७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

बढ्यो कांग्रेस अधिवेशनको सरगर्मी, रामचन्द्र राईले गरे नगरसभापतिमा उम्मेद्वारी घोषणा

नेपाली कांग्रेस खोटाङका युवा नेता रामचन्द्र राईले कांग्रेसको आसन्न अधिवेशनमा दिक्तेल रुपाकोट मझुवागढी नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेका छन्। दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका वडाध्यक्ष रहेका राईले आइतबार हुर्लुङमा पत्रकार सम्मेलन गर्दै आगामी भदौ २७ गते हुने कांग्रेसको गाउँ/नगरपालिका निर्वाचनमा नगर सभापतिमा उठ्ने घोषणा गरेका हुन्।

कांग्रेसलाई बुढोको पार्टी भनिने आक्षेपलाई चिर्दै नेतृत्वमा पुगेर पार्टीको सदृढिकरणका लागि नगर सभापतिमा उम्मेद्वारी दिने घोषणा गरेको नेता राईले बताए। ‘कांग्रेसको नेतृत्वमा युवा पुग्नु पर्छ। यो युवाको पार्टी हो भनेर देखाउनु छ। नगरपालिकामा कांग्रेसको संगठनलाई सुदृढीकरण गर्ने र मजवुत बनाउने योजनासहित उम्मेद्वारी दिने निर्णय गरेको हुँ,’ पत्रकार सम्मेलनमा राईले भने, ‘हाम्रो भेगीय र जातीय सन्तुलन मिलाएर टिम बन्छ। पार्टीलाई फलाऔं, फूलाऔं भन्ने लक्ष्य छ। यसका लागि पार्टीलाई म जत्तिको युवा चाहिन्छ। यसका लागि सवै एंगलबाट म योग्य छु।’  

नगर सभापतिका प्रत्यासी राईले पत्रकार सम्मेलनमा कुनै पनि गुट/उपगुटकातर्फबाट उम्मेद्वारी नदिएको बताए। उनले ज्येष्ठ नेता तथा कार्यकर्ताको सम्मान गर्दै सवैलाई समेटेर संगठन मजवुत बनाउन अग्रसर हुने प्रतिवद्धता जनाएका छन्। स्थानीय तहको निर्वाचन अघिसम्म वडा कार्य समिति सभापतिको जिम्मेवारीमा रहेका राईले आफ्नो लागि अबको माथिल्लो र उपयुक्त पद पनि नगर सभापति भएको उल्लेख गरे। 

‘स्थानीय तहको निर्वाचनसम्म म वडा कार्य समितिको सभापति थिएँ। मेरोलागि अबको सुहाउँदो पद पनि नगरसभापति हो,’ राईले भने, ‘कतिपयले मलाई मेयरमा उठ्नका लागि नगर सभापतिमा दाबी गरेको भनिरहेका छन्। म मेयरमा उठ्नका लागि सभापति बन्न खोजेको होइन। संगठन मजवुत बनाउनका लागि नगरसभापतिमा मेरो उम्मेद्वारी हो। संगठन सुदृढ बनाउने योजनासहित मअघि सरेको छु।’  

रामचन्द्रले नेपाल विद्यार्थी संघको पशुपति क्याम्पसबाट २०६२ सालदेखि राजनीति सुरु गरेका हुन्। कुन्दनराज काफ्लेको प्रोत्साहनमा राजनीतिमा प्रवेश गरेको राईले बताए। जिल्लाकै ठूलो नगरपालिकाको सभापतिका लागि कांग्रेसभित्र प्रकाश श्रेष्ठ, इन्द्र घिमिरेलगायत आकांक्षी रहेको श्रोतले जनाएको छ।  

वडा अधिवेसन, गाउँ/नगरपालिका अधिवेसन, प्रदेश क्षेत्र क/ख अधिवेसन, संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय अधिवेसन नजिकिएसँगै कांग्रेसभित्र चुनावी सरगर्मी बढेको छ। कांग्रेसको वडा अधिवेसन भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेसन भदौ २७ गते, प्रदेश क्षेत्र क/ख अधिवेसन असोज १ गते, संघीय निर्वाचन क्षेत्रको अधिवेसन असोज ५ गते, जिल्ला अधिवेसन असोज १० गते, प्रदेश अधिवेसन असोज १२ गते र केन्द्रीय महाधिवेसन असोज १३ गते हुँदैछ।

प्रकाशित: १३ भाद्र २०७८ १०:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App