८ वैशाख २०८१ शनिबार
राजनीति

क्रियाशील सदस्यतामै अलमलियो कांग्रेस

नेपाली कांग्रेसभित्र पार्टीको क्रियाशील सदस्यता विवाद पेचिलो बन्न पुगेको छ। केन्द्रीय सदस्य रमेश लेखक नेतृत्वको समितिले टुंगो लगाएका सदस्यतामा समेत शीर्ष नेताहरूबाट प्रश्न उठेपछि शीर्ष नेताहरू नै छलफलमा जुटेका छन्।  

सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेलसहितका नेताबीच बुधबार भएको छलफलमा २/३ दिनभित्र विवाद समाधान गर्ने सहमति भएको छ। तर संगठन समायोजनका नाममा संस्थापन पक्षले जथाभावी सदस्यता वितरण गरेको र त्यस्ता सदस्यता कुनै पनि हालतमा मान्य नहुने अडान संस्थापन इतर पक्षले राखेपछि समस्या समाधान असहज देखिएको छ। संस्थापन पक्षले भने समायोजन समितिबाट टुंगो लगाएको विषय सदस्यता छानबिन समितिलाई हेर्ने अधिकार नभएको तर्क गरेको छ।

नेताहरूबीच समस्या समाधान गर्न छलफललाई निरन्तरता दिने समझदारी पनि भएको छानबिन समितिका संयोजक लेखकले बताए। उनले भने, ‘यसले निरन्तरता पाउँछ र दुई/तीन दिनभित्र टुंगिन्छ।’ सदस्यता विवाद टुंगो नलाग्दा भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने भनिएको १४औं महाधिवेशन अनिश्चित बनेको छ। स्थानीय तहको अधिवेशनको कार्यतालिका प्रभावित भइसकेको छ। संवैधानिक समयसीमाअनुसार कांग्रेसले भदौभित्र महाधिवेशन गरिसक्नुपर्ने बाध्यता भएपछि कांग्रेस नेताहरू विकल्प खोज्न निर्वाचन आयोगका पदाधिकारीसँग संवादमा छन्। कानुनमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले प्रमुख निर्वाचन आयुक्तसँग यस विषयमा केही दिनअघि छलफल गरिसकेका छन्।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले कोरोना भाइरस संक्रमण सुरु भएपछिको चार महिनालाई सर्वोच्चले नै शून्य समय मानेको भन्दै कांग्रेसलाई महाधिवेशन गर्न मंसिरसम्मको समय रहेको बताएको स्रोतको दाबी छ। उक्त व्यवस्थालाई नलिए पनि एउटा तहको अधिवेशन सुरु गरेपछि महाधिवेशन जहिले टुंगो लगाए पनि हुनेगरी कानुनका छिद्राबारे समेत सुझाएको स्रोतले बतायो। तर पौडेलसहित संस्थापन इतर समूहले भदौपछि वर्तमान कार्यसमितिको औचित्य सकिने दाबी गर्दै आएका छन्। पौडेलले बुधबारको बैठकमा पनि यही भनाइ दोहो¥याएका छन्।

प्रकाशित: २१ श्रावण २०७८ ०१:४२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App