१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

इलाम कांग्रेस सभापतिमा खड्काको उम्मेदवारी घोषणा

उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका जिल्ला नेताहरू। तस्बिर: भीम/नागरिक

नेपाली कांग्रेसको विभिन्न तहका अधिवेशनको मिति नजिकिँदै जाँदा उम्मेदवारी घोषणा सुरु भएको छ। यसक्रममा आसन्न १४औं जिल्ला अधिवेशनमा जिल्ला सभापति पदका लागि डम्बर खड्कासहित प्रतिनिधिसभा निर्वाचन क्षेत्र र केही स्थानीय तहमा नेतृत्व गर्ने पार्टी सभापतिका उम्मेदवारले उम्मेदवारी घोषणा गरेका छन्।  

पार्टीमा सहमतिको प्रयास गर्दा सम्भव नभएपछि आफूले उम्मेदवारी घोषणा गर्नुपरेको खड्काले बताए। ‘धेरै प्रयास गर्दा पनि जिल्लाका अग्रजबीचमै नेतृत्वका लागि सहमति भएन,’ उनले भने, ‘आफू युवा भएकैले पनि धेरै मतदाताले आफूलाई खोजेपछि उम्मेदवारी दिने निर्णयमा पुगेको छु।’ कांग्रेस जिल्ला सभापतिका लागि वर्तमान सभापति हिमालय कर्माचार्य, नेताहरू पूर्वसभापति केशव थापा र नेता भेषराज आचार्यले पनि उम्मेदवारी दिने चर्चा जिल्लामा छ। यद्यपि, तीनैजनाले अहिलेसम्म आफ्नो उम्मेवारीको औपचारिक घोषणा भने गरिसकेका छैनन्। पत्रकार सम्मेलनमा उम्मेदवारी घोषणा गर्नेहरू सबै प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवानिकट मानिन्छन्।  

सभापतिका प्रत्यासी खड्काले वर्तमानसम्मको नेतृत्वले पार्टीलाई सही रूपमा संगठित गर्न नसकेको आरोप लगाए। ‘जिल्लामा अहिले नेपाली कांग्रेस नाजुक अवस्थामा पुगेको छ,’ उनले भने, ‘पार्टी अब्बल बनाएर स्थानीय तथा संसदीय निर्वाचनमा नेपाली कांग्रेसको विजय निश्चित गर्न मेरो नेतृत्व आवश्यक छ।’ खड्काले जिल्लाका ८१ वडा सभापतिमध्ये कम्तीमा ५२ जनाले आफूलाई समर्थन गर्ने बताए। ‘पार्टीमा रहेको स्वेच्छाचारिता अन्त्य गर्नु आवश्यक भएको छ,’ उनले भने, ‘पहिलो चरणमै ५१ प्रतिशत मत ल्याएर विजयी हुन्छु भन्ने विश्वास छ।’ खड्का १२औं जिल्ला अधिवेशनमा जिल्ला कोषाध्यक्ष र १३औं अधिवेशनमा जिल्ला सभापतिमै पराजित भएका थिए।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा भीष्म प्रधान र क्षेत्र २ को सभापतिका लागि मनबहादुर बुढाथोकीले उम्मेदवारी घोषणा गरे। केही स्थानीय तहका सभापति उम्मेदवारले पनि उम्मेदवारी घोषणा गरेका छन्। इलाम नगरपालिकामा अमृतलाल श्रेष्ठ, सूर्याेदयमा सोनामकाजी लाप्चा, माईमा हेमराज लिम्बू, सन्दकपुरमा तुलाराम गुरुङ, माइजोगमाईमा राजेश देवान र माङ्सेबुङमा अमरबहादुर राईको उम्मेदवारी घोषणा गरिएको छ।  

जिल्लाका सबै वडामा कांग्रेसको अधिवेशन सम्पन्न भइसकेको छ। वडाबाट जिल्लाभरमा १ हजार ८ सय ३२ प्रतिनिधि छानिएका छन्। यी प्रतिनिधिले संघीय र प्रदेश निर्वाचन क्षेत्र, स्थानीय तह र जिल्ला तहको पार्टी कार्यसमितिका पदाधिकारी चुन्नेछन्। जिल्लाका विभिन्न तहमा कांग्रेसका करिब ३ हजार पदका लागि नेतृत्व चुन्नेक्रम चलिरहेको छ। भदौ २७ मा गाउँ÷नगर, असोज १ मा प्रदेशसभा, असोज ५ मा प्रतिनिधिसभा तथा असोज १० मा इलाम कांग्रेसको जिल्ला अधिवेशन हुँदैछ। 

प्रकाशित: २२ भाद्र २०७८ १२:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App