८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

असमबाट प्रदान गरिने अन्तर्राष्ट्रिय पुरस्कार प्राडा देवी नेपाललाई

भारतको असम राज्यमा रहेको उच्च साहित्यिक संस्था असम नेपाली साहित्य सभाले ‘निरु शर्मा पराजुली अन्तर्राष्ट्रिय साहित्य पुरस्कार’को घोषणा गरेको छ।

नेपाली तथा असमी दुवै भाषामा बराबर कलम चलाउने बहुमुखी प्रतिभा निरु शर्मा पराजुलीको गत वर्ष निधन भएपछि उनका श्रीमान् गोवाहाटी उच्च अदालतका सरकारी वकिल जयन्तकुमार पराजुलीद्वारा स्थापित उक्त पुरस्कार पहिलोपटक नेपालका स्रष्टा एवं समालोचक प्राडा देवी नेपाललाई प्रदान गर्न लागिएको हो।

असम नेपाली साहित्य सभाद्वारा गठित नव सापकोटा (असम), डा. जीवन राणा (दार्जिलिङ) र चन्द्र भण्डारी (नेपाल) रहेको तीन सदस्यीय प्रतिभा चयन समितिले डा. नेपालको नाम प्रस्ताव गरेपछि सभाले उक्त निर्णय गरेको हो।

सिर्जना, समालोचना, बालसाहित्य, सिर्जनात्मक लेखन प्रशिक्षण तथा विभिन्न प्राज्ञिक कर्महरूको उच्च मूल्याङ्कन गरी डा. नेपाललाई पहिलोपटक यो पुरस्कार प्रदान गर्न लागिएको जानकारी सभाका सभापति दुर्गा खतिवडा, कार्यकारिणी सभापति डा. चिन्तामणि शर्मा र मूलसचिव मदन थापाबाट प्रेषित पत्रबाट प्राप्त भएको छ।

भारतीय रुपियाँ ६०,००० (नेरु एक लाख) नगदसहितको उक्त पुरस्कार आगामी डिसेम्बर ५ देखि ८ सम्म उपल्लो असमको गोलाघाट जिल्लामा रहेको सरुपथार शहरमा आयोजना हुने असम नेपाली साहित्य सभाको साेह्राै महाधिवेशन तथा स्वर्णजयन्ती समापन समारोहमा असम राज्यका मुख्यमन्त्री डा. हिमन्त विश्व शर्मा र सिक्किम राज्यका मुख्यमन्त्री प्रेमसिङ तामाङ (पिएस गोले) को हातबाट प्रदान गरिने जानकारी प्राप्त भएको छ।

असम नेपाली साहित्य सभाले सार्वजनिक गरेको कार्यसूचीअनुसार उल्लिखित चार दिनमा सभाको साेह्राैं महाधिवेशन तथा स्वर्णजयन्ती समारोहका साथै विभिन्न सांस्कृतिक झाँकीहरूको प्रदर्शन, नेपाली भाषामा एकरूपता सम्बन्धी अन्तर्राष्ट्रिय सङ्गोष्ठी, अन्तर्राष्ट्रिय कवि सम्मेलन, राष्ट्रिय युवा साहित्यकार सम्मेलन, सांस्कृतिक साँझ, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार अर्पण तथा स्रष्टा सम्मानका साथ भव्य समापनजस्ता कार्यक्रमहरू रहेका छन्।

भारतका विभिन्न क्षेत्रमा रहेका साहित्यिक सङ्घसंस्थाका प्रतिनिधिहरू, नेपाली भाषा साहित्य एवं संस्कृतिकर्मीहरू, भाषासङ्ग्रामीहरू तथा भाषाप्रेमीहरूको उल्लेखनीय उपस्थिति रहने उक्त समारोहमा नेपालबाट नेपाल प्रज्ञाप्रतिष्ठानका उपकुलपति विमल निभा, प्राडा गोविन्दराज भट्टराई, शरच्चन्द्र वस्ती, चन्द्र भण्डारी, विमल वैद्य, दीपक सुवेदी, विष्णु न्यौपाने, डा. गोपीकृष्ण खतिवडा, भगवती ढुङ्गेल, भरत गुरागाईं बर्बरिक, दुर्गा सिग्देल, तुलसीप्रसाद भट्टराई, प्रिन्स प्रमोद ढकाल लगायत अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत प्रतिभा प्राडा देवी नेपाल र श्रीमती टीका पौडेल र अन्य केही साहित्यकारहरूका साथै बिर्तामोडको पञ्चेबाजा समूहको समेत सहभागिता रहने कुराको जानकारी सभाका मूलसचिव मदन थापाले दिएका छन्।    

प्रकाशित: ८ मंसिर २०८१ १०:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App