११ कार्तिक २०७८ बिहीबार
राजनीति

एक्ला वृहस्पति

टिप्पणी

पुन: स्थापित प्रतिनिधिसभाको आइतबारको बैठकमा सधैंभन्दा भिन्न एउटा दृश्य देखियो– अघिल्लो बेन्चमा देखिने सुपरिचित अनुहार त्यहाँ थिएन। अर्थात् भर्खरै सरकारबाट हटेर प्रमुख विपक्षीको स्थानमा पुगेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले सबैभन्दा पछिल्लो बेन्चलाई रोजे।

नेता नेपालले लिएको पछिल्लो राजनीतिक निर्णयका कारण शेरबहादुर देउवा प्रधानमन्त्रीका रूपमा सत्तापक्षको सबैभन्दा अग्रस्थानमा पुगेका थिए। निवर्तमान प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली संसद्को कारबाहीको सुरुमा आएका थिएनन्, देउवाले विश्वासको मत लिन विभाजनको घन्टी बज्न सुरु गर्दा भने उनी प्रमुख विपक्षी नेताको आसनमा बसिसकेका थिए।

सभामुख अग्निप्रसाद सापकोटाको दायाँ र बायाँ बेन्चका प्रमुख पात्रको स्थान परिवर्तन भइसकेको थियो। देउवाले विश्वासको मत पाएको घोषणा सभामुखले गरिसकेपछि नेपालले उत्साहका साथ हातै मिलाएर उनलाई बधाई दिए, जब कि अन्य सबैजसोले नमस्कार गरेका थिए। त्यसअघि देउवालाई विश्वासको मत दिएर आएपछि विपक्षी बेन्चको सबैभन्दा पछिल्लो कुर्सीमा नेपाल एक्लै बसेका थिए। धेरैलाई उनी एक्लिएको जस्तो लागे पनि यसपटकको राजनीतिक खेलका उनी सर्वश्रेष्ठ विजेता हुन्। वास्तवमा नेपालले यसपटक दह्रिलो अडान नलिएका भए संसद् पुन: स्थापित भए पनि ओलीलाई सत्ता षड्यन्त्र गर्ने स्थानबाट हटाउन सकिने थिएन।

हो, यसैलाई भन्छन् दलभन्दा माथि उठेर गरिने निर्णय। ओलीले लोकतन्त्रविरुद्ध पटकपटक घात गरेका छन्। प्रायः सबैजसो संवैधानिक अंगमा ‘सेटिङ’ गरिसकेका उनलाई रोक्न सक्ने अवस्था थिएन। उनले सर्वोच्च अदालतमा समेत सेटिङ गरिसकेको बताएका थिए। तर स्वतन्त्र न्यायालय त्यति कमजोर देखिएन जति ओलीले ठानेका थिए। ओलीलाई कसैले सक्दैन, उनी तिकडममा माहिर खेलाडी हुन् भन्ने किस्सामाथिबाट पनि पर्दा उघ्रिएको छ। नेपालले यसपटक दलभन्दा माथि उठेर निर्णय गरेका हुन्। यति बेला एमाले पंक्तिका एकथरी मानिसले उनलाई आफ्नै पार्टीको प्रधानमन्त्री हटाउन भूमिका खेलेको आरोप लगाइरहेका छन्।  

वास्तवमा ओलीलाई हटाइएको होइन, लोकतन्त्रलाई संस्थागत गरिएको हो। यसपटक राष्ट्रपति विद्यादेवी भण्डारी र ओलीको योजना सफल भएको भए मुलुक अधिनायकवादको सुरुङमा छिर्ने निश्चित भइसकेको थियो। यसलाई छेक्न नेपालको भरलाग्दो राजनीतिले मात्र सम्भव भएको हो। अन्यथा देउवाले कम्युनिस्टहरूलाई विश्वास गरिहाल्ने स्थिति थिएन। लामो समयसम्म कम्युनिस्टहरू फुटेका छैनन्, फेरि मिलिहाल्छन् भन्ने धारणा राख्दै आएका देउवा सरकारको नेतृत्वका निम्ति तयार थिएनन्। नेपाल नभएका भए सायदै देउवाले यसपालि यति भर गरेर ओलीविरुद्ध आफूलाई उभ्याउने थिए।

ओलीविरुद्ध नेपालको यो लडाइँ सहज थिएन। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को गठनलाई सर्वोच्च अदालतले अस्वीकार गरेपछि यसमा समाहित दुई वाम घटक एमाले र नेकपा (माओवादी केन्द्र) को बाटो अलग भएको हो। यसैकारण पुष्पकमल दाहालसँग सहयात्रा गरिरहेका नेपाल एक्लिएका थिए।

माओवादी केन्द्र छुट्टिएपछि दाहालसँग मिलेर आन्दोलन गरिरहेका नेपाल एमालेमै सक्रिय हुने गरी बिदा भएका थिए। त्यही अवस्था उनका निम्ति प्रतिनिधिसभा पुनस्र्थापित भएपछि पनि आएको थियो। अब आफू विपक्षी गठवन्धनमा नरहेको उनले बताइसकेका थिए। दलका दोस्रो पुस्ताका नेताहरूले ओलीसँग एकता गर्न नेपाललाई निरन्तर दबाब दिएका थिए। तैपनि पुन: स्थापित प्रतिनिधिसभालाई सार्थकता दिन नेपालको कटिबद्धतामा कमी आएको थिएन।एमाले एकताका निम्ति भनेर ओलीले खटाएका दोस्रो पुस्ताका नेतालाई प्रतिनिधिसभा पुन: स्थापित हुनुअघिसम्म मात्रै जिम्मेवारी दिइएको थियो। त्यो प्रयासको एकमात्र उद्देश्य देउवालाई प्रधानमन्त्री नियुक्तिको परमादेश माग गर्दै सर्वोच्च अदालतमा दर्ता रिट निवेदनबाट नेपाल पक्षका प्रतिनिधिसभा सदस्यको हस्ताक्षर फिर्ता गराउनु थियो। वास्तविक एकताका निम्ति हुन्थ्यो भने ओलीले प्रतिनिधिसभा पुन:स्थापना भएपछि पनि नेपालसँग सहकार्यका निम्ति हात बढाउने थिए।

ओलीको एकमात्र उद्देश्य नेपाललाई अडान नभएको र राजनीतिक बेइमानी भएको व्यक्ति प्रमाणित गर्ने थियो, तर उनी असफल भए। नेपाल देउवालाई समर्थन गर्दै सर्वोच्चमा बुझाएको हस्ताक्षर फिर्ता नलिन मात्र होइन, पुन: स्थापित प्रतिनिधिसभाबाट देउवालाई विश्वासको मत दिने बेलासम्म पनि प्रतिबद्ध रहे। हो, यही राजनीतिक दृढता समकालीन राजनीतिमा देखिएको हो। आफूले पद नपाउने भए कसैलाई पनि केही गर्न तयार नहुने प्रवृत्ति यति बेला मुलुकमा हावी छ।

मूल्यको राजनीतिका निम्ति नेपालले गरेको यो योगदानको इतिहासले उच्च मूल्यांकन गर्नेछ। यसपटकको संघर्ष र बलिदानबाट नेपालले आफूलाई मुलुकमा पुराना नेताहरू बिपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, मनमोहन अधिकारी, मदन भण्डारीजस्तै सम्झना गरिरहनुपर्ने नेताका रूपमा उभ्याएका छन्।

केही समययता सबै नेता पदकै निम्ति मरिमेट्छन् र मूल्यको राजनीति तिनको रुचिको विषय रहेन भन्ने गुनासो चिर्ने हुटहुटी नेपालमा देखिन्छ। अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा केहीअघि आयोजित कार्यक्रममा पुष्पकमल दाहाललगायतका नेताले सबै नेता उस्तै होइनन् भनेर आफूलाई अलग देखाउन गरेको कोसिस यस्तै परिस्थितिको कारण हुन सक्छ। एमाले र माओवादी केन्द्र अलग हुनुअघि राजधानीको एउटा होटलमा सम्पादकहरूसँग अन्तक्रिया गरिरहेका बेला नेपालले दाहालकै अगाडि सबै नेतालाई उस्तै भनेर सामान्यीकरण नगर्न आग्रह गरेका थिए।

प्रतिनिधिसभाको सोमबारको बैठकसम्म आइपुग्दा नेपालले आफ्नो कद अझ उचो बनाएका छन्। राजनीतिक परिवर्तनका निम्ति एक कदम अगाडि बढेर निर्णय गर्ने नेताका रूपमा नेपाललाई बिस्तारै मुलुकले चिन्नेछ। मुलुक गणतन्त्रमा जाने निर्णय गर्दा नेपालको भूमिका सबैले सम्झिएका छन्, जब कि ओली त्यति बेला ‘बयलगाडामा चढेर अमेरिका पुगिन्न’ भन्ने सिद्धान्तको व्याख्यामा लागेका थिए। माओवादीलाई ‘सशस्त्र जनयुद्ध’बाट शान्तिपूर्ण बाटोमा ल्याउने बेलामा नेपालले भारतको लखनउलगायतका ठाउँमा गरेको भ्रमणलाई पनि यति बेला धेरैले सम्झिरहेका छन्। दाहालले प्रतिनिधिसभाको बैठकमै नेपालको प्रशंसा गरेबाट पनि समकालीन राजनीतिमा उनको महत्व उजागर भएको छ।

भीडको पछि लाग्न सजिलो छ। त्यसमा पनि आफूलाई बौद्धिक र एमालेको विरासत धान्ने नेताका रूपमा हेर्ने नेताहरूलाई साथ लिएर हिँड्न नेपाललाई सहज थिएन। सहज हुँदो हो त उनको मान्यताविपरीत देउवालाई विश्वासको मत दिने प्रतिनिधिसभाको बैठकबाट उनीहरू हिँड्ने थिएनन्। उनको खेमाका सबैभन्दा सिद्धान्तनिष्ठ भनिएका भीमबहादुर रावललाई पनि अहिलेको प्रतिगमनविरुद्धको अभियानभन्दा ठूलो आफ्नै राजनीति भएका कारण ‘राजीनामा’ गरेर हिँडेका छन्। घनश्याम भुसाल, सुरेन्द्र पाण्ड, गोकर्ण बिष्ट, योगेश भट्टराईलगायतले फेरि पनि ओलीलाई फकाउन देउवालाई दिइने विश्वासको मत बहिष्कार गरेका छन्। 

आफ्ना एकसेएक महारथिले छाड्दा पनि नेपालले आफूलाई अटल उभ्याउनुको अर्थ ठूलो छ। यसपटकको यो राजनीतिमा नेपाललाई साथ दिने सांसदहरू त्यस्ता छन्, जसको धेरै नाम चलेको छैन, जो धेरै विद्वान् भनेर चिनिएका छैनन् र ओलीको आँखामा परेका छैनन्। वास्तवमा सच्चा राजनीति गर्ने व्यक्तिका निम्ति ‘अन्डरडग’हरू बढी महत्वका हुन्छन्। धेरै नाम चलेका ‘सेलिब्रिटी’ ले मौकामा धोका दिन सक्छन्। निष्ठाको राजनीति गरेपछि सफलता निश्चित छ। नेपाललाई यसपटक तिनै मानिसले साथ दिएका छन्, जसले उनलाई वर्षौंदेखि देखेका छन्।

नेपाल यस्ता राजनीतिक पात्र हुन्, जो वर्षौंदेखि उस्तै छन्। उनको पछाडि न डन दौडिएका छन् न राज्यको सम्पत्ति दोहन गर्ने व्यापारीकै झुन्ड छ। झन्डै तीन दशकदेखि न नेपालको घरका सोफा फेरिए न उनको काम गर्ने शैली फेरियो। जसलाई धेरै लोभ हुँदैन, त्यसैले आफ्नो दलीय स्वार्थभन्दा माथि उठ्ने आँट गर्छ। यति आँट भएपछि विजय अवश्यम्भावी छ। यो स्थितिमा नेपाल फेरि पुगेका छन्। नेपालसँग तिनै मानिस छन्, जो आफ्नो नेता आस्थामा अटल होस् र भीडको पछि नलागी निर्णय गर्न तयार होस्  

भन्ने सोच्छन्। राजनीतिक दल एउटा साधन हो, त्यो साध्य होइन। असल नेताले राम्रो दल बनाउन सक्छ। त्यो दलमा अटाउने लाखौं नेता तथा कार्यकर्ता बनाउन सक्छ। वर्षौंदेखि भगीरथ प्रयत्न गर्दै आएका नेपालको त्यो निष्ठामा कमी आएको छैन। हामीकहाँ प्रचलित उखान छ– एक्ला वृहस्पति झुटा। सही राजनीति बोक्ने मानिस एक्लै भएर पनि झुटो हुन सक्दैन। सयौं झुटाहरूले सही भन्नुभन्दा केहीमात्र साँचाको साथ पाउनुमा पनि सार्थकता छ। यस अर्थमा यसपालि नेपाल खह्रो उत्रिएका छन्।

प्रकाशित: ५ श्रावण २०७८ ०७:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App