coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘कांग्रेस महाभियोगको पक्षमा छैन’

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग लगाउने पक्षमा आफू र पार्टी नभएको बताएका छन्। पार्टीको १४औं महाधिवेशनका विषयमा मंगलबार संसदीय दलको कार्यालय सिंहदरबारमा आयोजित पदाधिकारी र निर्वाचन समितिको बैठकमा देउवाले यस्तो बताएका हुन्।

महाधिवेशन सम्बन्धी छलफल सकिएपछि उप–सभापति विमलेन्द्र निधिले प्रधान–न्यायाधीशका विषयमा उठेका प्रश्नमा दलहरूको मौनतामा चासो राखेका थिए। जवाफमा देउवाले प्रधानन्यायाधीश राणाले पदबाट राजीनामा नदिने बताएको जानकारी गराएका थिए। ‘प्रधानन्यायाधीशबाट राजीनामा दिन्नँ भन्ने कुरा आएको छ,’ देउवालाई उद्धृत गर्दै एक नेताले भने, ‘हामी महाभियोगको पक्षमा छैनौं, अरूले लगाए भने थाहा छैन।’

न्यायालयमा बढ्दै गएको गुटबन्दीले शासन व्यवस्थामाथि नै चुनौती खडा गर्नसक्ने भन्दै बैठकमा सहभागी नेताहरूले चासो र चिन्ता व्यक्त गरेका थिए।

न्यायालयमाअहिले देखिएको विवादमाथि विभिन्न कोणबाट धारणा राखेका कांग्रेस नेताहरूले ललिता निवास प्रकरणमा मुछिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई र सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दा पनि अहिले जोडिएर आएको धारणा राखेका थिए।

पार्टी सहमहामन्त्री सुनिल थापासहितका केही नेताले विवादमा संसद् र नेपाली सेनालाई समेत तान्ने प्रयास भइरहेको धारणा राखेका थिए। बैठकमा निर्वाचन समितिमा रहेका अधिवक्ताले पनि अहिले अदालतमा चलिरहेका विवादका विषयमा आफ्ना धारणा राखेका थिए।

बैठकपछि कांग्रेस नेता रामचन्द्र पौडेलले न्यायालयको मामिलामा कांग्रेसले हस्तक्षेप नगर्ने स्पष्ट पारे। न्यायालयमा असहज परिस्थिति बनेकाप्रति चिन्ता व्यक्त गर्दै पौडेलले भने, ‘प्रधानन्यायाधीशको बारेमा हामीलाई चिन्ता छ, न्यायालयमा असहज परिस्थिति बनेको छ, न्यायालयको आन्तरिक मामिलामा ज्यादै कमेन्ट त गर्दैनौं, हस्तक्षेप गर्न चाहेको होइन।’

‘मंसिरभित्र महाधिवेशन सक्नेगरी काम गर्नू’

सभापति देउवासहितका पदाधिकारीको बैठकले पार्टीको १४औं महाधिवेशन मंसिरभित्र सक्नेगरी तयारी गर्न निर्वाचन समितिलाई निर्देशन दिएको छ। निर्वाचन समितिको आग्रहमा मंगलबार कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकमा छठपछि सबै तहको अधिवेशन अघि बढाउने गरी कार्यतालिका बनाउन समितिलाई नै जिम्मेवारी दिइएको छ।

मंसिरभित्रै महाधिवेशन सक्नेगरी कार्यतालिका बनाउन निर्वाचन समितिलाई निर्देशन दिइएको जानकारी दिँदै कांग्रेस नेता पौडेलले भने, ‘कार्यतालिकामा हेरफेर गर्न र महाधिवेशन तयारीका लागि केन्द्रीय कार्यसमिति बोलाउन सभापतिजीलाई भनेको छु।’ 

रसुवा र रौतहटसहितका जिल्लाको क्रियाशील सदस्यता विवाद टुंगो लाग्न नसक्दा अन्य जिल्लाको पनि अधिवेशन प्रक्रिया अघि बढ्न नसकेको भन्दै निर्वाचन समितिका अधिकारीले विवाद तत्काल सुल्झाइदिन नेताहरूसँग आग्रह गरेका थिए।

 जवाफमा पार्टी सभापतिसमेत रहेका प्रधानमन्त्री देउवाले मंसिरभित्र १४औं महाधिवेशन गर्नुपर्ने बताउँदै सोहीअनुसार तयारी गर्न आग्रह गरेका थिए। मंसिर ९ देखि १३ का लागि तोकिएको मितिमा महाधिवेशन नहुनेमा सहमत रहेका नेताहरूले अन्तिम सातासम्म महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए।

बैठकमा पुग्नेबित्तिकै देउवाले आफूले महाधिवेशन गर्न नचाहेको भन्ने पौडेलको आरोपको खण्डन गरेका थिए। दस मिनेटभन्दा बढी समय देउवा र पौडेलबीच महाधिवेशन गर्न चाहेको वा नचाहेको विषयमा विवाद भएको थियो। सदस्यता विवाद टुंगो लगाउन आफूले नेताहरूलाई जिम्मेवारी दिएको भन्दै देउवाले आफ्नो प्रतिरक्षा गरेका थिए। पौडेलले महाधिवेशनप्रति सभापतिको लगाब नभएको आरोप लगाएका थिए।

भदौ १८ बाट तल्लो तह (वडा) अधिवेशन सुरु गरेको कांग्रेसले केही जिल्लाको क्रियाशील सदस्यता टुंगो लगाउन सकेको छैन। विवाद टुंगा लाग्न नसक्दा १३ जिल्लामा तल्लो तहको अधिवेशन सुरु हुन सकेको छैन। एक दर्जन जिल्लाले सबै तहका अधिवेशन सकेका छन्।

बाँकीले पालिकासम्मको अधिवेशन सके पनि अरू प्रक्रिया अघि बढ्न सकेको छैन। महाधिवेशनका लागि तयारी गर्नुपर्ने अन्य विषयमा पनि अहिलेसम्म कांग्रेसले छलफल थालेको छैन। सभापति देउवा आमनिर्वाचनअघि पार्टी महाधिवेशन टार्ने र चुनावपछि मात्र गर्ने पक्षमा छन्।

प्रकाशित: १० कार्तिक २०७८ ००:३० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App