपछि सचिव भएका राउत सर्वोच्चले पार्टी विभाजन गरेपछि पुनः अध्यक्ष फर्केका हुन्। तर, उनीमाथि ओलीको संसद विघटनपछि प्रचण्ड–माधव–झलनाथले आव्हान गरेको प्रतिगमनविरुद्धको आन्दोलनमा साथ दिएको हुनाले सर्वसम्मत अध्यक्ष स्वीकार्न नसकिने केही कार्यकर्ताको प्रतिक्रिया छ।  

हुन त ओली कदमका बेला अध्यक्ष राउतसँगै तत्कालीन सचिव प्रमेश घिमिरे पनि आन्दोलनमा सरिक भएका थिए। तर, उनी चाही केही दिनपछि नै सचिवालय सदस्य कुशल बस्नेतलाई सचिव बनाएर ओली खेमाको पुनर्गठित कमिटी अध्यक्ष भएका थिए। उता बेलका नगरप्रमुखसमेत रहेका र सुरुदेखि ओली पक्षधर दुर्गाकुमार थापा चुनाव नलड्ने तर, अध्यक्षको कुर्सी आफ्नो पक्षमा पार्ने दाउमा लागेको कार्यकर्ताहरुको भनाई छ। थापा, लामा, परियार, बस्नेत र भागवत राउत सुरुवाती समयदेखि ओली पक्षधर हुन्। तर, भागवत राउतले भने अध्यक्षको दावी गरेको चर्चा कतै चलेको छैन।

प्रकाशित: २३ पुस २०७८ १०:०५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App