२७ श्रावण २०७९ शुक्रबार
राजनीति

एक सचिवको आत्मकथा

आवरण कथाः

आज फेरि प्रधानमन्त्री निवास बालुवाटार जानु छ। मलाई जहिले जहिले त्यहाँ जानुपर्ने हुन्छ तहिले तहिले मन एक तमासले भारी हुन्छ।  

प्रधानमन्त्री निवास जानै नहुने भन्ने होइन। केही वर्षयता त्यहाँ गएर फाइलमा प्रधानमन्त्रीको स्वीकृति लिनुजस्तो कठिन काम केही लाग्दैन। सरकारी सेवामा प्रवेश गरेपछि लाएअह्राएको काम गर्नै पर्छ। तर त्यही काम सिंहदबारभित्रै गर्न बढ्ता सहज लाग्छ।  

चालकलाई बालुवाटार जाने बताइसकेको छु। ऊ भनेकै समयमा आइसकेको छ। मन भने सुदूर विगततिर जान्छ। लोकसेवा आयोगको जाँच दिएर लिखित र अन्तर्वार्ता दुवैमा पास भएको दिन मैले आफूलाई विश्वविजेता ठानेको थिएँ। मलाई त्यो बेला चिच्याउन मन लागेको थियो– ‘मैले देशको सिँदुर पहिरिएँ।’

लोकसेवा परीक्षाको तयारी मैले साह्रै गजबले गरेको थिएँ। त्यसैको परिणामस्वरुप यो अवसर पाएँ। तल्ला पदमा रहुन्जेल त्यस्तो नराम्रो केही भएन। केही खराब हाकिमले पेलेका बेलामा किन यस्तो काम गर्न आएँ जस्तो लाग्थ्यो। तर बाँकी सबै असल व्यक्ति थिए। तिनैले सिकाएर अगाडि बढाएका हुन्। प्रधानमन्त्री शेरबहादुर देउवा आएपछि बालुवाटार जानुपर्ने विगत परम्परामा रोक लाग्ने ठानेको थिएँ। उनले पनि यसलाई रोकेनन्।  

प्रधानमन्त्री सिंहदरबार आएर काम गर्नुभन्दा बालुवाटारमै बस्न रमाइलो मान्छन्। बालुवाटारमा प्रधानमन्त्रीको आफ्नो सुरक्षादेखि पारिवारिक घेरा हुन्छ। अझ त्यसमा चाकडीबाज र दलालको अर्को सशक्त घेरा पनि हुन्छ।  

अहिले मन्त्रालयमा मन्त्री छैनन्। मेरो मन्त्रालयको विभागीय मन्त्री पनि प्रधानमन्त्री देउवा नै हुन्। त्यसैले उनलाई भेट्न गइरहनुपर्छ। बालुवाटार जाने क्रममा सबैभन्दा दिक्क मूल ढोकामै हुन्छ। त्यहाँ बसेका सुरक्षाकर्मीलाई आफू मन्त्रालयको सचिव भएको बताएपछि बल्ल भित्र जान पाइन्छ।  

भित्र पनि किसिमकिसिमका तगारा पार गर्दै जानुपर्छ। प्रधानमन्त्रीलाई भेट्नुअघि उनका सहयोगीलाई भेट्नुपर्छ। तिनले मेरो औकात हेरीकन कहाँ राख्ने भन्ने विचार गर्छन्। मलाई महत्व दिएका छन् भने अलि भित्री कोठामा पुर्‍याउँछन्। होइन भने निकै बेर तिनले मलाई बाहिरै कुराउँछन्।  

मेरो महत्व कति छ भन्ने कुरा मैले कस्तो चिया पाउँछु भन्नेमा पनि निर्भर गर्छ। मलाई साँच्चिकै महत्व दिएका हुन् भने दूध हालेको चिया मिल्छ। नत्र कालो चियामै टार्दिन्छन्। उस्तै चित्त नबुझे चियाको आग्रह नहुन पनि सक्छ।  

यतिन्जेलमा प्रधानमन्त्रीकहाँ पुग्नुअघि नै मेरा नौनाडी गलिसकेका हुन्छन् तैपनि धैर्यपूर्वक बस्नै पर्छ। आखिर म परें राष्ट्रसेवक। प्रधानमन्त्रीलाई भेट्न गइरहनुपर्ने भएपछि त्यहाँका आसेपासेले पनि मलाई काम लाउने मौका छाड्दैनन्।  

उनीहरू खल्तीबाट चिट निकालेर अनुरोधको शैलीमा आदेश दिन्छन्, ‘यो प्रधानमन्त्रीज्यूको चाहना हो। फलानालाई सरुवा गरिदिनुहोला। फलानालाई यसो गरिदिनुहोला। आदि इत्यादि।’

प्रधानमन्त्री आफैंले यस्ता आदेश दिएका भए कार्यान्वयन गर्न ठीकै हुन्थ्यो। अथवा मिल्ने वा नमिल्ने भनेर जानकारी गराउन पनि सकिन्थ्यो। तर आसेपासेहरूले दिएका यी काम गर्नु मरेको जुनीजस्तो लाग्छ। काम गरौं, प्रधानमन्त्रीको चाहना हो वा होइन थाहा छैन। नगरौं, अर्को पटक जाँदा आसेपासेले सोध्छन्, ‘सचिवजी, मेरो अस्तिको काम भयो ?’

बालुवाटार जाने दिन मलाई अचेल बिदा लिऊँ जस्तो लाग्छ। कतिपटक त मैले मेरा सहकर्मीलाई निमित्त दिएर पनि पठाएको छु। यसो गर्दा कम्तीमा आफूलाई एक दिन भएपछि हुर्मत लिने परिवेशबाट जोगाउन सक्छु।  

हालै एकजना साथीलाई प्रधानमन्त्रीका ससुराली खलकका मान्छेले समेत बोलाएछन्। उनलाई त्यति बेला भाउन्न भएछ। भनेछन्– प्रधानमन्त्रीले भनेकोसम्म गर्न सकिन्छ। त्योभन्दा बढ्ता उनका पत्नीको कुरा सुन्नै पर्छ। तर ससुरालीको पनि आदेश मान्नुपर्ने भएपछि कसरी हुन्छ ? म उनलाई भेट्न जान सक्दिनँ।  

प्रधानमन्त्री सिंहदरबारमै बसेर काम गर्ने हो भने धेरै पक्षमा सुधार हुन्छ। पहिलो, दलाल पन्जाबाट नचाहिने काम गर्नबाट प्रधानमन्त्रीलाई जोगाउन सकिन्छ। प्रधानमन्त्री सिंहदरबारबाटै काम गर्न तत्पर भए भने उनले सचिव, अन्य कर्मचारी र सरकारी संयन्त्रबाटै सुझाव लिन पाउँछन्। अन्यथा सहयोगी, परिवारजन आदिका कारण दुरूपयोग हुने अवस्था रहन्छ।

प्रधानमन्त्री र मन्त्रीको सल्लाहकार भनेको कर्मचारीतन्त्र हो। त्यसैलाई परिचालन गर्ने हो भने सफलता प्राप्त हुन्छ। कर्मचारी संयन्त्रलाई छाडेर अन्यत्रैबाट काम गर्न थालेपछि यस्तो स्थिति आउँछ। प्रधानमन्त्रीलाई सिंहदरबार नै जाने वातावरण कसले मिलाइदेला ?  चालकले गाडी स्टार्ट गरिसकेजस्तो छ। मनमा जस्तो पीडा भए पनि जानै पर्‍यो। लौ त म हिँडे है बालुवाटार।

प्रकाशित: ९ आश्विन २०७८ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App