९ मंसिर २०८१ आइतबार
image/svg+xml
समाज

विपन्नको शव अस्पतालमा बन्धक, सिडिओको फोनपछि उधारोमा हस्तान्तरण

.

मृतक डुडुवा–६, बकौलीकी सुखरानी चमार । तस्बिर: नागरिक

नेपालगन्ज मेडिकल कलेज नेपालगन्जमा आइतबार बिहान ३ः१५ बजेतिर डुडुवा–६, बकौलीकी सुखरानी चमारको मृत्यु भयो। सिकिस्त बिरामी भएपछि उनी उपचारका लागि गत आइतबार अस्पताल पुगेकी थिइन्।

चिकित्सकले अधिकतम प्रयास गर्दा पनि उनलाई बचाउन भने सकिएन। अस्पतालले उनलाई बचाउन त सकेन तर, उनको उपचारका लागि लागेको पैसा नहुँदासम्म आफन्तले उनको शव समेत समयमै पाउन सकेनन्।

विपन्न परिवारकी उनको शव आफन्तले पाउन प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाल रिजालसम्म हारगुहार गर्नु पर्‍यो। उपचारमा खर्च भएको एक लाख रुपैयाँ मृतकका परिवारले तत्काल जुटाउन नसक्दा शव अस्पतालले नदिएको दाबी गरेका छन्।

उनीहरुको दाबीलाई प्रमुख जिल्ला अधिकारीले मृतकका परिवारलाई शव उपलब्ध गराउन गरेको प्रयासले पुष्टि गर्छ। यदि यो दाबी सत्य नहुँदो तः प्रमुख जिल्ला अधिकारीले अस्पताल प्रशासनलाई शव मृतक परिवारलाई बुझाउन अनुरोध गर्नुपर्ने अवस्था आउने थिएन।

अस्पतालले मृतकको शव आफन्तलाई बुझाउन नमानेपछि प्रमुख जिल्ला अधिकारी रिजालले अस्पताल प्रशासनलाई भनेका थिए, ‘मृतक विपन्न हुन्। तत्काल उहाँको शव आफन्तलाई बुझाइ दिनु पर्‍यो। आवश्यक पैसा व्यवस्थापन गरौँला।’

प्रमुख जिल्ला अधिकारी रिजालसँग भएको यो कुरालाई अस्पताल प्रशासन अधिकृत कुमार अधिकारीले पनि स्वीकार गरे। ‘सिडिओले फोन गर्नु भएको थियो,’ उनले भने, ‘अहिलेलाई उधारोमा शव बुझाइ दिनु पर्‍यो भनेर सिडिओले भन्नु भएको थियो। हामीले तत्काल उहाँको शव बुझाइ दिएका थियौं।’

उनका अनुसार मृतकका परिवारलाई अस्पतालले उधारोमा शव लिनेकी छुट लिएर आउने बाँकी पैसा बुझाएर शव उठाउने भन्ने दुई विकल्प अघि सारेको थियो। पछि मृतकका परिवारले २५ प्रतिशत छुट लिएर शव उठाउने सहमति जनाएका थिए र सोही अनुसार पैसाको व्यवस्थापन गरेर शव बुझेका थिए। बिहान ३ः१५ बजे मृत्यु भएको शवलाई उनीहरुले करिब साढे १२ बजेतिर बुझेका थिए।

उक्त शव उठाउने पैसा साथीसंगीसँग ऋण लिएको मानवअधिकारकर्मी रुबी खानले बताइन्। ‘अस्पतालले पैसा नदिँदासम्म शव उठाउन दिएन,’ उनले भनिन्, ‘हामीसँग तत्काल अस्पताललाई दिने पैसा पनि थिएन। साथीभाइसँग ऋण कारेर पैसा तिरेका छौं।’

उनले सहयोगका लागि अपिलसमेत गरेकी थिइन्। केही रकम सहयोग सङ्कलन भएको पनि उनले बताइन्। मृतक परिवारलाई शव नबुझाउनु अस्पतालको अमानवीय व्यवहार भएको उनको भनाइ छ।

सरकारले १० प्रतिशत विपन्नलाई अस्पतालले उपचारमा छुट दिने निर्देशन गरेको छ। तर, अस्पतालले विपन्न वर्गका करिब ३५ प्रतिशतलाई छुटको व्यवस्था गरिरहेको अस्पतालले जनाएको छ।

अधिकांशको गुनासो छ, ‘अस्पतालले विपन्नलाई होइन, जुन शक्तिमा उसका आफन्तलाई छुट हुन्छ र उपचार गर्दा राम्रो रेखदेख हुन्छ।’

चमार पछिल्लो समय निर्मला कुर्मीको न्यायका लागि आन्दोलनरत थिइन्। ‘आन्दोलनको एउटा इँटा गुमाएका छौं,’ अधिकारकर्मी खानले भनिन्, ‘न्यायको लडाइँ अझै बाँकी छ।’

प्रकाशित: ९ मंसिर २०८१ १९:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App