सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले आगामी माघ महिनाभित्र काठमाडौं उपत्यका र पोखरामा फाइभजी (5G) सेवा सञ्चालनमा ल्याउने घोषणा गरेका छन्।
आइतबार काठमाडौंमा तामाङ पत्रकार सङ्घले आयोजना गरेको ‘तामाङ मिडिया अवार्ड २०८२’ वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सरकारले तीव्र गतिको इन्टरनेट सेवा विस्तारलाई प्राथमिकतामा राखेको बताए।
उनले प्रधानमन्त्रीसँग भएको कार्यसम्पादन सम्झौतामा समेत माघभित्र फाइभजी सञ्चालन गर्ने उल्लेख भएको जानकारी दिए।
‘अस्ति प्रधानमन्त्रीसँग भएको मेरो कार्यसम्पादन सम्झौतामा माघ महिनाभित्र तपाईंले फाइभजी लन्च गर्नुपर्छ भन्ने छ,’ मन्त्री गुरुङले भने, ‘त्यसकारणले माघ महिनाभित्र म काठमाडौं भ्याली र पोखरामा फाइभजी लन्च गर्छु।’
उनले यो वर्ष काठमाडौं र पोखरामा परीक्षणको रुपमा सुरु गरिने र त्यसको नतिजा हेरेर क्रमशः अन्य महानगरपालिका र सहरहरूमा विस्तार गरिने योजना रहेको सुनाए।
मन्त्री गुरुङले फाइभजी सेवा फोरजीभन्दा दोब्बर छिटो र गुणस्तरीय हुने बताउँदै यसले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विकास र सञ्चालनमा समेत सहजता ल्याउने विश्वास व्यक्त गरे।
समारोहमा उनले दूरसञ्चार क्षेत्रमा प्रविधिको विकास तीव्र गतिमा भइरहेको सन्दर्भमा नेपालले पनि समयसापेक्ष आफूलाई अगाडि बढाउनुपर्नेमा जोड दिए। ‘हामी फाइभजीमा पुग्दा-नपुग्दै संसार सिक्सजीको तयारीमा लागिसक्यो,’ उनले भने, ‘हामी यसमा धेरै पछाडि परेका छौँ।’
साथै, उनले दूरसञ्चार क्षेत्रलाई व्यवस्थित गर्न नयाँ दूरसञ्चार ऐन ल्याउने प्रक्रिया अगाडि बढाएको पनि जानकारी दिए।
प्रकाशित: १ भाद्र २०८२ १७:२२ आइतबार





