राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले राष्ट्रिय जनगणनालाई सफल बनाउन राज्य, सरकार र नागरिक संवेदनशील हुनुपर्ने बताएका छन्। उनले आज जारी गरेको सन्देशमा यस राष्ट्रिय अभियानमा सत्यतथ्य सूचना उपलब्ध गराएर सहयोग गर्न सबैको कर्तव्य भएको उल्लेख गरेका छन्।
आगामी दिनमा मुलुकमा विकास तथा निर्माणका साथै नागरिकलाई सामाजिक सेवा सुरक्षा र सुविधाको व्यवस्था गर्नका लागि आवश्यक आधारभूत तथ्याङ्क सङ्कलन गर्न जनगणना महत्वपूर्ण माध्यम रहेको केसीद्वारा जारी सन्देशमा उल्लेख छ।
सन्देशमा निर्वाचन क्षेत्रको निर्धारण गर्न र पुनःसंरचना गर्न जनगणना एउटा महत्वपूर्ण माध्यम भएको भनिएको छ। एकीकृत तथ्याङ्क प्रणालीलाई व्यवस्थित गर्ने विश्वास गरिएको जनगणना संविधानको मर्म र भावना व्यवस्थित गर्नका लागि केसीले सफलताको कामना गरेका छन्। प्रत्येक १० वर्षमा गर्ने गरिएको जनगणना आजदेखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने छ। विसं १९६८ देखि यसको सुरुआत भएको हो।
प्रकाशित: २५ कार्तिक २०७८ ११:४१ बिहीबार