८ वैशाख २०८१ शनिबार
राजनीति

प्रदेश २ मा माओवादी केन्द्रबाट मन्त्री र राज्यमन्त्रीले लिए सपथ

मन्त्रीपदको शपथ लिँदै माओवादी केन्द्र संसदीय दलका नेता भरत प्रसाद साह र सांसद रुवी कर्ण । तस्विरः नागरिक

नेकपा माओवादी केन्द्रबाट दुई जनाले मन्त्री पदको शपथ लिएका छन् । माओवादी केन्द्रको प्रदेश २ संसदीय दलका नेता भरत प्रसाद साहले आन्तरिक मामिला तथा सञ्चार मन्त्री र रुवी कर्णले राज्यमन्त्री पदमा शपथ लिएका छन् ।

प्रदेश प्रमुख डा. राजेश झा अहिराजले साहलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् । मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा शपथ खुवाए । साह महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद हुन् । कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् ।  

मन्त्री साहले कसैको नाममा शपथ खाएन भने राज्यमन्त्री कर्ण सहिदको नाममा शपथ लिइन् । उनी दुबै जनाले नेपाली भाषामा शपथ खाएका थिए ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दल जनता समाजवादी पार्टी नेपाल(जसपा) कै दुईजना मन्त्रीले शनिबार बिहान मुख्यमन्त्री राउत समक्ष राजिनामा दिएका थिए । शनिबारै उनीहरुको राजिनामा स्वीकृत भयो । मुख्यमन्त्री राउतसमक्ष आन्तिरक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले राजीनामा बुझाएका थिए ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुर पक्षका भौतिक पूर्वाधार विकासमन्त्री र तीन राज्यमन्त्रीलाई बर्खास्त गरेर गत जेठ २६ मा कांग्रेसलाई सरकारमा सहभागी गराएका थिए । सोही दिन माओवादीलाई पनि सहभागी गराउने कसरत गरिएको थियो । तर मन्त्रालय बाँडफाँटमा कुरा नमिलेपछि सरकारमा सहभागी भएको थिएन ।

प्रकाशित: २ श्रावण २०७८ १२:५७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App