१० श्रावण २०८१ बिहीबार
image/svg+xml
राजनीति

यस्तो छ वरिष्ठ नेता पौडेलले देखेको ‘कांग्रेसको अबको बाटो’

रामचन्द्र पौडेल, वरिष्ठ नेता/अहिले नेपाली कांग्रेस १४ औं महाधिवेशनको प्रक्रियामा जुटेको छ। सैद्धान्तिक रुपमा महाधिवेशनको अर्थ नबुझ्ने त कोही नहोला तर यक्ष प्रश्न हामीले महाधिवेशनमार्फत् पार्टीले अवलम्बन गरेका सिद्धान्त, त्यस सिद्धान्तअनुरुप नीति तथा नेतृत्व र नीतिअनुरुपका कार्यक्रम निर्माण र कार्यान्वयन गर्ने सुनिश्चितता दिन सक्यौं की सकेनौ भन्ने हो। कानूनी औपचारिकताको निमित्त गरिने महाधिवेशनले पार्टीको ऐतिहासिक जिम्मेवारी पूरा गर्ने प्रणालीको विकास गर्न सक्तैन। त्यसैले महाधिवेशनको सन्दर्भमा लोकतन्त्रप्रति आस्थावान नेपाली कांग्रेसका कार्यकर्ताहरुले नेपाली कांग्रेसको सिद्धान्त के हो, यी सिद्धान्तहरुलाई लागू गर्न कस्तो नेतृत्व चाहिन्छ, विगतका नेतृत्वमा के कस्ता कमजोरी र सबल पक्षहरु रहे भन्नेमा विवेचना गर्नु आवश्यक छ। नेपाली कांग्रेसको अहिलेको अवस्था कस्तो छ र यो अवस्थाको निमित्त को कति जिम्मेवार छ भन्नेजस्ता सैद्धान्तिक र व्यवहारिक पक्षमा पनि गहन विचार गर्नु पर्छ।

के छ नेपाली कांग्रेसको अवस्था

नेपालमा लोकतन्त्रको स्थापना र रक्षाको निमित्त नेपाली कांग्रेसले सधै अग्रमोर्चामा रहेर काम गरेको छ। नेपाली कांग्रेस नेपालमा लोकतान्त्रिक पद्दतिको मापदण्ड बनेको छ। नेपाली कांग्रेसका क्रियाकलाप र गतिविधिहरु अन्य पार्टीहरुको निमित्त उदाहरण र नजिर बन्ने गरेका छन्। तर, कांग्रेसको आफ्नै अवस्था भने लोकतन्त्रको आदर्श अनुरुप हुन नसकेको देखिएको छ। निरङ्कुश जहानियाँ शासनविरुद्ध २००७ सालमा क्रान्ति गर्ने पार्टी, तानाशाही पञ्चायतविरुद्ध निरन्तर ३० वर्ष लडेको पार्टी, लोकतन्त्रको पुनस्र्थापनाको निमित्त २०४६ र २०६२/६३ को जनआन्दोलको नेतृत्व गरेको पार्टी, नेपालको नयाँ संविधान जारी गर्न अगुवाई गर्ने कांग्रेस पार्टी, अहिले यसमा आन्तरिक लोकतन्त्रको अभाव खड्किदै छ। संसदीय निर्वाचनमा कम्यूनिष्टहरुसँग हार व्यहोर्नु परेको छ। अहिले विशेष परिस्थितिमा सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएता पनि नेपाली कांग्रेसका आदर्श, मूल्य र मान्यता अनुरुप हामीले सरकारमा उपस्थिति जनाउन सकेका छैनौं। कम्युनिष्टहरुको फूटलाई नै अवसरको रुपमा हेर्नु पर्ने अवस्था कांग्रेसको निमित्त गर्वको कुरा कदापि होइन।

लोकतन्त्रप्रति प्रतिबद्ध भएका कारण कांग्रेस पार्टी विधि र विधानअनुरुप चलोस् र अन्य पार्टीहरुलाई पनि मार्ग निर्देशन गरोस् भन्ने जनअपेक्षा छ। तर, वर्तमान पार्टी नेतृत्वले पटकपटक विधान मिचेर, यसका व्यवस्थाहरुको ठाडो उल्लंघन गरेर त्यो जनअपेक्षामाथि कुठाराघात गरेको छ। महाधिवेशनभन्दा एक वर्षअघि वितरण गरिसक्नु पर्ने क्रियाशील सदस्यता महाधिवेशन ढोकैमा आईसक्दा पनि विवादित छ। भातृसंस्था भताभुङ्ग छन्, विभाग र प्रतिष्ठानमा मनपरितन्त्र छ। महाधिवेशन सम्पन्न भएको ६ महिनामा पूर्णता दिनुपर्ने विभागहरुलाई विधान नाघेर गठन गरिएको छ। स्वयं सभापतिजीको जिल्लाका पार्टी सभापतिसहित सिंगो जिल्ला समितिबाहिर राखेर वडा अधिवेशनको नाटक मञ्चन भएको छ। पार्टी प्रवेशका नाममा अन्धाधुन्ध आफ्ना नातागोता भरेर निष्ठावान कार्यकर्ताहरुलाई पाखा लगाइएको छ  नीतिनियम र विधानविपरित हजारौ चिठी काटिएका छन्।  

राजनीतिप्रति वितृष्णालाई कसरी हटाउने ?

देशको राजनीति विषम मोडमा छ। विगत तीन चौथाई शताब्दीदेखि लोकतन्त्रको निमित्त गरिएका संघर्षले आशातित परिणाम दिन सकेका छैनन्  आम मानिसमा राजनीतिप्रति वितृष्णा पैदा भएको स्थिति छ । युवाहरु राजनीतिबाट क्रमशः पलायन हुँदै गएको पाईन्छ। आमनागरिकमा राजनीति, राजनीतिक दल र नेतृत्व वर्गप्रति सद्भाव र सम्मानको भाव घट्दै गएको छ। राजनीतिप्रतिको यो वितृष्णा पैदा हुनुको कारणमा नेतृत्व सम्हालेका व्यक्तिको आचरण, व्यवहार र चरित्र जिम्मेवार छन्।  

विगत ७५ वर्षदेखि आम नागरिक लोकतन्त्रको स्थापनार्थ र रक्षार्थ लगातार सडकमा उत्रनु परिराखेको छ। तर, लोकतन्त्र केही सीमित स्वार्थी तत्वहरुको हतियार भएको छ। लोकतन्त्रलाई चुनावमा सीमित गर्न खोजिएको छ र त्यही चुनाव पनि ईमान्दारीपूर्वक हुन सकेको छैन। पार्टीको होस् वा राजनीतिको होस्, पैसाको खोलो बगाएर चुनाव जित्ने प्रवृत्तिबाट जनता दिक्क छन्।  

आवधिक निर्वाचनले मात्र लोकतन्त्रको ग्यारेन्टी गर्दैन, यो त एउटा संस्कार हो। व्यक्ति व्यक्तिमा लोकतान्त्रिक आचरण, हरेक संस्थाहरुमा लोकतान्त्रिक व्यवहार र हरेक पार्टीमा लोकतान्त्रिक संस्कारले मात्र लोकतन्त्र मौलाउँछ। लोकतन्त्रको जग मजबुत हुन्छ। आवधिक निर्वाचनका साथ साथै संस्थाहरु पारदर्शी, जिम्मेवार र जवाफदेही भएमात्र लोकतन्त्र मजबुत हुनसक्छ। यसका लागि पार्टीभित्र आन्तरिक लोकतन्त्र पनि उत्तिकै महत्वपूर्ण हुन्छ। अन्ततः देशमा लोकतन्त्रको विकास गर्ने जिम्मेवारी पार्टीहरुको हो। त्यसैले पार्टीभित्रको आन्तरिक लोकतन्त्रविना देशमा लोकतन्त्रको संस्थागत विकास हुन सम्भव छैन।

आफैंले निर्धारण गरेको संगठनको ढाँचाअनुसार, आफैंले बनाएको विधानअनुसार पार्टी चल्न सक्ने कि नसक्ने ? आज बुद्धिजीवीहरुले प्रश्न उठाइरहेका छन्। पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रश्न बारबार कांग्रेसमाथि उठिरहेको छ।

नेता बलिया, पार्टी कमजोर। अर्थात् कमजोर पार्टीको बलियो नेता लोकतन्त्रका लागि हितकर मानिँदैन  कुनै पनि लोकतान्त्रिक दलमा नेता होइन नीति अपरिहार्य हुनु पर्दछ। विधि, पद्दति र नियम अपरिहार्य हुनु पर्दछ। यसो भएमात्रै पार्टीमा आन्तरिक लोकतन्त्र सुनिश्चित हुन्छ। नेताको अनुकूलमा विधि–पद्दति चल्ने हैन, विधि–पद्दति अनुकूल नेता चल्नु पर्दछ। चाहे पार्टी सञ्चालन होस् या राज्य, व्यक्ति होइन, विचार र विधिप्रधान हुनुपर्छ।

हामी लोकतन्त्रको संस्थागत विकास गर्नेक्रममा छौं। यस्ता कुरातर्फ गम्भीर नहुने हो र आफ्ना सुविधा अनुकूल विधि–पद्दति सञ्चालन गर्ने हो भने यहाँ लोकतान्त्रिक व्यवस्थाको निर्माण हुनै सक्तैन। अहिले नेपालमा जवाफदेहिताको अभाव खड्कीँदै गएको छ। जनताप्रति उत्तरदायीत्वको भावनाको परित्याग भइरहेको छ। जनताले दिएको जिम्मेवारी भुलेर जनप्रतिनिधिले सदनको उपेक्षा गर्ने, संविधानले नदिएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा नै विघटन गरिदिने र समस्याको समाधान खोज्न राजनीतिक मञ्चभन्दा बाहिर अदालतको शरणमा पुग्नुपर्ने जस्ता अवस्थाहरुको सिर्जना भइरहेका छन्। यसरी राजनीतिक क्षेत्र पङ्गु बन्दै जान थालेपछि, राजनीतिक संस्थाहरुमा भर पर्न नसकिने भएपछि समाधानको खोजीमा कहाँ कहाँ पुग्नुपर्ने हो, अराजकता बढ्दै जाँदा राजनीति कसको हातमा पुग्ने हो ? गम्भीर प्रश्न उठिरहेका छन्।

आज कांग्रेसलाई आफ्ना नेताहरुका आचरण र व्यवहारमाथि निगरानी राखेर प्रश्न उठाउन सक्ने सक्षम र निडर कार्यकर्ताको आवश्यकता छ। नेताको भक्तिमा लिप्त नभइकन, मुलाहिजामा नलागिकन निर्णय दिने र प्रश्न उठाउने आँट कार्यकर्तामा हुनु पर्दछ। महाधिवेशनले कसलाई कुन पदमा चयन गर्छ भन्ने मात्र प्रश्न होइन, यो भन्दा अहं प्रश्न यसले कुन दिशामा पार्टीलाई लैजान्छ भन्ने हो। कुन विचार र पद्दति स्थापित गर्छ भन्ने मुख्य चासो हो।

नेपालमा लोकतन्त्र सुरक्षित र दीगो बनाउन नेपाली समाजमा लोकतन्त्रको जरा गहिरो गरी गाड्ने अभियानस्वरुप नेपाली समाजलाई लोकतान्त्रीकरण र लोकतान्त्रिक व्यवहार र आचरणमा अभ्यस्त गराउने अभियान नै चलाउनु अपिहार्य छ। यो अभियान अरु कसैले चलाउन सक्तैन, लोकतन्त्रकै लागि जन्मेको र लोकतन्त्रको पहरेदार रहदै आएको नेपाली कांग्रेसले नै चलाउनु पर्नेछ।

नेपाली समाजमा लोकतान्त्रीकरणको अभियान चलाउने अभिभारा बोक्नुपर्ने पार्टी नेपाली कांग्रेस पहिले आफैं आचरण, व्यवहार र अठोटबाट लोकतान्त्रिक हुनु जरुरी छ। अर्थात्, कांग्रेस पार्टीभित्रै आन्तरिक लोकतन्त्र र लोकतान्त्रिकरणको आवश्यकता छ। र, यसका लागि लोकतान्त्रिक र वैचारिक नेतृत्व आवश्यक छ। विचारले नै कुनै पार्टी र समाजलाई अगाडि जाने बाटो देखाउँछ। लोकतान्त्रिक विचार र आचरण नभएको नेतृत्वले न पार्टीलाई रुपान्तरण गर्न सक्छ न देशलाई नै।

लोकतन्त्रका निमित्त थकानरहित लडाई

प्रथम राष्ट्रपति निर्वाचन प्रसङ्गमा मेरो नाम अघि सारिँदा मैले गिरिजाबाबुसँग भनें, ‘देशमा लोकतन्त्र अझै सुरक्षित हुन सकेको छैन। लोकतन्त्रको लडाई बाँकी नै देख्छु। त्यसैले म त्यो लडाई मैदानमै रहेर लड्न चाहन्छु।’ नभन्दै त्यो बेलाको मेरो अन्दाज आज सही सावित भयो। लोकतन्त्रकै लागि हामीले अहिले पनि लड्नु परेको छ। जसरी राजाद्धारा लोकतन्त्रको अपहरण हुँदा मात्र हैन कम्यूनिष्टवाट हामी माथि हिंसा गरिदा पनि हामी लडेका छौं। राजाको तानाशाही विरुद्ध चौध चौध वर्ष जेल यातना र अनेक प्रताडना वेहेरेको मैले लोकतन्त्र पुर्नवहाली पछि पनि केपी ओलीबाट नयाँ संविधान माथि आक्रमण गरियो त्यहाँ पनि मैलेनै लड्नु प¥यो।  त्यो लडाई मैले तनहुँको बुल्दीपूल उद्घाटन काण्डदेखि लडिरहेको छु। अधिनायकवादी सोचले अघि बढेको सरकारविरुद्ध बुल्दी पुलबाट सुरु भएको लडाईं कानुनी मैदानमा पुगेर सकिएको छ। तर, यस्ता लडाई फेरि पनि लड्नु नपर्ला भन्नसक्ने अवस्था देखिदैन।

अमेरिकी लोकतन्त्रको दुई सय वर्षको ईतिहासमा कहिल्यै नभएका कुराहरु लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले देखाए। सत्ता पाएपछि मरिगए पनि छोड्नै नचाहने जुन प्रवृत्ति उनले देखाए, त्यो प्रवृत्ति अहिले नेपालमा पनि देखिइराखेको छ। आफ्नै पार्टीको बहुमत भएको संसद दुई दुई पटक भंग गरेर केपी ओलीले जुन अधिनायकवादी चरित्र देखाए, त्यसविरुद्ध यहाँसम्म लड्नुप¥यो। संसद् जोगिएर एउटा खड्को टरे पनि लोकतन्त्रमाथिको संकट अझै टरेको छैन। महत्वाकांक्षीहरुबाट लोकतन्त्र जोगाउन मैले आफ्नै पार्टीभित्र पनि अथक संघर्ष गर्नु परिरहेको छ। जति भोग गरे पनि तृप्त नहुने नेतृत्वको पदलिप्सा, सामदाम–दण्डभेद नीति अपनाएर आफ्नो सत्ता अकण्टक राख्ने प्रवृत्ति र नीतिभन्दा पनि नेतालाई महत्व दिने कार्यकर्ताको बानी व्यवहार लोकतन्त्रका लागि समस्या बनेका छन्।

राम्रो काम गरेर ख्याति कमाउन नसक्ने, तिक्डमको भरमा सधै सत्तामा हावी भैरहनुपर्ने प्रवृत्ति घोर अलोकतान्त्रिक चरित्र हो। तेश्रो विश्वका मुलुकहरु यस्तै म्याकियावेलियन प्रवृत्तिबाट आक्रान्त छन्। मैले चाहेको प्रवृत्ति परिवर्तन भनेको यो प्रवृत्तिलाई परास्त गर्नु हो। मेरो लडाई यही प्रवृत्तिविरुद्ध छ।

संविधानसभाबाट निर्माण गरिएको संविधान र बहुलवादमा आधारित संसदीय लोकतन्त्र र संघीय गणतन्त्रलाई अनेकतिरबाट प्रहार गर्ने प्रयत्न भइरहेका छन्। फेरि पनि लोकतन्त्र रक्षाका खातिर संघर्षको विकल्प छैन। उमेरले अनुमति दिन्न कि भनेर विश्राम लिने अवसर मिलेकै छैन। आफ्नै करङ्ग भाँच्चिने गरी प्रतिगमन विरुद्ध होमिनुपर्ने कर्तव्यको बाध्यता कायमै छ। 

महाधिवेशनको जिम्मेवारी

विषम परिस्थितिबीच हुन लागेको नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा देश र जनताको उज्ज्वल भविष्य निर्माण गर्ने महाधिवेशन बन्नु पर्छ। यो महाधिवेशन पार्टीको आन्तरिक लोकतन्त्र मात्र नभएर समग्र राष्ट्रमा लोकतान्त्रिक संस्कृति निर्माण गर्ने अवसर र थलो हुनु आवश्यक छ। माथिका विषयहरु निश्चय पनि महाधिवेशन अन्तर्गतका प्रक्रियामा सहभागी भइरहेका पार्टीका कार्यकर्ताका लागि सोचनीय विषय हुन्। त्यतिमात्र होइन, गुटहरुमा विभाजित कार्यकर्ताले नेताको मात्रै माया गर्ने कि पार्टीको माया गर्ने ? पार्टीको मात्रै माया गर्ने कि लोकतन्त्रको माया गर्ने, देशको माया गर्ने ? यी प्रश्न पनि गम्भीर छन्।

कोरोना महामारी नसकिँदै हामी १४ औं महाधिवेशन गर्न बाध्य छौं। यो नेतृत्वले थोपरेको बाध्यता हो। मैले गत २०७५ मंसिरको महासमितिमै कांग्रेसको सुनौलो भविष्यका लागि महाधिवेशन मात्र होइन पार्टीलाई जीवन्त गराउने क्यालेण्डर बनाऔं र त्यसभित्र रहेर सबै काम सम्पन्न गरौं भनेको थिएँ। त्यो कुरालाई नमानेर महाधिवेशनलाई धकेल्दै धकेल्दै ल्याएर यस्तो असहज अवस्थामा पु¥याइएको छ।कुनै देशको भविष्य त्यो देशको राजनीतिक सिद्धान्त, प्रणाली र आचरणले निर्धारण गर्दछ। हामी लोकतान्त्रिक समाजवादी सिद्धान्तमा विश्वास राख्ने मानिस हौं। सरकारमात्र होइन हाम्रो पार्टी पनि यही सिद्धान्तबाट निर्देशित हुनु पर्दछ। हाम्रा नीतिमा मात्र लोकतान्त्रिक समाजवाद लेखेर लोकतान्त्रिक र समाजवादी हुँदैन हाम्रा नीति निर्माण प्रक्रिया, हाम्रा आचरण र व्यवहार पनि लोकतान्त्रिक र समाजवादी आदर्श अनुरुप हुनु पर्दछ। तर हाम्रो पार्टीमा लोकतान्त्रिक पद्दतीको क्षयीकरण भैराखेको महशुस हुन्छ। पार्टीको विधान अनुरुप पार्टी नचल्ने,  राम्रालाई भन्दा हाम्रालाई मौका दिने जस्ता कुराले पार्टीको साख गिराएको छ।

लोकतन्त्रको जीवनाधार र गतिशीलताको आधार जनचाहाना र जनमतको अभिव्यक्तिको आधार आवधिक निर्वाचन हो। यसमा कुनै हेलचक्राई हुनु हुँदैन। ‘कम्युनिष्ट फुटे हाम्रो फलिफाप हुनेछ’ भन्ने सोचाई नादान हो। कांग्रेस आफ्नै दुरदर्शी दृष्टिकोण, खदिलो विचार शक्ति, संगठन कौशल र निष्ठाको बलमा राष्ट्र र जनताको सेवा गरेर सम्पूर्ण नेपालीलाई आर्कषित गर्ने पार्टी बन्नु पर्छ। कठोर परिश्रम तथा नैतिक र चारीत्रिक शक्तिको बलमा बहुसंख्यक मतदाताले सहजै पत्याइएको पार्टी बन्नु पर्छ। आफ्ना आदर्श र सिद्धान्त पूरा गर्न कांग्रेसलाई सुदृढ र एकताबद्ध पार्टी पङ्ति आवश्यक पर्छ। भाग्यमा भरपर्ने हैन कर्ममा विश्वास गर्ने कर्मशील कांग्रेस मेरो विश्वास हो। मेहनतको फल सारगर्भित हुन्छ, सर्वजन हिताय हुन्छ। लोकतन्त्र बचाउन, राष्ट्र जोगाउन र राष्ट्रको सर्वतोमुखी उन्नति गर्न कर्मशील कांग्रेस चाहिन्छ। कांग्रेसको लोकतान्त्रीकरण हुनु पर्छ। जनताको भरोसाको केन्द्र बन्ने गरी पार्टी सुदृढीकरण हुनुपर्छ। पार्टी सुदृढीकरणको निमित्त निम्न कार्य गरिनु पर्दछ:

पार्टी सुदृढीकरणका लागि के गर्ने ?

अधिवेशनको मुखमा लगेर क्रियाशील सदस्यता वितरण गर्ने परिपार्टी अन्त गरी सुरुदेखि नै क्रियाशील नवीकरण र वितरण कायम राखेर कार्यकाल पूरा हुने एक वर्ष अगावै वितरण बन्द गर्ने।  

भातृसंस्था र पार्टी निकायका अधिवेशन तोकिएकै समयमा गराउने । तोकिएकै समय भित्र विभाग, प्रतिष्ठान गठन गर्ने र सवै निकाय दुरुस्त राख्ने।  

संगठनका सदस्यहरूलाई सैद्धान्तिक, व्यवहारिक र नीतिगत तालिममा निरन्तरता प्रदान गर्ने तालिमको लागि पूर्ण व्यावसायिक टिमको निर्माण गर्ने।  

कार्यकर्ताको ज्ञान वृद्धिका लागि विभिन्न क्षेत्रमा अवलोकन भ्रमण गराउने। प्राविधिक ज्ञान तथा अनुभवबाट गर्न सक्ने व्यवसायका लागि आर्थिक तथा कानुनी प्रबन्ध मिलाउने।

न्याय, निष्पक्षता, पारदर्शी मूल्याङ्कनको परिपाटी अबलम्बन गर्ने । यो नै पार्टी एकताका मूल आधार हो।

विधि–पद्दति र अनुशासनमा तलदेखि माथिसम्म, माथिदेखि तलसम्म सबै बाँधियौं भने पार्टी एकता मजबूत हुन्छ।

पुराना निष्ठावान कार्यकर्ताको हितमा आँच नपुग्ने गरी नवप्रवेशीहरूको स्वागत गरिनु पर्दछ। पार्टीमा सबैलाई सहभागिता र सहस्वामित्वको अनुभूति दिलाउने व्यवहार र आचारण गरिनु पर्दछ।

राजनीतिलाई स्वच्छ र स्वस्थ पार्न पार्टी भित्र र बाहिर बैचारिक बहस चलाउने।

देश र जनताका लागि के गर्ने ?

‘लोकतन्त्र बचाऊँ, भ्रष्टाचार भगाऊँ’ अभियान चलाउने।

जहाँ रोजगारी त्यही बसोवास, जहाँ बसोवास त्यही रोजगारीको नीति कार्यान्वयन गर्ने।

हिमाल, पहाड, तराईमा स्वस्थ्य र सुरक्षित बस्ती निर्माण गर्ने।

लोकतन्त्र साकार पार्न निमुखालाई न्याय विपन्नलाई आय कार्य रुपमा ल्याउने।

सबै नागरिक सीपवान र शिलवान बनाउने शिक्षा नीति।

सबैलाई स्वस्थ जीवन र दीर्घजीवन दिने स्वास्थ्य नीति।

यी कुरा सबैका लागि सहज र सरल तुल्याउन कांग्रेसको उपस्थिति।

नेपालको वास्तविकतामा आधारित प्रकृतिमैत्री विकास नीति।

नेपालको परम्परागत धर्म र संस्कृति नेपालीको पहिचान जोगाउने साँस्कृतिक नवोन्नति

नेपालीको सुखी जीवन, खुशी जीवन स्वच्छ सफा पर्यावरण।

अति दलबन्दीबाट देशलाई मुक्त गर्ने। आम अदना जनताको अधिकार अकुन्ठित बनाउने।

कांग्रेस १४ औं महाधिवेशनको क्रममा नेता पौडेलले सार्वजनिक गरेको अवधारणापत्रको अंश

प्रकाशित: १२ मंसिर २०७८ ११:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App