१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

बाँकेमा बढ्यो कांग्रेसको निर्वाचन सरगर्मी

बाँकेमा नेपाली कांग्रेसको निर्वाचनको सरगर्मी बढेको छ। कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडादेखि जिल्ला तहसम्मको निर्वाचन तालिका सार्वजनिक भएसँगै सरगर्मी बढेको हो।

निर्वाचन तालिका अनुसार यही कात्तिक २७ गते बाँकेका ८१ वटै वडामा एकसाथ निर्वाचन हुदैछ। नेपाली कांग्रेस बाँकेका सभापति किरण कोइरालाले तालिका सार्वजनिक भइसकेपछि वडादेखि जिल्ला तहको निर्वाचन हुने निश्चित भइसकेको बताइन्।

तालिका सार्वजनिक भएसँगै निर्वाचन माहोल तातेको र नेता तथा कार्यकर्ता एकदमै उत्साहित भएको उनले सुनाइन्। ‘बाँकेमा खटिएर आउनु भएका निर्वाचन अधिकृतले आफ्नो काम थालिसक्नु भएको छ, निर्वाचन राम्रोसँग सम्पन्न हुने विश्वास लागेको छ,’ कोइरालाले भनिन्।

निर्वाचनका लागि वडा–वडामा नेता, कार्यकर्ता परिचालित भएका छन्। आफ्नो पक्षमा मत माग्न उनीहरुले प्रचार–प्रसार थालेका छन्। निर्वाचन समितिले तालिका सार्वजनिक गरेर प्रक्रिया अगाडी बढाइसकेको जनाएको छ। बाँकेमा निर्वाचन सम्पन्न गराउन वरिष्ठ अधिवक्ता रेवती रमण भट्टराई निर्वाचन अधिकृतका रुपमा खटिएका छन्। भट्टराईले बाँकेमा वडादेखी जिल्ला तहसम्मको निर्वाचन समय निर्धारण भइसकेको बताए।  

‘वडादेखि जिल्ला तहसम्मको निर्वाचन समय निर्धारण भइसकेको छ,’ उनले नागरिकसँग भने ‘सुरुमा कात्तिक २७ गते वडाको निर्वाचन सम्पन्न गरिसकेपछि गाउँपालिका÷नगरपालिका, प्रदेश सभा, क्षेत्र र जिल्लाको निर्वाचन गराउने तयारी छ।’ उनका अनुसार कात्तिक २७ गते बाँकेका ८१ वटै वडाको निर्वाचन सम्पन्न गर्ने समितिको तयारी छ।

यस्तै कात्तिक ३० गते गाउँपालिका÷नगरपालिका, मंसिर ३ गते प्रदेश सभा, मंसिर ६ गते क्षेत्र र मंसिर १० गते जिल्ला तहको निर्वाचन सम्पन्न हुनेछ। क्रियाशील सदस्यता विवादका कारण पछाडी परेको बाँकेका छिमेकी जिल्ला दाङ र बर्दियामा भने यसअघि नै निर्वाचन सम्पन्न भइसकेका छन्।  

ढिलै भएपनि पार्टीको निर्वाचनमा सहभागी हुन पाउँदा बाँकेका कांग्रेस कार्यकर्ता हर्षित छन्। ‘पार्टीको आन्तरिक चुनाव हो, सर्वसम्मत रुपमा नेतृत्व चयन गर्नुपथ्र्यो, तर चुनावी प्रतिस्पर्धाले सक्षम र योग्य उम्मेदवारलाई उत्पादन गर्छ,’ कोहलपुर ११ का क्रियाशिल सदस्य छबिलाल डाँगीले भने ‘पार्टीको निर्वाचनमा केही ढिलाई भयो, तर पनि राम्रै भएको छ, उपयुक्त समयमा निर्वाचन हुदैछ।’ पार्टीको १४ औं महाधिवेशनबाट वडादेखि केन्द्रसम्म सक्षम नेतृत्व आउनेमा आशावादी रहेको उनले सुनाए।

प्रकाशित: २४ कार्तिक २०७८ १३:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App