७ वैशाख २०८१ शुक्रबार
राजनीति

अख्तियारले छापा मारेपछि मुख्यमन्त्री राउत आक्रोशित

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुरधाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली। तस्बिर: नागरिक

अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार दिउँसो प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेको छ। अख्तियारको टोलीले प्रदेश २ सरकारले सञ्चालन गर्दै आएको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानअन्तर्गत साइकल किन्दा अनियमितता भएको उजुरी परेपछि छानबिन तथा अनुसन्धान गर्न मुख्यमन्त्री कार्यालयमा छापा मारी सम्बन्धित कागजात नियन्त्रणमा लिएको हो।

प्रदेश सरकारले छोरीलाई विद्यालय पठाउन उत्प्रेरित गर्न ‘बेटी पढाऔं, बेटी बचाऔं’ कार्यक्रम ०७५ माघदेखि सञ्चालन गर्दै आएको छ। यस कार्यक्रमअन्तर्गत स्कुल जान प्रोत्साहन गर्न बालिकालाई साइकल वितरण गरिन्छ। साइकल खरिद र वितरणमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले त्यससम्बन्धी कागजात नियन्त्रणमा लिन छापा मारेको बताइएको छ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालले बर्दिबासबाट गएको टोलीले मुख्यमन्त्री कार्यालय पुगेर साइकल खरिदसम्बन्धी फाइल अनुसन्धानका लागि केन्द्रमा पठाउन नियन्त्रणमा लिएको बताए। साइकल खरिदसम्बन्धी सम्पूर्ण कागजात नियन्त्रणमा लिइएको जानकारी अख्तियारका उपसचिव मेघनाथ रिमालले दिए।

अख्तियारको टोलीले कार्यालयमा छापा मारिरहेका बेला मुख्यमन्त्री लालबाबु राउत जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्यको बैठकमा सहभागी थिए। प्रदेश २ मा उपलब्ध केन्द्रीय सदस्यको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव पनि सहभागी थिए।

अख्तियारले छापा मारेको जानकारी पाएपछि मुख्मन्त्री राउत रन्थनिँदै मधेस भवन (मुख्यमन्त्रीको सरकारी निवास) पुगेका थिए। उनले तत्कालै आफ्नो सञ्चार सचिवालयलाई पत्रकार सम्मेलन गर्न अह्राए। सञ्चार सचिवालयका संयोजक आतिष मिश्रले सञ्चारकर्मीहरूलाई मधेस भवन आउन आग्रह गरे। सञ्चारकर्मी मधेस भवन पुग्दा मुख्यमन्त्री राउतको अनुहारमा आक्रोश झल्किरहेको थियो।

सञ्चारकर्मीसँग मुख्यमन्त्री राउतले भने, ‘अख्यिारले देखाएको लीला छापामार शैलीजस्तो भयो।’ यो शैलीबारे अख्तियारका प्रमुख आयुक्त प्रेमकुमार राईलाई फोनमा जानकारी गराएको समेत उनले बताए। ‘खरिद वा अन्य कुनै फाइल सीधै माग गरेको भए भैहाल्थ्यो नि,’ मुख्यमन्त्री राउतले भने, ‘प्रदेश सरकार प्रमुखको कार्यालयमा यो शैलीको व्यवहार अशोभनीय हो।’ उनले प्रदेश सरकारको महत्वाकांक्षी योजना विफल पार्ने षड्यन्त्र भइरहेको दाबी गर्दै जुन दररेटमा प्रदेश सरकारले साइकल किनेको छ त्यो दररेटमा किनेर देखाइदिन चुनौतीसमेत दिए। उनले प्रदेश सरकार सुशासनप्रति प्रतिबद्ध रहेको बताउँदै भने, ‘अख्तियारको शैलीप्रति हाम्रो प्रश्न छ। तर अनुसन्धानका लागि अख्तियार स्वतन्त्र छ। त्यसमा हामी सहयोग गर्न तयार छौं।’

प्रदेश २ मा छोरीहरूको सुरक्षा, शिक्षा र सशक्तीकरणका लागि मुख्यमन्त्री कार्यालयअन्तर्गत ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियान २०७५ माघ १ गतेदेखि सञ्चालनमा ल्याइएको छ। यो अभियानअन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छात्रालाई प्रक्रिया पु¥याएर साइकल वितरण गरिन्छ। 

पहिलो चरणमा खरिद गरिएका १७ हजार थान साइकल वितरण भइसकेको छ। दोस्रो चरणमा किनिएका साइकल गोदाममै छन्। मुख्यमन्त्री कार्यालयका अनुसार सप्तरीका ३३ विद्यालयमा १ हजार ४, सिरहाका ४० विद्यालयमा १ हजार ५५१, धनुषाका ६९ विद्यालयमा २ हजार ९६५, महोत्तरीका ५६ विद्यालयमा २ हजार १९१, सर्लाहीका ५२ विद्यालयमा २ हजार ३६६, रौतहटका ६९ विद्यालयमा २ हजार ८७४, बाराका ५५ विद्यालयमा १ हजार ६९९ र पर्सामा २ हजार ३ सय वटा साइकल उपलब्ध गराइएको छ।

मुख्यमन्त्री कार्यालयले अहिलेसम्म चार चरणमा गरी ४१ हजार २६२ वटा साइकल खरिदमा करिब २९ करोड रुपैयाँ खर्च गरेको छ । जसमध्ये २०७७ चैतमा ११ करोड १० लाख २९ हजार १८४ रुपैयाँमा खरिद गरिएका १७ हजार २ सय ६२ वटा साइकलमा उत्पादक कम्पनीको नाम, मोडल र ब्रान्ड उल्लेख छैन। प्रतिसाइकल भ्याटसहित ६ हजार चार सय ३२ रुपैयाँका दरले वीरगन्जको ओम सत्यसाई प्रालिले आपूर्ति गरेको जनाइएको छ।

प्रकाशित: १४ आश्विन २०७८ ०६:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App