२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

एमाले महाधिवेशनः सहमतिमा नेतृत्व चयन गर्न कसरत

भीम रावलको अडान कायमै,भुसाल उपाध्यक्षको उम्मेदवार

चितवनको भरतपुरमा शुक्रबार आयोजित एमालेको १० औं राष्ट्रिय महाधिवेशन उद्घाटन सत्रमा सहभागी नेता–कार्यकर्ता तथा शुभेच्छुक। तस्बिरः नरहरि/नागरिक

नेकपा एमालेको दसौं महाधिवेशन उद्घाटन समापन भएपछि सहमतिमा नेतृत्व चयनका लागि अन्तिम कसरत सुरु भएको छ। शुक्रबार राति  १२ बजेपछिकाे केन्द्रीय कमिटीको बैठकले विधान संशोधन गरी पधाधिकारी र केन्द्रीय सदस्यको संख्या बढाउन प्रस्ताव गरेपछि सहमतिको प्रयास सुरु भएको हो। 

राति १२ बजे एमाले सचिव योगेश भट्टराई दिएको जानकारी अनुसार पदाधिकारीमा १९ स्थायी कमिटीमा ४५ पोलिटव्यूरो सदस्य ९९ केन्द्रीय कमिटी ३०१ बनाउन महाधिवेसनको बन्द सत्रको हलमा पेश गरिने बताए। जसअनुसार अध्यक्ष १ वरिष्ट उपाध्यक्ष  ६ महासचिव १ उप महासचिव ३ सचिव ७ गरी १९ पदाधिकारी र ३०१ केन्द्रीय सदस्य सर्वसम्मतबाट चयन गर्ने प्रयास थालिएको हो। अबेरसम्म सहमतिको प्रयास छ। पधाधिकारीमा को कहाँ रहने टुंगो लागेको छैन। 

पदाधिकारीमा आकांक्षी धेरै भएपछि सहमति बन्न नसकेको नेताहरूले बताएका छन्। अध्यक्षमा दाबी गरिरहेका भीम रावलले नछाड्ने अडान लिएपछि शनिबार बिहान पनि छलफल गर्ने तयारी छ। ‘राति निकैबेर छलफल भयो। केही प्राविधिक विषय बाँकी नै छन्। अध्यक्षकै उम्मेदवार हुँ। यसमा शंका छैन’, रावलले भने। हाल उपमहासचिव रहेका घनश्याम भुसालले उद्घाटन सत्र सकिएपछि शुक्रबार साँझ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।

उद्घाटन सत्रअगाडि ओलीले धेरैजसो नेतालाई राखेर सहमतिको प्रयास गरेका थिए। साँझ पनि एकचरण छलफल भएको थियो तर नेताहरूले आफ्नो अडान कायमै राखेका कारण सहमति बन्न सकेको छैन।

अध्यक्षमा सहमति जुटे पनि वरिष्ठ उपाध्यक्षदेखि अन्य पदाधिकारीमा पनि उत्तिकै समस्या रहेको छ। ‘पहिलो कुरा त ओलीलाई नै चुनौती देखियो। ओलीले अध्यक्षमा चुनाव जित्ने एक सय प्रतिशत सत्य हुँदा पनि रावलले छाड्न नसक्दा अन्य पदाधिकारीलाई पनि मनोनयन दर्ता गर्ने बाटो खुल्नेछ’, राति अबेरसम्म छलफलमा सहभागी एक नेताले भने।

उनका अनुसार रावलले आफ्नो उचित व्यवस्थापन भए अध्यक्षमा छोड्ने संकेत देखाएका छन् तर त्यसबारे केही सोचिएको छैन। ‘रावललाई उम्मेदवारी दर्ता नगर्न ठूलै दबाब छ तर उनको कहाँ कसरी व्यवस्थापन हुन्छ भन्नेबारेमा केही सोचिएको छैन, त्यसकारण उनले छाड्न मानेका छैनन्’,ती नेताको दाबी छ।

उपाध्यक्ष र महासचिवमा पनि उत्तिकै समस्या रहेको छ। उपाध्यक्षमा सोचेभन्दा फरक ढंगले घटनाक्रम विकास भइरहेको नेताहरूले बताएका छन्। त्यस्तै महासचिवमा विष्णु पौडेल,शंकर पोखरेल, प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङको सशक्त दाबी रहेको छ। बिहीबारदेखि नै अध्यक्ष ओलीले चितवनमा बसेर नेताहरूसँग परामर्श थालेका थिए।

उनले वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका ईश्वर पोखरेल र सुवास नेम्वाङसँग पनि छलफल गरेका छन्। तर दुवै नेताले वरिष्ठ उपाध्यक्ष छाड्न सकेका छैनन्। ओलीको सूचीमा नेम्वाङको नाम कतै नदेखिएपछि उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेको स्रोतले जनाएको छ। ‘उहाँलाई व्यवस्थापन गर्ने विषयमा कहीं कतै नाम छैन। त्यसकारण पनि उहाँले वरिष्ठ उपाध्यक्षमा दाबी छाड्नुभएको छैन’, स्रोतले भन्यो। विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष पद सिर्जना गरिएपछि सोही विषयमा ओली खेमामै रस्साकस्सी चलेको हो।

ओलीले महासचिवको दाबी गरिरहेका उपमहासचिव विष्णु पौडेल,सचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वी सुब्बा गुरुङ तथा स्थायी कमिटी सदस्य शंकर पोखरेलसँग पनि छलफल गरेका थिए।

उनीहरूबाट पनि शुक्रबार राति अबेरसम्म सहमतिका लागि कुनै प्रगति भएको छैन। ‘महासचिवमा विष्णु पौडेललाई छाड्न ओलीको दबाब देखिन्छ तर शंकर पोखरेललाई पनि छोडिहाल्नुस् भनेर भन्न सकेका छैनन्,’स्रोतले भन्यो।

सचिव गोकर्ण बिष्टले सर्वसम्मत नेतृत्व चयन गर्दा नै सन्देश राम्रो जाने भएकाले त्यसका लागि पहल हुनु स्वाभाविक भएको बताए। नेताकार्यकर्ता र जनताले एमालेको नेतृत्व सर्वसम्मत होस् भन्ने चाहेका छन्। त्यसकारण सर्वसम्मतिको प्रयास हुनु स्वाभाविक हो’,बिष्टले भने।

एमालेका वडा र गाउँपालिकाको नेतृत्व सर्वसम्मत चयन भएको थियो। महाधिवेशन प्रतिनिधि पनि करिबकरिब सर्वसम्मत चयन भएका थिए। महाधिवेशनको हलमा आइपुग्नुअघिसम्म पार्टीभित्र कम्तीमा पदाधिकारी सर्वसम्मत चयन हुने चर्चा गरिएको थियो।

तर अहिले साँझ यो समाचार तयार पार्दासम्म कुनै पनि पदमा सर्वसम्मत हुन अवस्था देखिएको छैन। महाधिवेशनअघि काठमाडौंमा अध्यक्ष ओलीले सर्वसम्मत नभए लोकतान्त्रिक विधिबाट नेतृत्व चयन हुने बताएका थिए। काठमाडौंमै उपाध्यक्ष रावलले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका थिए।

भुसालले सबैबीच सहमति भएमात्रै  

आफ्नो उम्मेदवारी फिर्ता हुने तर त्यो सम्भावना नभएको बताए। सचिवमा पनि आकांक्षीहरू आवश्यकभन्दा दोब्बर बढी छन्। उनीहरूलाई सम्हाल्न निकै कठिन रहेको छ। 

हालका सचिवहरू योगेश भट्टराई, गोकर्ण बिष्ट, भीम आचार्यदेखि नयाँ अनुहारसमेत गरी झन्डै १५ जना आकांक्षी छन्। तर ओलीले कसैलाई पनि आश्वसन नदिएकाले उनीहरू उम्मेदवारी दिएर चुनाव लड्ने तयारीमा लागेका हुन्।‘ओलीले १० बुँदे सहमति गरेर आएका केही नेतालाई पदाधिकारीमा ल्याउन नचाहेकै कारण सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल हुने भएको हो’, एक नेताले भने।

भूगोल र विभिन्न क्लस्टरबाट आएका धेरैजसो प्रतिनिधिले केन्द्रीय सदस्यको आकांक्षा राखेका छन्।एमालेमा अहिले एक सय ९६ जनाको केन्द्रीय कमिटी छ। उनीहरूमध्ये तीन दर्जनजति नेता पदाधिकारीका आकांक्षी भए पनि कम्तीमा एक सय ५० जना पुरानै अनुहार दसौं महाधिवेशनमा पनि केन्द्रीय सदस्यका लागि उम्मेदवार बन्ने भएका छन्।

यसैबीच राति अबेर केन्द्रीय समितिको बैठकले महाधिवेशनबाट सहमतिमा नेतृत्व चयन गर्न केन्द्रीय समिति ३०१ सदस्यीय बनाउने र पदाधिकारी संख्या पनि १५ बाट बढाउने गरी विधान संशोधन प्रक्रिया अघि बढाएको छ।

प्रकाशित: ११ मंसिर २०७८ ००:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App