coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

उपकुलपति सिंहको राजीनामा माग

प्रजातन्त्रवादी प्रध्यापक संघ मध्यपश्चिम विश्वविद्यालयले उपकुलपति प्रा.डा. नन्दबहादुर सिंहको राजीनामा माग गरेको छ। उपकुलपति सिंहले प्रधानमन्त्री एवम् विश्वविद्यालयका कुलपति शेरबहादुर देउवालाई आफूले संसदीय भाषामा कुलपति मानेपनि आफ्नो कुलपति केपी ओली भएको बताएका थिए। ओली निकटका विद्यार्थीहरुसँगको छलफल कार्यक्रममा सिंहले आफू एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवादको पक्षधर भएको बताएका थिए।  

‘प्रधानमन्त्री एवम् कुलपति शेरबहादुर देउवाप्रतिको उपकुलपति प्रा.डा. सिंहले दिएको अभिव्यक्तिले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,’ अध्यक्ष रुपेश खत्रीले शुक्रबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यस्तो अभिव्यक्ति उपकुलपतिको मर्यादा र आचरण विपरित भएकाले नैतिकताका आधारमा तत्काल राजीनामा दिन जोडदार माग गर्दछौं।’

विज्ञप्तिमा उपकुलपति सिंहले विश्वविद्यालयलाई पार्टीको विचार राख्ने थलोका रुपमा प्रयोग गरेको आरोप पनि लगाइएको छ। ‘आफ्नालाई एमाले पार्टी, केपी ओली र जनताको बहुदलीय जनवाद महत्वपूर्ण रहेको भन्दै सडक आन्दोलनको विकल्प नभएको अभिव्यक्ति दिनुले उपकुलपति विश्वविद्यालयलाई पार्टीको विचार राख्ने थलोको रुपमा विकास गर्न लागेको आभाष हुन्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यस्ता अभिव्यक्ति नैतिक आचारसंहिताको ठाडो उल्लंघन भएको संघको ठम्याई छ।’

उपकुलपति सिंहले सार्वजनिक भएको अडियोलाई ‘एनिमेटेड’ भनेका छन्। संघले अडियोको परीक्षण गर्न पनि माग गरेको छ। ‘उपकुलपति सिंहले दावी गरेझैं यी अभिव्यक्तिहरु एनिमेटेड हुन् भने तत्काल परीक्षण गरेर सत्यतथ्य बाहिर ल्याउन माग गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उपकुलपतिजस्तो गरिमामय पदमा बसेर पार्टी राजनीति गर्ने र कुलपति एवम् प्रधानमन्त्रीविरुद्ध अभिव्यक्ति दिने छुट कसैलाई हुँदैन।’

एमाले अध्यक्ष ओली निकटका विद्यार्थीहरुसँगको छलफल कार्यक्रममा उपकुलपति सिंहले ओलीले लिएको तीन वर्षको राष्ट्रवादी आन्दोलन, त्यसको एकीकृत मनोभावनालाई लिएर जनताको बीचमा जानु आवश्यक रहेको बताएका थिए। ‘हामी सशक्त भएनौं भने हामीसँग लागेका मानिसहरु भड्किन सक्छन्, आगामी चुनावका लागि त्यो खतरा हुनसक्छ,’ सार्वजनिक भएको अडियोमा उपकुलपति सिंहले भनेका छन्, ‘हामी संघर्षशील छौं, संगठनको झण्डा लिएर सडकमा जानु आवश्यक छ, अखिल, युवा संघ, शिक्षक, विद्यार्थी, मजदूरलगायतका पार्टीका संगठन एक–एक महिना सडकमा आउँदा ९–१० महिनासम्म सबैको ध्यान तान्न सक्छौं, जनता हाम्रो पक्षमा रहिरहन्छन्।’

प्रकाशित: १५ श्रावण २०७८ १३:३३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App