१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

दार्चुला घटनाको प्रतिवेदन नआउँदासम्म सरकारले कुनै राय दिन मिल्दैनः गृहमन्त्री

गृहमन्त्री बालकृष्ण खाँणले दार्चुलामा तुइन तर्ने क्रममा महाकाली नदीमा खसेर बेपत्ता भएका व्यक्तिको सम्बन्धमा छानविन समितिको प्रतिवेदन नआउँदासम्म सरकारले कुनै राय दिन नमिल्ने बताएका छन्।

सोमबार राष्ट्रिय सभा बैठकमा बोल्दै गृहमन्त्री खाँणले यस घटनाको सम्बन्धमा छानविन समिति गठन गरिसकिएको जानकारी दिँदै छानविन समितिको प्रतिवेदन आउनु अघि सरकारले कुनै राय दिन नमिल्ने बताएका हुन्। उनले छानविन समितिको प्रतिवेदनको आधारमा सरकार जुनसुकै प्रकारको निर्णय लिने उनले बताए।  

‘हामी आफैले छानविन समिति बनाइरहेको अवस्थामा छानविनमा प्रभाव पार्नेगरी हामीले आफ्नो कुनै राय दिन मिलेन', उनले भने, 'छानविनबाट प्रतिवेदन आइसकेपछि घटनाको सत्यतथ्य प्रतिवेदन आइसकेपछि त्यो प्रतिवेदनमा उल्लेख भएका कुराहरुको लागि हामी जुनसुकै अडान लिनपनि तयार छौँ।'

उनले साउन १५ गते व्यास गाउँपालिका वडा नं. २ बस्ने जयसिंह धामीको तुइन तर्ने क्रममा महाकाली नदीमा झरी बेपत्ता भएको घटना दुःखद् र संवेदनशील रहेको बताए। उनले सोही दिन गृह मन्त्रालयको निर्देशनमा जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट उक्त घटनाको सम्बन्धमा वास्तबिक सत्यतथ्य छानविन गर्न सशस्त्र प्रहरी बल नेपाल गण ४४, प्रहरी नायब उपरीक्षक विजयसिंह धामी, जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षक नरेन्द्रबहादुर चन्द, र राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालयका विक्रमसिंह ढाँडसहित ३ जनाको टोलीले स्थलगत छानविनको लागि घटनास्थलमा खटिएको बताए।  

त्यस्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढस्थित जिल्लाधिकारीलाई उक्त घटनाको सम्बन्धमा ध्यानाकर्षण गराउँदै पत्राचार गरेको पनि उनले जानकारी दिए। जयसिंह धामी भन्दा अगाडि उक्त स्थानको तुइन तरी भारततर्फ पुगेका बहादुरसिंह धामी, अमरसिंह धामी, गौरसिंह धामी र मणिराम सिंह धामीसँग सोधपुछ भइरहेको छ तथा तुइन तर्न बाँकी अनिता धामी, विक्रम राम कोली र कल्याण धामीलाई बुझ्नको लागि जिल्ला सदरमुकाम बोलाइएको सशस्त्र प्रहरी बल नेपाल सिमा सुरक्षाका पाँच वटा बेसबाट खोज तलासको काम भइरहेको र बैतडी र कञ्चनपुर जिल्लाको स्थानीय तहबाट पनि खोज तलासमा समन्वय गर्ने काम भइरहेको उनले जानकारी दिए।  

त्यस्तै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको संयोजकत्वमा नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक पुरुषोत्तम कँडेल, सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक सुरेश कुमार श्रेष्ठ, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुत्तराज थापा, जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी जोत्सना भट्ट जोशी समेत ५ जना रहने गरी स्थलगत रुपमा सत्यतथ्य छानविन गरी १० दिनभित्र प्रतिवेदन पेश गर्ने गरी छानविन समिति गठन गरी घटनास्थल तर्फ पठाइसकिएको पनि उनले बताए।

प्रकाशित: १८ श्रावण २०७८ ०९:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App