२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

पर्यटन बोर्डका सिइओले लन्डन पुर्‍याएर अपमान गरेः पर्यटनमन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नो इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका छन्।

नेपाल पर्यटन बोर्डको वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्री आलेले निलम्बनमा परेका बोर्डका सिइओ धनञ्जय रेग्मीलाई सार्वजनिक रूपमै आक्रोश व्यक्त गर्दै आफू इमान बेचेर मन्त्रीको कुर्सीमा नबस्ने बताएका हुन्।

व्यावसायिक मानसिकता भएको बोर्डको नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थ मात्रै पूरा गर्न खोजेको बताउँदै उनले मन्त्रीलाई नै खरिद गर्ने मनसाय भएका व्यक्तिलाई बोर्डको सिइओ बनाउनु विडम्बना भएको बताए। पर्यटन प्रवद्र्धनको नाममा आफूलाई बेलायत पुर्‍याएर बेइज्जत गराएको समेत मन्त्रीको आरोप छ।

मन्त्री आलेले बेलायतमा सम्पन्न विश्व पर्यटन मेलामा आफ्नो बेइज्जत भएको किस्सा सुनाउँदै बोर्डका सिइओ रेग्मीलाई साँढेको संज्ञा दिएका छन्। रक्सीको मातमा उन्मत्त भएका व्यक्ति संस्थाको सिइओ बनाउँदा संस्था चल्न नसक्ने बताउँदै मन्त्री आलेले भने, ‘धेरै रिसाउनु भो जाम रक्सी खान भन्नेले देशको पर्यटन प्रवद्र्धन कसरी गर्छ?’

सार्वजनिक रूपमै अभिव्यक्ति दिँदै मन्त्री आलेले सिइओ रेग्मीले दुई÷चारवटा टोयोटाका गाडी बेचेर आफ्नो इमान किन्न खोजेकोसमेत आरोप लगाए। उनले सिइओ रेग्मीले आफूलाई जबर्जस्ती बेलायत लगेकोसमेत दाबी गरेका छन्।

बेलायतमा १७ देशका मन्त्रीले आफ्नो देशको पर्यटन प्रवद्र्धनबारे कुरा राख्दा आफूले टुलुटुलु रेहेर बस्न बाध्य भएकोसमेत मन्त्रीले सुनाए। सिइओ रेग्मीकै कारण बेलायतको उक्त फोरममा कोभिडले विश्वलाई प्रभाव पारिरहेको बेलामा आफ्नो देशका पर्यटन क्षेत्र कोभिडमुक्त रहेको सन्देश दिन नपाएको समेत बताए।

‘लन्डन गएँ, लगेर दूतावासमा राखिदियो। सोही समयमा प्रधानमन्त्री पनि कोप २६ सम्मेलनमा भाग पुगेकाले दूतावासको कार्यवाहक राजदूत सबै उतै। न गाडी छ, न खाना। खाना पनि आफ्नै पैसाले,’ उनले अगाडि भने, ‘यहाँ चर्चा छ हवाई टिकटको। म देशको मन्त्री, जनताले छानेर आएको, लन्डन जाँदा टिकट कति लाग्छ अब म हेर्दै बसौं त ? त्यो त व्यवस्थापनले गर्ने कुरा हो। अन्तिममा त्यो फोरममा मैले बोल्न पाइनँ। मलाई एकदमै तनाब भयो। अब यस्तो साँढेलाई सिइओ हामीले बनायौं भने संस्था चल्छ?’

उक्त कार्यक्रममा आफूले डेढ घण्टासम्म कुरेर पनि बोल्न नपाएको रक्सीको उन्माद भएको व्यक्तिकै कारण रहेको दाबी गरेका छन्। ‘म त दुःखका साथ भन्छु, लन्डनमा हुँदा कार्यक्रममा डेढ घण्टा म उभिएँ, सबैले स्याम्पेन खाइरहेका छन्। म नखाने मान्छे छेउमा उभिरहेँ। हाम्रो त्यो साँढेले पनि भटाभट लगाइरहेको छ,’ उनले भने, ‘आफ्नै आँखाले देखिरहेको छु, मलाई खा भन्छ। उसले पहिलाको मन्त्रीजस्तो ठान्यो होला प्रेम आलेलाई।’ मन्त्री आलेले डब्लुटिएमको कार्यक्रममा जाँदा बोर्डबाट ८० लाख रूपैयाँ खर्च भएको भन्ने सुनेको भन्दै त्यसको छानबिन गर्नसमेत माग गरे।

त्यस्तै, शुक्रबार नै सम्पन्न नागरिक उड्डयन प्राधिकरण (क्यान)को २३औं वार्षिकोत्सव कार्यक्रममा समेत मन्त्री आलेले सिइओ रेग्मीमाथि पर्यटन प्रवद्र्धनको नाममा बदनाम गरिरहेको आरोप लगाए। मन्त्री आलेले बेलायतकै किस्सा जोड्दै उक्त पर्यटन मेलामा नेपाल चिनाउने कुनै फोटोलगायत प्रचार सामग्रीसमेत नभएको दाबी गरे।

‘स्टल पनि सबैभन्दा सानो, न सगरमाथाको फोटो छ, न केही। एउटा पोस्टर पनि छैन,’ मन्त्री आलेले भने, ‘पर्यटन बोर्डको सिइओले सर्टिफिकेट पनि चोरेर ल्याएको रहेछ। मगरको छोरो नभनुँ पनि भएन। लन्डनमा भोजभतेर हेरेर फर्किएर आएँ।’

क्यानको कार्यक्रममा बोल्दै मन्त्री आलेले पर्यटन बोर्डमा जस्तै कालो अनुहार भएका व्यक्ति क्यानमा समेत रहेको बताउँदै आफ्ना कार्यक्रममा सहभागी नदेखेको बताए। क्यानको प्रभातफेरी र वार्षिकोत्सवमा नेदेखेका ती कर्मचारीलाई आफूले राम्रोसँग नियालिरहेको र तिनीहरूको समेत हिसाबकिताब हुने जनाए।

प्रकाशित: १७ पुस २०७८ ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App