२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘कसैलाई वैकल्पिक राजनीतिको अपहरण गर्ने छुट छैन’

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले आम नागरिकलाई साक्षी राखेर गरेको पार्टी एकीकरणको मर्म नमार्न अध्यक्ष रवीन्द्र मिश्रलाई आग्रह गरेका छन्। आइतबार विज्ञप्तिमार्फत संयोजक पाण्डेले अध्यक्ष मिश्रले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लगाएर कारबाहीको चेतावनी दिनु हास्यास्पद भएको टिप्पणी गरेका थिए।  

‘रवीन्द्रजीले पार्टीको मूल बाटोमा रहेका नेताहरूलाई विभिन्न आरोप लाउँदै कारबाही गर्ने चेतावनी दिनुभएको छ,’ विज्ञप्तिमा उल्लेख गरिएको थियो, ‘यो हास्यास्यपद छ। ’ पार्टीको विधान र घोषणापत्रमा टेकेर गरिने कुनै पनि गतिविधि समानान्तर गतिविधि होइनन् विज्ञप्तिमा भनिएको छ, ‘समानान्तर गतिविधि भनेको पार्टीको घोषणापत्र र विधान अनुरूप काम नगर्नु भएको हो। पक्कै पनि, समानान्तर गतिविधि गर्नेलाई कारबाही गर्नुपर्छ। 

पार्टीको लाइनभन्दा बाहिर गएर वक्तव्य बाजी गर्नेलाई प्रश्न गर्नुपर्छ। तर त्यसलाई लागि कसले समानान्तर गतिविधि गरेको छ भन्ने कुरा बुझ्न जरुरी छ। अब त त्यो बुझ्न कठिन पनि छैन। ’ यसअघि भदौ १७ गते विवेकशीलका अध्यक्ष मिश्रको अध्यक्षतामा बसेको केन्द्रीय समितिको बैठकले पार्टीमा अवैध तथा समानान्तर गतिविधि नगर्न र गरे कारबाही गर्ने चेतावनी दिएको थियो। सो दिन अध्यक्ष मिश्र र संयोजक पाण्डेले छुट्टाछुट्टै केन्द्रीय समिति बैठक गरेका थिए।  

पार्टी एकीकरण गर्दा नौ महिनाअगाडि संविधानवादलाई पूर्णत पालना गर्ने भनिए पनि अध्यक्ष मिश्रले पालना नगरी मार्ग प्रशस्त गरेकोमा संयोजक पाण्डेले आपत्ति जनाएका थिए। ‘नौ महिनाअघि मात्र पार्टी एकीकरणको दस्ताबेजमा स्पष्ट रूपमा अग्रगामी पार्टी बनाउने, संविधानवादलाई पूर्णतः पालना गर्ने र हिजोका आन्दोलनका उपलब्धीको रक्षा गर्ने भनेर स्वयं रवीन्द्रजीले नै हस्ताक्षर गर्नुभएको छ,’ उनले विज्ञप्तिमा उल्लेख गरेका छन्। 

प्रकाशित: २१ भाद्र २०७८ ०६:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App