७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सकियो कांग्रेस मतगणनाः देउवा झनै शक्तिशाली

प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा पार्टी पराजित भएसँगै आफ्नै दल नेपाली कांग्रेसभित्र मात्र होइन,बाहिरबाट पनि सभापति शेरबहादुर देउवाको तीव्र आलोचना भयो। आफ्नै नेतृत्वको सरकारले चुनाव गराए पनि बलियो प्रतिपक्षीको भूमिकामा समेत पार्टीलाई पुर्‍याउन नसकेको भन्दै कांग्रेस नेताहरूले पार्टी सभापतिबाटै राजीनामा दिन देउवालाई दबाब दिए।

त्यति मात्र होइन, देउवाको विकल्प खोज्नुपर्ने भन्दै ‘अर्ली महाधिवेशन’को कुरा पनि कांग्रेसमा उठ्यो। पार्टीभित्र र राष्ट्रिय राजनीतिमा एकपछि अर्को गर्दै देउवा कमजोर हुँदै गए। पार्टीका निकायहरूलाई पूर्णता दिन उनी असफल भए। भ्रातृ तथा शुभेच्छुक संगठनहरू लथालिंग हुँदा पनि उनले महाधिवेशन गराउन सकेनन्। र,पार्टी संगठन चलायमान गराउनुको साटो गुटउपगुटहरू हाबी हुन पुगे।

पार्टीभित्र मौलाउँदै गएको गुटबन्दीले २०७४ सालको निर्वाचन मात्र होइन,आगामी निर्वाचनको परिणाम पनि कांग्रेसको पक्षमा आउनेमा धेरैले आशंका गरेका थिए। तर, त्यही बेला तत्कालीन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवादले तिनै देउवा र कांग्रेस फेरि राष्ट्रिय राजनीतिको केन्द्रमा आइपुगे। केन्द्रसहित सातै प्रदेशमा प्रतिपक्षीको भूमिकामा पुगेको कांग्रेस सत्तारूढ दलभित्रको आन्तरिक विवादका कारण एकीकरणको काम पूरा नहुँदै नेकपा पुनः विभाजित हुँदा सत्ताको केन्द्रमा आइपुग्यो।

पार्टीभित्रको विवाद व्यवस्थापन गर्न नसक्दा दुईपटक प्रतिनिधिसभा विघटन गर्ने तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको कदमलाई सर्वोच्च अदालतले रोक लगाएपछि देउवा मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुगे।

जबकि २०७४ सालको निर्वाचनको म्यान्डेटअनुसार एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपाकै रूपमा अघि बढेको भए कांग्रेस अहिले पनि प्रतिपक्षी बेन्चमै हुने थियो। तर,सत्तारूढ दलको विवादले गत असार २९ गते पाँचौंपटक मुलुकको कार्यकारी प्रमुखको जिम्मेवारीमा पुग्ने अवसर देउवालाई मिल्यो। आम निर्वाचनपछि संसदीय फाँटमा एक्लिएको कांग्रेसको वरिपरि एमालेबाहेकका दलहरू गोलबद्ध हुन पुगे। र,चार वर्षअघि राष्ट्रिय राजनीतिमा कमजोर तिनै देउवा फेरि शक्तिशाली बन्दै केन्द्रमा पुगे।

ठीक त्यसैगरी कांग्रेसभित्र पनि देउवा थप शक्तिशाली बन्न पुगेका छन्। चार वर्षदेखि देउवाको विकल्प खोज्नुपर्ने बताउँदै आएका इतर पक्षका नेताहरू आफूबाहेक अर्कोलाई स्वीकार गर्न तयार भएनन्। र,मंसिर २४ गतेदेखि काठमाडौंमा सुरु भएको १४औं महाधिवेशनमा संस्थापन इतर समूहबाट शेखर कोइराला र प्रकाशमान सिंह देउवासँगको प्रतिस्पर्धामा उत्रिए।

पार्टी नेता रामचन्द्र पौडेल प्रतिस्पर्धाबाट मात्र होइन, नेतृत्व चयनको प्रक्रियाबाटै अलग भए। निवर्तमान महामन्त्री शशांक कोइराला सभापतिको कुनै पनि प्रत्यासीको पक्षमा खुलेनन्। त्यसले देउवालाई पार्टीको दोस्रो कार्यकालको यात्रालाई सहज बनायो।

१४औं महाधिवेशनसम्म आइपुग्दा देउवा आफैँविरुद्ध आक्रामक देखिएका नेताहरूको समर्थन जुटाउन सफल भए। ६० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूको समर्थनसहित देउवाले शनिबारबाट कांग्रेस सभापतिका रूपमा दोस्रो कार्यकाल सम्हाल्दैछन्।

२०७२ फागुनमा देउवाले पार्टीको मूल नेतृत्व सम्हालेका थिए। त्यति बेला देउवा इतर समूहका नेताहरूको केन्द्रीय समितिमा बलियो उपस्थिति थियो। तर, १४औं महाधिवेशनबाट देउवालाई दुईतिहाइ बढी केन्द्रीय सदस्यको समर्थन देखिएको छ। उक्त महाधिवेशनअन्तर्गत मंसिर २७ गते भएको निर्वाचनको पछिल्लो परिणामअनुसार देउवा समूहको दुईतिहाइ उपस्थिति देखिएको हो।

निर्वाचनको प्रारम्भिक परिणामले देउवा पक्षको उपस्थिति केन्द्रीय समितिमा कमजोर हुने आकलन गरिएको थियो। उनको समूहबाट उम्मेदवार बनेका एक उपसभापतिका साथै दुवै महामन्त्री पराजित भएका थिए। देउवा इतर समूहबाट उम्मेदवार बनेका धनराज गुरुङले पार्टीका निवर्तमान उपसभापति विजयकुमार गच्छदारलाई पराजित गरेका थिए।

त्यसका साथै पार्टीको महत्वपूर्ण दुई महामन्त्रीमा पनि देउवा इतर समूहबाट उम्मेदवार बनेका गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। देउवा समूहबाट महामन्त्रीको प्रत्यासी बनेका प्रकाशशरण महत र प्रदीप पौडेललाई पछि पार्दै शेखर कोइराला समूहबाट मैदान उत्रिएका थापा भने शर्मा अन्तिम समयमा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग जोडिन पुगेका थिए।

उपसभापति पूर्णबहादुर खड्कासहित देउवानिकट नेताहरूसँग शर्मानिकट छन्। महामन्त्रीका रूपमा कार्यसम्पादनमा देउवालाई कुनै समस्या नपर्ने उनीहरूको बुझाइ छ। आठ सहमहामन्त्रीमा देउवा समूहबाट उम्मेदवार बनेका ६ नेता निर्वाचित भएका छन्। पिछडिएको क्षेत्र र दलितबाहेकका सहमहामन्त्रीमा देउवा समूहकै नेता निर्वाचित भएका हुन्।

महाधिवेशनबाट निर्वाचित हुने १ सय ३४ पदमा देउवा समूहबाट १ सय ९ नेता निर्वाचित भएका छन्। त्यसबाहेक इतरबाट जम्मा २५ नेता मात्र आफ्नो स्थान सुरक्षित गर्न सफल भएका हुन्। यसरी पार्टी सभापतिका रूपमा देउवा झनै शक्तिशाली देखिएका छन्। केन्द्रीय समितिमा रहेको विद्यमान संख्याले देउवालाई दोस्रो कार्यकालमा कार्यसम्पादनमा पहिलाभन्दा थप सहज हुने देखिन्छ।

कसले जिते कांग्रेस निर्वाचन?

बिहीबार सकिएको मतगणनाअनुसार कांग्रेस केन्द्रीय समितिमा शेरबहादुर देउवानिकट नेताहरूको बलियो उपस्थिति रहेको छ। इतर समूहको कमजोर उपस्थितिले देउवालाई पार्टीभित्र थप शक्तिशाली बनाउने देखाएको छ। पार्टी पदाधिकारीमा मिश्रित परिणाम आए पनि केन्द्रीय सदस्यमा भने देउवानिकट नेताहरूको पक्षमा परिणाम देखिएको छ। १० दिन लगाएर सकिएको मतपरिणामअनुसार ७९ नयाँ अनुहार केन्द्रीय समितिमा प्रवेश गरेका छन्।

१३औं महाधिवेशनमा सभापति,महामन्त्री र कोषाध्यक्षसहित ६४ जना मात्र महाधिवेशनबाट निर्वाचित हुने व्यवस्था थियो। तर, अहिले त्यसलाई संशोधन गरेर समावेशी सिद्धान्तका आधार विधान निर्माण गरेको कांग्रेसले पहिलोपटक कोषाध्यक्ष बाहेक सबै पदाधिकारी निर्वाचनबाट छानेको हो। सभापतिले जम्मा ३३ जना केन्द्रीय सदस्य मात्र मनोनीत गर्न पाउने अधिकार छ।

बिहीबार सम्पन्न मतगाणाको अन्तिम परिणामअनुसार दुई उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ निर्वाचित भएका छन्। गुरुङ देउवा इतर समूहबाट प्रतिस्पर्धामा उत्रिएका थिए। त्यस्तै,दुई महामन्त्रीमा देउवा समूहबाहिरबाट गगनकुमार थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन्। थापा शेखर कोइराला र शर्मा प्रकाशमान सिंह समूहसँग जोडिएर प्रतिस्पर्धामा उत्रिएका थिए।

समावेशी आठ सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय, दलिततर्फ जीवन परियार,पिछडिएको क्षेत्रतर्फ बद्री पाण्डे, मुस्लिमतर्फ फरमुल्लाह मन्सुर,आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे, खसआर्यतर्फ किशोरसिंह राठोर,मधेसीतर्फ महेन्द्र यादव र थारूतर्फ उमाकान्त चौधरी निर्वाचित भएका छन्। पाण्डे र परियार बाहेक सबै देउवानिकट हुन्।

केन्द्रीय सदस्यतर्फ आदिवासी जनजाति क्लस्टरअन्तर्गतका आठजनामा देउवा समूहका सात नेताले आफ्नो स्थान सुरक्षित गरेका छन्। जसमा पूर्वमन्त्री चिनकाजी श्रेष्ठ, राज्यमन्त्री उमेश श्रेष्ठका साथै बहादुरसिंह लामा,दिलमान पाख्रिन,टेकबहादुर गुरुङ,आङ्गेलु शेर्पा, तारामान गुरुङ र टेकप्रसाद गुरुङ निर्वाचित भएका छन्।

टेकप्रसाद गुरुङबाहेक सबै देउवा समूहबाट उम्मेदवार बनेका थिए। जनजाति महिलातर्फ सीता गुरुङ,अन्जनी श्रेष्ठ, सरस्वती बजिमय,गंगा लक्ष्मी अवाल, माया राई, सीता राना र सुशीला थिङ निर्वाचित भएका छन्। उनीहरू पनि देउवानिकट हुन्।

त्यस्तै खसआर्य खुलातर्फ सात पदमा केशव बुढाथोकी, गोविन्द शाह, भीम पराजुली, श्याम घिमिरे, नारायणबहादुर कार्की, गेहेन्द्र गिरि र मधु आचार्य निर्वाचित भएका छन्। तीमध्ये आचार्य मात्रै देउवा इतरका हुन्। खसआर्य महिलातर्फका ६ पदमा मन्जु खाँण,नानु बास्तोला, चम्पा खड्का,विद्या तिमल्सिना,कान्तिका सेजुवाल र प्रतिमा गौतम निर्वाचित भएका छन्।

यीमध्ये गौतम मात्र देउवा इतरकी हुन्। दलित पुरुषतर्फ केन्द्रीय सदस्यमा प्रकाश रसाइली स्नेही,नृपबहादुर वड, हरिशरण नेपाली,मैकुलाल वाल्मीकि र मानबहादुर नेपाली निर्वाचित भएका छन्। स्नेहीबाहेक सबै देउवा पक्षका हुन्। महिलातर्फ चार पदमा सुजाता परियार,रूपा विश्वकर्मा, लक्ष्मी परियार र शान्ति परियार विक छन्। उनीहरू चारैजना देउवानिकट हुन्।

त्यस्तै, मधेसी समूहको पुरुष पाँचजनामा देउवा इतर समूहबाट उम्मेदवार बनेका चन्द्रमोहन यादव मात्र निर्वाचित भएका छन्। पूर्वराष्ट्रपति रामवरण यादवका छोरा यादवबाहेक अजय चौरासिया,दिनेशकुमार यादव, महेन्द्रकुमार यादव र विनोदकुमार चौधरी निर्वाचित भएका छन्।

व्यवसायी चौधरी पछिल्लो समय कांग्रेसमार्फत राजनीतिमा सक्रिय छन्। मुस्लिम महिला एकसहित तीन पदका लागि भएको निर्वाचनमा जावेदा खातुन जागा,अब्दुल रञ्जाक र अब्दुल सतार निर्वाचित भएका छन्। उनीहरू तीनैजना देउवा समूहबाट उम्मेदवार बनेका हुन्।

वाग्मती र प्रदेश १ मा देउवा र इतर समूहबाट एकएकजना निर्वाचित भएका छन्। वाग्मतीबाट ध्यानगोविन्द रञ्जित र राजेन्द्र केसी निर्वाचित भएका छन्। रञ्जित देउवा र केसी नेता प्रकाशमान सिंहनिकटका हुन्। प्रदेश १ बाट अमृत अर्याल र राजीव कोइराला निर्वाचित भएका छन्। अर्याल देउवा र कोइराला इतर पक्षबाट उम्मेदवार बनेका थिए। प्रदेश १ र वाग्मती प्रदेशबाट महिलातर्फ महिन्द्राकुमारी लिम्बू र उर्मिला नेपाल केसी निर्वाचित भएकी छन्। दुवै देउवा समूहबाट उम्मेदवार थिए।

कर्णाली प्रदेशबाट देउवा पक्षका दुई नेता निर्वाचित भएका छन्। निर्वातमान केन्द्रीय सदस्य हृदयराम थानीलाई पछि पार्दै कर्णबहादुर बुढा र राजीवविक्रम शाह निर्वाचित भएका छन्। महिलातर्फ जानकी सिंह निर्वाचित भएकी छन्। लुम्बिनीबाट चन्द्रबहादुर केसी, देवेन्द्रराज कँडेल र शिला खड्का निर्वाचित भएका छन्। गण्डकीबाट कृष्णचन्द्र नेपाली, धुब्र वाग्ले र सरस्वती अर्याल, सुदूरपश्चिमबाट यज्ञराज जोशी,रणबहादुर रावल र सुशीला मिश्र भट्ट निर्वाचित भएका छन्। नेपालीबाहेक सबै देउवा पक्षीय हुन्।

खुला ३५ मध्ये २५ केन्द्रीय सदस्य देउवा समूहबाट निर्वाचित हुन्। जसमा एनपी साउद,बालकृष्ण खाँण, उदयशमशेर राणा, रामहरि खतिवडा, ज्ञानेन्द्रबहादुर कार्की, रमेश लेखक, शंखर भण्डारी, जिपछिरिङ लामा, जितजंग बस्नेत, गोपालमान श्रेष्ठ, मोहनबहादुर बस्नेत, सुनीलबहादुर थापा, नैनसिंह महर, गोविन्द भट्टराई, कुन्दनराज काफ्ले,सुरेन्द्रराज पाण्डे, पद्मनारायण चौधरी, राजीव ढुंगाना, गुरु बराल, मदनबहादुर अमात्य, गणेश लामा, उमेशजंग रायमाझी, मोहन आचार्य, गोपाल दहित र कृष्णकिशोर घिमिरे निर्वाचित भएका छन्। त्यसबाहेक शशांक कोइराला, अर्जुननरसिंह केसी, दिलेन्द्रप्रसाद बडु, रामशरण महत, बलबहादुर केसी, दीपक गिरी, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, अजयबाबु शिवाकोटी र दिनेश कोइराला निर्वाचित भएका हुन्। यद्यपि, शशांकको नाम देउवा समूहमा पनि थियो।

महिला खुलातर्फ डिला संग्रौला, पुष्पा भुसाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने, सरिता प्रसाईं, रमा कोइराला पौडेल, सुशीला ढकाल आचार्य र रंगमती शाही निर्वाचित भएका छन्। प्रसाईंबाहेक देउवा समुहबाट उम्मेदवार थिए।

चार पदका लागि भएको मधेसी महिलामा सबै देउवानिकट नेत्री निर्वाचित भएका छन्। इतर समूहबाट प्रतिस्पर्धामा उत्रिएकी निवर्तमान केन्द्रीय सदस्य किरण यादव पराजित भएकी छन्। उनलाई पछि पार्दै मधेसी महिला समूहबाट नागिना यादव, मुक्ताकुमारी यादव, मीनाक्षी झा, मन्जुकुमारी यादव निर्वाचित भएका छन्। अपांगतातर्फ मदनकृष्ण श्रेष्ठ, अल्पसंख्यकतर्फ प्रदीपकुमार सुनार, प्रदेश २ बाट एक महिलासहित तीन पदमा चित्रलेखा यादव, रमेश रिजाल, आनन्दप्रसाद ढुंगाना निर्वाचित भएका छन्। रिजाल र ढुंगाना निर्विरोध निर्वाचित भएका हुन् ।

कोको होलान् ३३ केन्द्रीय सदस्यमा मनोनीत

नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत बिहीबार १ सय ३४ पदको मतगणना सकिएको छ। निर्वाचन समितिले नवनिर्वाचित सभापतिसहितका पदाधिकारीलाई शुक्रबार प्रमाणपत्र वितरण गर्ने तयारी गरेको छ। कांग्रेस केन्द्रीय समितिमा सभापतिले ३३ जना केन्द्रीय सदस्य मनोनीत गर्न पाउनेछन्। महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यमध्येबाट एकजनालाई पार्टी कोषाध्यक्षमा मनोनीत गर्न सभापतिले केन्द्रीय समितिमा प्रस्ताव पेस गर्न सक्ने व्यवस्था छ।

पार्टी विधानको नयाँ व्यवस्थाअनुसार पूर्ण समानुपातिक विधान बनाउँदै एक सहमहामन्त्रीसहित ४१ महिलालाई केन्द्रीय समितिमा लगेको कांग्रेसले ३३ जना मनोनयनमा पनि समावेशी सिद्धान्त नै अवलम्बन गर्नुपर्ने हुन्छ। तर, पार्टीका प्रभावशाली नेताहरू नै केन्द्रीय समिति बाहिर हुँदा सभापति देउवाका लागि उनीहरूलाई केन्द्रीय समितिमा समेट्नुपर्ने बाध्यात्मक अवस्था छ।

१४औं महाधिवेशनमा कुनै पनि पदको प्रतिस्पर्धा नगरेका नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलाका साथै सभापतिका प्रत्यासीहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, कल्याण गुरुङ छन्। सभापतिको निकटतम प्रतिस्पर्धी शेखर कोइरालालाई भने स्वतः सदस्य हुने व्यवस्था विधानमा छ। उपसभापतिमा आफ्नै समूहबाट पराजित विजयकुमार गच्छदार मात्र होइनन्, महेश आचार्य, सुजाता कोइराला, महामन्त्रीमा पराजित प्रकाशशरण महत, मीनेन्द्र रिजाल र प्रदीप पौडेललाई मनोनीत गर्नैपर्ने दबाब देउवामाथि पर्न सक्छ। उनकै समूहबाट सहमहामन्त्री पराजित जीवनबहादुर शाही र मानबहादुर विक पनि देउवाको रोजाइमा पर्न सक्छन्।

त्यस्तै, दलित सहमहामन्त्रीको उम्मेदवारी फिर्ता गराइएका मीन विक पनि केन्द्रीय समितिमा पर्नेछन्। शनिबार अध्यक्षको पदभार ग्रहणअघि नै देउवाले केही नेतालाई पार्टी केन्द्रीय सदस्यमा मनोनीत गर्न सक्ने सम्भावना रहेको निकट स्रोतको दाबी छ।

‘अरूको भावना र मर्मलाई बिर्सनु हुन्न’

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिलाई बधाई दिँदै शुभकामना व्यक्त गरेका छन्। उनले कांग्रेस निर्वाचनको अन्तिम मतपरिणाम आएकै दिन बिहीबार एक विज्ञप्ति जारी गर्दै विजय हुनेहरूले अरूको भावना र मर्मलाई बिर्सन नहुनेमा जोड पनि दिएका छन्। उपविजेता हुनेहरूले पनि भविष्यको चुनौतीका निमित्त साँचेको ठानेर आफूलाई क्रियाशील बनाइराख्नुपर्ने आवश्यकता उनले औंल्याएका छन् ।

‘व्यक्तित्वको पहिचान सुखमा हैन दुःखमा र पराजयका बखत हुने गर्दछ,’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘यसलाई पार्टीभित्रको आन्तरिक प्रक्रिया ठानेर जयपराजय जे भए पनि आफ्नो स्थान अविचल बनाइराख्नुहोला। साथीसाथीबीचको हार्दिकतामा कमी आउन नदिनुहोला।’

पार्टीका सबैजना खासगरी कार्यसमितिमा निर्वाचित भएकाहरूले सबैलाई समेटेर पार्टीलाई थप एकताबद्ध र सुदृढ बनाएर लैजाने जिम्मेवारी रहेको नेता पौडेलले बताएका छन्। ‘साथै आगामी निर्वाचनहरूमा पार्टीका नीति र विचारहरूलाई जनतासमक्ष पुर्‍याउने र निर्वाचनमा जनताको मन जित्ने चुनौती पनि उत्तिकै छ,’ उनले भनेका छन्, ‘यसलाई ध्यान दिएर हामीले आपसी सद्भाव र एकतालाई मजबुत बनाउनु आवश्यक छ।’

प्रकाशित: ९ पुस २०७८ ०१:३५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App