coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

सरकार ठग र अपराधी बचाउने काम गर्दैछः बिजुक्छेँ

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँ(रोहित) ले सरकारले सहकारीका ठग र अपराधीहरुलाई बचाउने काम गर्ने गरेको बताएका छन्।

भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को रजत वर्ष महोत्सवका अवसरमा शनिबार विविध व्यक्तित्वहरुलाई सम्मान र स्मारिका विमोचनको क्रममा सो बताएका हुन्। उनले समाजवादी देशहरुले सहकारीलाई उत्पादनसँग स्रोतसँग जोड्ने तर पूँजीवादी देशले नाफा र फाइदाका मात्र हेर्ने बताउँदै अहिलेका सहकारीहरु पूँजीवादतिर ढल्केको उल्लेख गरे।

उनले सरकारले के गर्छ भन्दापनि सरकारले खराब काम गर्छ भनेर बुझ्नु जरुरी भएको बताए। अध्यक्ष बिजुकछेँले संसद सदस्य बस्ने ठाउँमा अपराधीहरुसमेत बस्ने भएकाले त्यस्ता अपराधीबाट देश र जनताको हित नहुने चर्चा गरे। उनले पूँजीवादी देशमा गरिव जनताको पैसा धनी मान्छेका लागि पोस्ने भएकाले गरिव जनताको हितमा सहकारी संस्था नरहने र त्यस्ता सहकारीमा पैसा राख्न नहुने स्पष्ट पारे।

सहकारीले बैंक र फाइनान्सको जस्तो नाफाका लागि मात्र काम नगरी बहुसंख्यक जनताको हितमा काम गर्दै जानुपर्ने बिजुक्छेँको जोड छ।  

कार्यक्रममा बाग्मती प्रदेश सभासद् सृजना सैजूले जनताको सांस्कृतिक र आर्थिक स्तर उकास्न सहकारीको प्रमुख भूमिका हुने बताइन्। उनले सहकारीभित्र पनि वर्ग र विचार हुने बताउँदै देश र जनताको हकहितका लागि सहकारी आन्दोलन अघि बढ्नुपर्ने बताइन्। 

सो क्रममा शिक्षासेवी एवं नेमकिपाका कोषाध्यक्ष मोहनप्रसाद प्रजापतिले सहकारीभित्र बसेर नराम्रो काम व्यक्तिलाई समयमै चिन्नुपर्ने बताए। उनले व्यवस्थित र समुदायमा आधारित सहकारीमा सदस्य हुनुपर्ने औंल्याए।

पूर्व न्यायाधिश गौरी बहादुर कार्कीले घरजग्गा र हाउजिङ्ग कम्पनी चलाउनेहरुले खोलेका सहकारीहरु बढी जोखिमपूर्ण रहेको बताए। ठूला पार्टीका सांसदहरुले चलाएका सहकारीहरुमा आफू अनुकूल नीति नियम बनाउँदै लगेको बताउँदै उनले त्यस्ता सहकारीले अझ बढी ठग्ने डर हुने स्पष्ट पारे।

संस्थाका अध्यक्ष बलराम प्रजापतिले सहकारीमा देखा परेका विकृति विसंगतिविरुद्ध लाग्न जोड दिँदै उनले दिवाकालीन डाक्टर र नर्ससहितको व्यवस्थित आदर निकेतन निकट भविष्यमा सञ्चालन गर्ने स्पष्ट पारे। समाज समुदाय र सदस्य हितका लागि यस संस्था तत्पर रहेको उनले औंल्याए।

शनिबार नै सम्पन्न कसिमला पाय् प्रतियोगिताका विजयी प्रथम श्याम प्रजापति, द्धितीय सेते बहादुर कुस्मा, तृतीय लक्ष्मीभक्त कोजू र सान्त्वना शिवशंकर भुजुलाई मेडल, प्रमाणपत्रसहित क्रमशः नगद ५ हजार, ३ हजार, २ हजार र १ हजार प्रदान गरिएको सो कार्यक्रममा सफाइ मजदुर लक्ष्मी भक्त कोजू, कलासंस्कृति बचाउन क्रियाशील जगतबीर शिल्पकार, र कोरोना हिरो राजेश गााइजूलाई संस्थाबाट नगद रु.१५ हजारसहित दोसल्ला ओढाई सम्मान गरिएको थियो।

प्रकाशित: २७ कार्तिक २०७८ १५:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App