२६ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेको औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुन अनिवार्य

नेकपा एमालेले पार्टीका औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुनलाई अनिवार्य गरेको छ। एमाले ताप्लेजुङले शनिबार विधान संशोेधनबारे राय सुझाव संकलन गर्न आयोजना गरेको कार्यक्रममा पनि पार्टी निर्देशनअनुसार कार्यक्रम गरिएको छ। ‘केन्द्रीय निर्देशनअनुसार हामीले पार्टीका औपचारिक कार्यक्रममा राष्ट्रिय झण्डा र राष्ट्रिय धुनलाई अनिवार्य गरेका हौं,’ एमाले जिल्ला सचिव दीपेन पोमूले भने।  

नेकपा एमालेको २५ साउन २०७८ को केन्द्रीय कमिटी बैठकले पारित गरेको विधान संशोेधनसम्बन्धी प्रस्तावमा तल्ला तहका कमिटीको राय लिन छलफल कार्यक्रम गरिएको एमालेका केन्द्रीय सदस्य तिलकुमार मेन्याङ्वोले बताए। विधानको प्रस्तावना, परिभाषा, विधान महाधिवेशन र राष्ट्रिय महाधिवेशनसम्बन्धी व्यवस्था, केन्द्रीय कमिटी महाधिवेशन प्रतिनिधि परिषद्, केन्द्रीय अनुशासन,लेखा परीक्षण र निर्वाचन आयोगसम्बन्धी व्यवस्थासहितका विषयमा अगुवा कार्यकर्ताको सुझाव संकलन गरिएको एमाले केन्द्रीय सदस्य पासाङ शेर्पाले जानकारी दिए।

यस्तै प्रस्तावित विधानमा उल्लिखित सल्लाहकार परिषद् र जेष्ठ कम्युनिस्ट मञ्चसम्बन्धीको व्यवस्था, सामुदायिक कम्युनिस्ट मञ्च हटाउने व्यवस्था, प्रदेश कमिटी, स्थानीय कमिटी, संगठन कमिटी र संक्रमणकालीन पार्टी संगठन, संघीय संसद्, प्रदेशसभा र स्थानीय तहका निर्वाचित प्रतिनिधिलाई पार्टी कमिटी अनुरूप परिचालन गर्न विधान अद्यावधिक व्यवस्था, कार्यकारी व्यक्ति एउटै पदमा बढीमा दुई कार्यकालसम्म मात्र रहने पाउने, अध्यक्ष र सदस्य महाधिवेशन वा अधिवेशनबाट निर्वाचित हुनेसम्बन्धी व्यवस्थासहितका बारेमा एमालेले तल्ला कमिटी र अगुवा कार्यकर्ताको राय संकलन गरेको हो। कार्यक्रममा पूर्वराज्यमन्त्री ओङ्दी शेर्पा, सभासद् डम्बरध्वज तुम्बाहाम्फे, जिल्ला समन्वय समिति प्रमुख घनेन्द्र मादेन, फुङलिङ नगरप्रमुखसहितका स्थानीय तहका पदाधिकारी, एमाले प्रदेश कमिटीका सदस्य, प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन समन्वय कमिटीका पदाधिकारीको सहभागिता रहेको एमाले ताप्लेजुङका जिल्ला अध्यक्ष भूपेन्द्र थेबेले जानकारी दिए।  

तत्कालीन नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक कलह सिर्जनासँगै ताप्लेजुङमा नेकपाका दुईवटा कमिटी भए। तत्काल कायम रहेको कमिटीलाई छाड्दै नेकपा संस्थापन पक्षले थेबेलाई अध्यक्ष र पोमूलाई सचिवको जिम्मेवारी दिएको थियो। एमाले र माओवादी केन्द्र अलग–अलग हुने सर्र्वाेच्चको फैसलापछि पनि यहाँ एमालेका दुईवटा जिल्ला कमिटी र दुईवटा पार्टी कार्यालय कायम छन्। तत्कालीन एमालेको जिल्ला अधिवेशनबाट भने अध्यक्षमा बलबहादुर साम्सोहाङ र सचिवमा केशरकुमार मेन्याङ्वो सहितका पदाधिकारी निर्वाचित भएका थिए।

प्रकाशित: ६ भाद्र २०७८ ०१:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App