७ वैशाख २०८१ शुक्रबार
राजनीति

दबाबमा ओलीः पदाधिकारी मिलाउन सकस

नेकपा एमालेमा अध्यक्षबाहेकका पदाधिकारीका लागि आकांक्षी धेरै भएपछि मिलाउन सकस परेको छ। एमाले विधानमा अध्यक्षसहित १५ पदाधिकारी हुने व्यवस्था छ तर आकांक्षी धेरै हुँदा नेताहरूको व्यवस्थापन गर्न नेतृत्वलाई कठिन भएको हो।

वर्तमान अध्यक्ष केपी ओलीले दसौं महाधिवेशनबाट अध्यक्षमा आफू र अन्य पदाधिकारी पनि सर्वसम्मत गराउने चाहनाअनुसार तयारी अघि बढाएका छन्। तर वरिष्ठ उपाध्यक्ष,उपाध्यक्ष,महासचिव, उपमहासचिव र सचिवमा सोचेभन्दा धेरै आकांक्षी देखिएका छन्। तर अहिलेसम्म आकांक्षी कसैले पनि उम्मेदवारी घोषणा गरेका छैनन्।

वर्तमान उपाध्यक्ष भीम रावलले गृहजिल्ला अछाम पुगेर दसौं महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरे पनि थप केही बोलेका छैनन्। वरिष्ठ उपाध्यक्षमा दाबी गर्ने नेताहरू धेरै भएका कारण मिलाउन समस्या भएको हो। एमालेले महाधिवेशनमा प्यानल बनाएर उम्मेदवारी घोषणा गर्न बन्देज लगाएको छ।

घनश्याम भुसाललगायतका नेता कुन पदमा निर्वाचनमा लड्ने भन्ने द्विविधामा छन्। तर संसदीय दलका उपनेता सुवास नेम्वाङले केपी ओली (अध्यक्ष) पछिको पदमा उम्मेदवारी दिने संकेत गरिसकेका छन्।

महासचिव ईश्वर पोखरेल विधानअनुसार महासचिवमा दोहोरिन नमिल्ने भएपछि उनले वरिष्ठ उपाध्यक्षमा दाबी गरिरहेका छन्। भीम रावल, अष्टलक्ष्मी शाक्यले पनि वरिष्ठ उपाध्यक्ष बन्ने चाहना राखेका छन्। माओवादीबाट एमालेमा आएका रामबहादुर थापाले पनि वरिष्ठ उपाध्यक्षमा आकांक्षा राखेका छन्।

दसौं महाधिवेशनबाट सर्वसम्मत पदाधिकारी चयन गर्न आन्तरिक गृहकार्य भइरहेकाले अहिलेसम्म कसैले पनि खुलेर उम्मेदवारी घोषणा गरेका छैनन्। वरिष्ठ उपाध्यक्ष एकजना मात्र हुने भएकाले सो पदका बाँकी आकांक्षीलाई उपाध्यक्षमा समेट्नुपर्ने बाध्यता छ।

रावल,शाक्य, नेम्वाङ, थापा, पृथ्वी सुब्बा गुरुङ, सत्यनारायण मण्डल, रघुजी पन्त, युवराज ज्ञवाली पनि त्यहीं समेटिनुपर्नेछ। राधा ज्ञवालीले पनि उपाध्यक्षका लागि तयारी गरेकी छन्। नेम्वाङ, थापा र ज्ञवाली नयाँ अनुहार हुन्।

अध्यक्षपछिको दोस्रो पदमा उम्मेदवारी दिने संकेत गरेका नेम्वाङले भने, ‘संसदीय दलमा म ओलीपछिकै पदमा छु।पार्टीमा पनि मेरो यस्तै उपस्थिति रहोस् भन्ने साथीहरूको चाहना छ, सल्लाह गर्दैछु।’

महासचिवका आकांक्षी पनि धेरै छन्। विष्णु पौडेल, सुरेन्द्र पाण्डे, शंकर पोखरेल महासचिवका दाबेदार देखिएका छन्। पौडेल एमाले–माओवादी एकीकरणका बेला महासचिव भैसकेकाले स्वाभाविक दाबेदार हुन्। नवौं महाधिवेशनमा महासचिवको उम्मेदवार भई ईश्वरसँग थोरै मतले पराजित पाण्डेले यसपटक पनि सोही पदमा दाबी गरेका छन्।

पाण्डेले महासचिवभन्दा तल बसेर काम गर्न आफूलाई असजिलो हुने बताएका छन्। ‘पहिला पनि महासचिवमा थोरै मतले पराजित भएको हुँ, अहिले मेरो दाबी महासचिवका लागि स्वाभाविक हो तर यो महाधिवेशन सर्वसम्मत नेतृत्व चयनको दिशामा उन्मुख भएकाले के हुन्छ भन्ने अवस्था छैन’, स्थायी कमिटी सदस्य पाण्डेले भने।

नवौं महाधिवेशनमा उपमहासचिवमा पराजित शंकरले यसपटक महासचिवमा आकांक्षा राखेका छन्।हालका उपमहासचिव भुसाल दसौं महाधिवेशनबाट महासचिव बन्न चाहन्छन्। तर उनी महासचिव बन्ने सम्भावना कम रहेको एमाले वृत्तमा चर्चा छ। महासचिवका प्रमुख दाबेदार पौडेलले यो विषयमा अहिले केही पनि नबोल्ने बताएका छन्।

उनले केही छलफल नभएकाले अहिले नै उम्मेदवारी घोषणा गर्न हतार हुने बताए। ‘आन्तरिक छलफलपछि सबै विषय निर्धारण हुनेछ’,पौडेलले भने। महासचिवमा आकांक्षा राखेका मध्ये केहीलाई उपाध्यक्षमा समेट्नुपर्ने र केहीलाई उपमहासचिवमा राख्नुपर्ने भएकाले पनि समस्या खडा भएको एमाले नेताहरूले बताएका छन्।

त्यस्तै पदाधिकारीमा पर्ने उपमहासचिव पद एउटामात्र छ तर आकांक्षी धेरै छन्। हाल पौडेल र भुसाल गरी दुई उपमहासचिव छन्। गत असोजमा सम्पन्न विधान महाधिवेशनले उपमहासचिव एकजना मात्रै हुने व्यवस्था गरेको छ।

अहिले उपमहासचिवमा प्रदीप ज्ञवाली,गोकर्ण बिष्ट, योगेश भट्टराईले पनि आकांक्षा देखाएका छन्। तर उनीहरूको बढुवा हुने सम्भावना निकै कम छ।

सचिव पदका आकांक्षी पनि धेरै छन्। विधानअनुसार सातजना सचिव हुन्छन्। नयाँ अनुहारले सचिवमा दाबी गरिरहेका छन्।विष्णु रिमाल, गोकुल बाँस्कोटा, खगराज अधिकारी, महेश बस्नेत, किरण गुरुङ, शेरधन राई, रघुवीर महासेठ, छविलाल विश्वकर्मा सचिवका लागि दाबी गरिरहेका नयाँ अनुहार हुन्।

माओवादीबाट एमालेमा आएका नेताहरूलाई पनि पदाधिकारीमा समेट्नुपर्ने भएकाले थप समस्या निम्तिएको छ। माओवादीबाट एमालेमा आएका लेखराज भट्ट र टोपबहादुर रायमाझीले पनि सचिवको दाबी गरिरहेका छन्। माओवादीबाट एमालेमा आएका र माधव नेपाललाई छाडेर एमालेमा बसेका प्रभावशाली नेताहरूलाई पनि पदाधिकारीमा मिलाएर लैजानुपर्ने दबाब नेतृत्वलाई परेको छ।

अध्यक्षबाहेकका पदाधिकारीमा आकांक्षा राख्ने नेताहरू धेरै भएकाले उनीहरूको व्यवस्थापनलाई ध्यानमा राखेर महाधिवेशनको हलबाट विधान संशोधन गर्नुपर्ने सुझाव आएको छ। एमालेका धेरै नेताले दसौं महाधिवेशन सर्वसम्मत हुने बताइरहेका छन्।

उनीहरूले कम्तीमा अध्यक्षसहित पदाधिकारीमा सर्वसम्मत भएपछि केन्द्रीय सदस्यमा भने निर्वाचन भए पनि फरक नपर्ने बताएका छन्। एमाले निर्वाचन आयोगका प्रमुख विजय सुब्बाले महाधिवेशनबाट सकेसम्म सर्वसम्मत नेतृत्व चयन हुने अपेक्षा गरेका छन्। ‘पार्टीलाई संकट परेका बेला सर्वसम्मत नेतृत्व चयन भए राम्रो सन्देश जान्थ्यो’,सुब्बाले भने।

प्रकाशित: ३ मंसिर २०७८ ००:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App