५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

कार्यकर्ता खोसाखोस गर्दै जसपा र लोसपा

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) को आधारभूमि तराई–मधेस हो। दुवै पार्टीको भोट बैंक पनि तराई–मधेस नै हो। त्यसैले दसैंतिहार, छठजस्ता महत्वपूर्ण चाडमा जसपा र लोसपाका नेताहरू चाडपर्व मनाउनभन्दा पनि कार्यकर्ता खोसाखोसमै व्यस्त भए। जसपा र लोसपाका अधिकांश शीर्ष नेता दसैंदेखि मधेसमै छन्।

उनीहरू कात्तिकभर मधेसमै बस्ने भएका छन्। जसपा अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, शीर्ष नेता राजेन्द्र महतो यसबीचमा अर्जेन्ट काम परेको बेला मात्र काठमाडौंमा आए। धेरैजसो समय मधेसमै बसे। यहाँसम्म कि अघिल्लो दिन काठमाडौं आएर भोलिपल्टै मधेस फर्किए।

मधेसमा अहिले दिनहुँजसो पार्टी प्रवेश कार्यक्रम हुने गरेका छन्। कहिले जसपा त कहिले लोेसपाका तर्फबाट पार्टी प्रवेश कार्यक्रम भइरहेका हुन्। लोसपाका कार्यकारिणी समितिका सदस्य केशव झाका अनुसार कात्तिक २९ गते वीरगन्जमा ठूलो तहको पार्टी प्रवेश कार्यक्रम राखिएको छ।

त्यस कार्यक्रममा जसपाका जिल्ला तहका लोकप्रिय नेताहरू नै लोसपामा प्रवेश गर्ने कार्यक्रम रहेको झाले बताए। पार्टी प्रवेश गर्ने तयार भएका नेताहरूको नाम उनले खुलाउन चाहेनन्। नाम खुलाउनेबित्तिकै चलखेल हुने उनको बुझाइ छ। ‘अब उपेन्द्र यादवजीको पार्टीलाई ठूलो धक्का लाग्ने भएको छ,’झाले भने। झाका अनुसार दसैंदेखि अहिलेसम्म प्रदेश २ का दर्जनौं ठाउँमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएका छन्। पार्टी प्रवेश कार्यक्रममा प्रवेश गर्नेहरू धेरैजसो जसपाकै कार्यकर्ता हुने गरेका छन्।

यता जसपाका अध्यक्ष उपेन्द्र यादवका सहयोगी महेश चौरासियाका अनुसार अध्यक्ष यादव शनिबार बिहान काठमाडौंबाट विराटनगर जाने भएका छन्। यादव कात्तिक ३० गतेसम्म प्रदेश २ मा बस्ने भएका छन्। त्यसबीचमा प्रदेश २ मा ठाउँठाउँमा संगठन विस्तारको कार्यक्रम राखिएको चौरासियाले बताए। जसपाका नेता प्रमोद साहले लोसपाका कार्यकर्ताहरू धमाधम जसपामा प्रवेश गर्न लागेको दाबी गरे।

दसैं तिहारको बेला जसपाका अन्य केन्द्रीय तहका नेताहरू पनि धेरैजसो मधेसमै बसे। यहाँसम्म सरकारम सहभागी भएका चार मन्त्री यसबीचमा पटकपटक प्रदेश २ मा गए। दसैंतिहारको बेला लोसपाका नेताहरू अनिल झा, उमाशंकर अरगरैया, केशव झा, सुरेन्द्र झा लगायत नेता पनि धेरैजसो समय मधेसमै बसे।

लोसपाले अहिलेसम्म कार्यकारिणी समितिबाहेक अन्य समिति निर्माण गर्न सकेको छैन। निर्वाचन आयोगमा बुझाएको ३१ सदस्यीय कार्यकारिणी समिति मात्रै लोसपाले बनाएको छ। केन्द्रीय समिति, राजनीतिक समिति, प्रदेश समिति, जिल्ला समिति, क्षेत्रीय समितिहरू लोसपाले बनाएको छैन। यसैगरी भ्रातृ संगठनहरू पनि लोसपाले निर्माण गर्न सकेको छैन।

 केन्द्र तथा प्रदेश समिति निर्माण गर्ने सिलसिलमा मधेसका जनताको भावना बुझ्न आफूहरू मधेस पुगेको लोसपाका नेता सुरेन्द्र झाले बताए। जसपाका प्रदेश तथा जिल्ला समितिहरू भने पहिले नै तयार भएका छन्। प्रदेश तथा जिल्ला समिति बनाउने झन्झट जसपालाई छैन। तर, जसपाका प्रदेश तथा जिल्ला समितिमा बसेका कार्यकर्ताहरू जोगाउन भने जसपाका नेताहरूलाई चुनौती थपिएको छ।

पार्टी प्रवेश कार्यक्रममा सहभागी एक नेताले भने, ‘पार्टी प्रवेश कार्यक्रममा मान्छेहरूको सहभागिता बढीभन्दा बढी देखाउन एउटै मान्छेलाई धेरै ठाउँमा देखाउने तथा पार्टीसँग सम्बन्धित नै नभएका व्यक्तिहरूलाई पनि कार्यक्रममा ल्याउने गरिएको छ।’ ती नेताले भने, ‘कहिलेकाहीं पार्टी प्रवेश गर्ने व्यक्तिलाई नेताहरूले कहिले देखेका पनि हुँदैनन्। र, चिनेका पनि हुँदैनन्।’ जसपा र लोसपाका नेताहरू आगामी चुनावलाई लक्षित गरेर धमाधम पार्टी प्रवेश कार्यक्रमको होडबाजी सुरु गरेका हुन्। कार्यक्रमको नाम संगठन विस्तार भनिए पनि उद्देश्य भनेको पार्टी प्रवेश कार्यक्रम नै हो,’ अर्का एक नेताले भने।

प्रकाशित: २९ कार्तिक २०७८ ०६:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App