१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सबै दलसँग सम्वाद गरेर एमसीसीलाई अघि बढाउने : प्रधानमन्त्री देउवा

पार्टी सांसदलाई संसद बैठकमा अनिवार्य उपस्थित हुन निर्देशन

प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवाले संसद बैठकमा अनिवार्य रुपमा उपस्थित हुन पार्टीका सांसदहरुलाई निर्देशन दिएका छन्। मंगलबार अपरान्ह बसेको पार्टी संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री देउवाले बुधबारबाट सुरु हुने संघीय संसदको दुवै सदनको बैठकमा अनिवार्य रुपमा उपस्थित भएर प्रभावकारी भूमिका निर्वाह गर्न पार्टीका सांसदहरुलाई निर्देशन दिएका हुन्।

बैठकमा सांसदहरुले सत्तारुढ दलहरुसँग परामर्श गरेर मन्त्रिपरिषदलाई छिटो पूर्णता दिन पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएका थिए भने प्रधानमन्त्री देउवाले सबै दलसँग सम्वाद गरेर एमसीसीलाई पनि अघि बढाउने धारणा राखेका थिए। एमसीसीबारे अघिल्ला सरकारहरुले पनि कानुन प्रक्रियाअघि बढाएकाले यसलाई अन्य दलहरुसँग पनि विस्तृत छलफल गरेरअघि बढाउने धारणा प्रधानमन्त्रीले दलको बैठकमा राखेका थिए।

काँग्रेस संसदीय दलले संघीय संसदको बुधबारबाट सुरु हुने बैठकमा संसदमा विचाराधीन अध्यादेश तथा विधेयकहरु पारित गरेर जाने निर्णय पनि गरेको छ। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले संसदमा विचाराधीन राजनीतिक दलसम्बन्धी अध्यादेशलगायतका अध्यादेश र विधेयकहरु संसदको पहिलो बैठकबाटै छलफलका लागि अघि बढाउने जानकारी गराए।

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुला घटनाका सम्बन्धमा भारत सरकारलाई पठाइएको कूटनीतिक नोटबारे पनि बुधबारकै बैठकमा संसदलाई जानकारी गराउने बताए। दार्चुला घटनाका सम्बन्धमा उठेका प्रश्नहरुको जवाफ संसदको पहिलो बैठकमा गृहमन्त्री खाँणले जानकारी गराउने विषयमा पनि दलको बैठकमा छलफल गरिएको थियो।

प्रकाशित: २२ भाद्र २०७८ १३:२७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App