१३ मंसिर २०८१ बिहीबार
image/svg+xml
राजनीति

मधेशका गृहमन्त्री भन्छन्: अनुगमनमा निस्किँदा प्रहरीहरू सुतिरहेको देखेँ, लाज लाग्यो

.

मधेस प्रदेशका गृह, सञ्चार तथा कानूनमन्त्री राजकुमार लेखीले अझै पनि आम नागरिकले प्रहरी प्रशासन छ भन्ने अनुभूति गर्न नपाएको बताएका छन्।

बिहीबार जनकपुरमा मधेस प्रदेशमा लैंगिक समानताको सवालबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखीले देशमा प्रहरी प्रशासन भएपनि प्रहरी प्रशासनको उपस्थिति रहेको महसुस आम नागरिकले गर्न नसकेको बताएका हुन्।

उनले कार्यालय समयमा प्रहरीहरू निदाएर बसेको आफूले विभिन्न जिल्लाको अनुगमनका क्रममा भेट्टाएको सुनाए। आफू सशस्त्र प्रहरीको काम कर्तव्यबाट असन्तुष्ट रहेको उनले जनाए।

उनले भने, ‘हाम्रो देशमा प्रहरी प्रशासन त छ तर त्यसको उपस्थिति समुदायले अनुभव गरिरहेको छैन। हिजो नौ बजे म एउटा प्रहरी चौकीमा पुगेँ, प्रहरीहरू निदाइरहेका, सुतिरहेका थिए। आधा दर्जन सुरक्षाकर्मीहरू। हामी लैंगिक हिंसाको अन्त्यको कुरा गर्दैछौँ, हाम्रा सुरक्षाकर्मीहरू पनि त्यत्तिकै जिम्मेवार छन्, यो विषयमा। तर उनीहरुको अवस्था हिजो हेर्दा उदेक लाग्यो। यस्तै हो भने सुरक्षा अधिकारका लागि हामी बजेट किन दिने ? म सशस्त्र प्रहरीको काम कर्तव्यबाट असन्तुष्ट छु। तर नेपाल प्रहरीको अवस्था देख्दा लाज लाग्यो। लैंगिक हिंसा अन्त्यका निम्ति पनि, दहेज प्रथा अन्त्य, बालविवाह अन्त्यका निम्ति पनि, समाजमा रहेका विकृति, विसंगति अन्त्यका निम्ति सुरक्षा निकाय त्यत्तिकै जिम्मेवार बन्नुपर्छ।’

उनले लैंगिक हिंसाको अन्त्य गर्नका लागि सुरक्षा निकायको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण रहेको बताए। लैंगिक हिंसा अन्त्य, दाइजो प्रथा, बालविवाह अन्त्यका निम्ति र समाजमा रहेका विकृति, विसंगति अन्त्यका निम्ति सुरक्षा निकाय त्यत्तिकै जिम्मेवार बन्नुपर्नेमा उनले जोड दिए।

प्रकाशित: १३ मंसिर २०८१ १६:१८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App