coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

कांग्रेस महाधिवेशन: भदौमै गरौं, होइन मंसिरमा

नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरू पार्टीको १४औं महाधिवेशनको मितिलाई लिएर दुई धारमा देखिएका छन्। संस्थापन पक्षका केन्द्रीय सदस्य तिहारअघि सम्भव नभएको भन्दै मंसिरमा महाधिवेशन गर्नुपर्ने पक्षमा उभिएका छन्। कोरोना भाइरस संक्रमणको खतराका साथै क्रियाशील सदस्यता छानबिनसहितको काम बाँकी रहेकाले तिहारअघि महाधिवेशन सम्भव नरहेको उनीहरूको तर्क छ।

केन्द्रीय समितिको जारी बैठकमा शुक्रबार मीनबहादुर विश्वकर्मा, श्यामकुमार घिमिरे, बहादुर सिंह लामासहितका संस्थापन पक्षीय नेताले महाधिवेशन भदौमा सम्भव नरहेको जिकिर गरे। उनीहरूले महाधिवेशन मंसिरमा गर्न प्रस्ताव राख्दै कात्तिकमा तल्लो तहको अधिवेशन गर्नुपर्ने धारणा राखेका छन्। ‘भदौमा अब महाधिवेशन सम्भव छैन। रणनीतिको कुरा होइन, व्यावहारिक कुरा गरौं,’ केन्द्रीय सदस्य घिमिरेले बैठकमा भने, ‘कात्तिकमा अधिवेशन सुरु गरेर मंसिरमा महाधिवेशन सकौ।’

कानुनी उपचारबाटै महाधिवेशन सार्न सकिने तर्क गर्दै अर्का केन्द्रीय सदस्य विश्वकर्माले भने, ‘अहिले कोरोना महामारी छ। यस्तो बेला सर्वोच्च अदालतबाट कांग्रेसको महाधिवेशन सार्न सकिन्छ।’ बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले निर्वाचन समितिले क्रियाशील सदस्यता र निर्वाचन निर्देशिका टुंगो लागेको ७६ दिनपछि मात्र महाधिवेशन गर्न सकिने प्रस्ताव पठाएको सुनाएका थिए।

संस्थापन इतरका केन्द्रीय सदस्य भने भदौमा महाधिवेशन सम्भव रहेको भन्दै सभापति शेरबहादुर देउवाप्रति आक्रामकरुपमा प्रस्तुत भएका छन्। केन्द्रीय सदस्यहरू प्रकाशमान सिंह, रामशरण महत, बलबहादुर केसी, शेखर कोइराला, बद्री पाण्डे, रामकृष्ण यादवसहितले प्रक्रिया छोट्याएर भदौमै महाधिवेशन गर्न सकिने धारणा राखेका हुन् । सभापति देउवा र संस्थापन पक्षका कारण पार्टी संवैधानिक संकटमा फस्न लागेको आरोप लगाउँदै उनीहरूले असन्तुष्टि जनाए।

केन्द्रीय सदस्य सिंहले भदौभित्र महाधिवेशन सक्नुपर्ने जिकिर गर्दै यसका लागि जुट्न सभापति देउवालाई आग्रह गरे। केन्द्रीय सदस्य कोइरालाले पनि भदौभित्र महाधिवेशन सक्नुपर्नेमा जोड दिए। कांग्रेसको महाधिवेशन पार्टी नेतृत्व चयनको मात्र विषय नभएको भन्दै कोइरालाले मुलुकको भविष्य कता कसरी जान्छ भन्ने महाधिवेशनले निर्धारण गर्ने बताए । ‘यसमा देशवासीको चासो र चिन्ता त छ नै, अन्तर्राष्ट्रिय समुदायको पनि हामीप्रति दृष्टि छ,’ कोइरालाले भने, ‘कांग्रेसको १४औं महाधिवेशनको संघारमा एकताबद्ध भएर हामीप्रति भरोसा र विश्वास गर्नेको मन जित्न सके नेपालमा लोकतन्त्रको भविष्य सुन्दर हुनेछ।’  

विशेष महाधिवेशन र म्याद थप्ने कुरा मान्य नहुने भन्दै उनले थपे, ‘छिटोभन्दा छिटो क्रियाशील सदस्यताको समस्या टुंग्याएर डेढ–दुई महिनाभित्र महाधिवेशन सम्पन्न गरिनुपर्छ।’

स्थानीय र आम निर्वाचनपछि पार्टीको महाधिवेशन गर्न सके राम्रो हुने भए पनि अब त्यो सम्भव नभएको भन्दै पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले मंसिरसम्म महाधिवेशन टुंगो लगाउनेगरी तयारी थाल्नुपर्ने धारणा राखेको एक सदस्यले जानकारी दिए। क्रियाशील सदस्यताको बाँकी विवाद रमेश लेखक नेतृत्व समितिलाई नै टुंगो लगाउने जिम्मेवारी दिनुपर्ने भन्दै सिटौलाले संगठन समायोजन गर्दा १३औं महाधिवेशनको सतप्रतिशतभन्दा बढी सदस्यता नबढ्ने गरी विवाद समाधान गरेर जानुपर्ने धारणा राखेका थिए। सभापति देउवा भने महाधिवेशनका लागि अब धेरै ढिलो गर्न नहुने पक्षमा रहेको एक नेताले बताए। ‘सभापति भदौ तेस्रो साताभित्र तल्लो तहको अधिवेशन सुरु गरेर दसैंअघि महाधिवेशन सम्पन्न गर्नुपर्ने पक्षमा हुनुहुन्छ’, उनले भने। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले केन्द्रीय सदस्यहरूको धारणा सुनिसकेपछि सबैको धारणा समेटेर महाधिवेशनको कार्यतालिका बनाउने बताए। बैठक शनिबार पनि बस्नेछ।

आमन्त्रितको राजीनामा

कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरूले आफूहरूमाथि भेदभाव भएको भन्दै राजीनामा घोषणा गरेका छन्। पदाधिकारी, केन्द्रीय सदस्य, जिल्ला र क्षेत्रीय सभापति स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था रहेको तर आमन्त्रित केन्द्रीय सदस्य भने महाधिवेशन प्रतिनिधि हुन वडाबाट चुनाव लडेर आउनुपर्ने नीतिले भेदभाव भएको उनीहरूको तर्क छ । उक्त नीति सच्याउन माग गर्दै आमन्त्रित सदस्यहरूले राजीनामा गरेका हुन्। सभापति देउवाले उनीहरूको माग सम्बोधन गर्ने आश्वासन दिएका छन् तर नेता रामचन्द्र पौडेल विपक्षमा देखिएका छन्।

प्रकाशित: ३० श्रावण २०७८ ००:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App