१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कृषि मन्त्रालय नेतृत्वविहीन, अन्यमा पनि महत्वपूर्ण पद खाली

कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एकै समयमा मन्त्री, सचिव, महाशाखा प्रमुख, प्रवक्ता तथा सहायक प्रवक्ता पद खाली भएको छ। मन्त्री, सचिव तथा महाशाखा प्रमुख नहुँदा काम गर्न अप्ठ्यारो भएको मन्त्रालयका कर्मचारीको गुनासो छ। कृषिसचिव योगेन्द्र कार्कीले अवकाश लिएपछि कृषि मन्त्रालयमा सचिव पद खाली छ। पशुपन्छी विकास सचिव डा. कृष्णप्रसाद आर्यालले सचिवको रूपमा कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा एक्लै जिम्मेवारी लिएका छन्।

कृषि तथा पशुविकास मन्त्रालयमा कृषितर्फ एक र पशुपन्छी विकास एक गरी दुईजना सचिव कार्यरत रहने व्यवस्था छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा हाल खाद्य सुरक्षा महाशाखा, कृषि विकास महाशाखा तथा पशु स्वास्थ्य महाशाखामा महाशाखा प्रमुख पद खाली छ। महाशाखा प्रमुख नहुँदा अन्य महाशाखाका प्रमुखलाई खाली भएका महाशाखाको जिम्मेवारी हेर्न दिइएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सातजना सहसचिवको दरबन्दी छ। हाल चारजना सहसचिव मात्र सेवारत छन्।  

कृषि मन्त्रालयमा मन्त्री तोकिएको छैन। मन्त्री नहुँदा प्रधानमन्त्रीले कृषिको जिम्मेवारी हेरेका छन्। मन्त्रालायमा मन्त्री मात्र छैनन्, प्रवक्ता र सहायक प्रवक्ता पनि छैनन्। सबै महाशाखमा महाशाखा प्रमुख नहुँदा प्रवक्ता तथा सहायक प्रवक्ता नतोकिएको मन्त्रालयका कर्मचारीहरूको भनाइ छ।  

मन्त्री, सचिव, तथा महाशाखा प्रमुख नै नहुँदा कृषिसँग सम्बन्धित कुनै ठूलो विषयमा निर्णय गर्नुप¥यो भने अथवा अन्य मन्त्रालयसँग समन्वय गर्नुपर्ने भयो भने समन्वय र जिम्मेवारी लिने उच्च कर्मचारीको अभाव हुने कृषिमा कार्यरत कर्मचारीहरू बताउँछन्। पशुपन्छी सचिव डा. कृष्णप्रसाद आचार्यले मन्त्री नहुँदा काम गर्न अप्ठ्यारो भएको बताए। ‘मन्त्री नहुँदा स्वाभाविक रूपमा काम गर्न अप्ठ्यारो परेको छ,’ आचार्यले भने, ‘कृषि तथा पशुपन्छी विकासमा अहिले मन्त्री, एक सचिव र ३ महाशाखा प्रमुख नै हुनुहुन्न। यसबाट अप्ठ्यारो हुन्छ नै।’

महाशाखा प्रमुखको अभावको भएको विषयमा भने लोकसेवा आयोगले समयमा विज्ञापन नखुलाउँदा समस्या परेको सुनाए। ‘सृुरुमा कुन समूहको विज्ञापन खुलाउने भन्ने विषयमा अन्यौल रह्यो। पछि आयोगले विज्ञापन खुलाउन ढिलो गर्‍यो,’ आचार्यले भने, ‘अब विज्ञापन खुलाउन आन्तरिक तयारी भइरहेको छ।’

कृषि तथा पशुपन्छी विकास मन्त्रालय जस्तै र सूचना तथा सञ्चार मन्त्रालयमा पनि यस्तै समस्या छ। रक्षा र सञ्चार मन्त्रालयमा मन्त्री मात्र छैनन् सचिव पद पनि खाली छ। रक्षासचिव रेश्मीराज पाण्डेले गत असारमा अवकाश पाएका थिए। उनले अवकाश पाए पछि रक्षामा सचिव पद रिक्त छ। यसैगरी सञ्चार सचिव हरि बस्यालले अवकाश लिए पछि सञ्चारमा पनि सचिव पद रिक्त भएको हो। स्वास्थ्य मन्त्रालयमा भने मन्त्री र एक सचिव पद खाली छ। 

केही दिनअघि स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन्। स्वास्थ्य सचिव लक्ष्मण अर्याललाई सरकारले प्रधानमन्त्री कार्यालयमा तानेपछि स्वास्थ्यमा एक सचिव पद रिक्त छ। स्वास्थ्य मन्त्रालयमा हाल स्वास्थ्य सेवाकै डा. रोशन पोखरेल मात्र सचिवको रूपमा कार्यरत छन्। सरकारले बढुवा भएका सचिवहरूलाई पदस्थापन गर्न नगर्दा मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालयमा नौजना सचिव थोपरिएका छन्, जबकी विभिन्न मन्त्रालयमा पाँच सचिवको पद रिक्त रहेका छ।  

प्रधानमन्त्री कार्यालयमा हाल सचिवमा शिशिर ढुंगाना, लक्ष्मण अर्याल, वैकुण्ठ अर्याल र धनराज ज्ञवाली कार्यरत छन्। यसैगरी पाँचजना सचिव अतिरिक्त समूहमा प्रधानमन्त्री कार्यालयमै कार्यरत छन्। अतिरिक्त समूहमा प्रधानमन्त्री कार्यालयमा राखिएका सचिवहरूमा कृष्णहरि पुष्कर कर्ण, खगेन्द्रप्रसाद नेपाल, किरणराज शर्मा, रामप्रसाद घिमिरे र हरि मैनाली हुन्।

प्रकाशित: २४ श्रावण २०७८ ०१:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App