९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

करको विरोधमा हुलाकी राजमार्ग अवरुद्ध गर्दै आन्दोलनमा उत्रिए व्यवसायी

आन्दोलनमा उत्रिएका व्यवसायी।

ढुवानी व्यवसायीहरूले विभिन्न कर खारेजीको माग गर्दै आइतबार बिहानैदेखि मानवत-मटिअर्वा हुलाकी राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन्।

स्थानीय तहहरूले सवारी करलगायत विभिन्न कर असुली गरिरहेको विरोधमा व्यवसायीहरू आन्दोलनमा उत्रिएका हुन्।

व्यवसायी ओमशंकर साहका अनुसार एउटै ढुवानी साधनबाट विभिन्न पाँच स्थानीय तहहरूले कर असुल गर्दा गम्भीर समस्या उत्पन्न भएको छ। ‘करको नाममा असुली भइरहेकाले सडकमा गाडी गुडाउन नसकिने अवस्था आएको छ,’ साहले भने, ‘त्यसैले बाध्य भएर राजमार्ग अवरुद्ध गरी आन्दोलन गरेका हौं।’

बाराका १६ स्थानीय तहहरूमध्ये निजगढ नगरपालिका, जीतपुरसिमरा उपमहानगरपालिका, कलैया उपमहानगरपालिका, कोल्हवी नगरपालिका र प्रसौनी गाउँपालिकाले सवारी कर असुली गर्दा एउटै सवारी साधनबाट हजारभन्दा बढी रकम असुलिनु अन्यायपूर्ण भएको व्यवसायीहरूको गुनासो छ।

स्थानीय तहहरूले असुली गरिरहेका कर तत्काल खारेज नभए गाडीहरू सडकमा रोकेर प्रमुख जिल्ला अधिकारीलाई गाडीको साँचो बुझाउने व्यवसायीहरूले चेतावनी दिएका छन्।

व्यवसायीहरूले कलैया उपमहानगरपालिका–२, औधापुरस्थित हनुमान मन्दिर नजिक हुलाकी राजमार्ग अवरुद्ध गरी प्रदर्शन जारी राखेका छन्।

प्रकाशित: ९ मंसिर २०८१ १८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App