२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

सरकारलाई जनहितमा लाग्न सुझाव

सत्ता गठबन्धनमा सामेल दलका शीर्ष नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवालाई कोरोना भाइरसविरुद्धको खोप आपूर्तिलगायत जनहितका काममा केन्द्रित हुन सुझाएका छन्। नेपाली कांग्रेसका सभापति देउवा प्रधानमन्त्री नियुक्त भएपछि बिहीबार सिंहदरबारमा बसेको सत्ता गठबन्धनमा आबद्ध दलहरूको बैठकमा सहभागी शीर्ष नेताहरूले फास्ट ट्र्याकमा कोरोनाविरुद्धको खोप आपूर्ति गरी जनतालाई लगाइदिने, बाढीपहिरोबाट प्रभावितलाई तत्काल राहत दिनेलगायत जनहितका काममा ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका हुन्।

बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका नेता विजय पौडेललगायत सहभागी थिए। बैठकमा नेताहरूले वर्तमान सरकारप्रति जनताको ठूलो अपेक्षा रहेको धारणा राखेका थिए। उनीहरूले सत्ता गठबन्धनमा आबद्ध दलहरूको भावनाअनुसार अघि बढ्न पनि प्रधानमन्त्री देउवालाई आग्रह गरे।

बैठकमा सहभागी नेताहरूले कोरोना संक्रमणका कारण अप्ठेरोमा परेको मुलुकको अर्थतन्त्रलाई उठाउन विभिन्न प्याकेजसहितका कार्यक्रम ल्याउन पनि प्रधानमन्त्रीलाई सुझाए। कोरोनाविरुद्धको खोप जतिसक्दो छिटो ल्याउन सरकारले पहल लिनुपर्ने सुझाव सबैको रहेको जानकारी दिँदै बैठकमा सहभागी कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले भने, ‘बाढीपहिरोबाट प्रभावितलाई पनि दु्रतगतिमा राहत उपलब्ध गराउनुपर्नेमा सबैले जोड दिनुभएको छ।’

जनअपेक्षालाई केन्द्रमा राखेर सरकारले कसरी काम गर्न सक्छ र गर्नुपर्छ भन्नेमै केन्द्रित भएर बैठकमा छलफल भएको जानकारी दिँदै उनले भने, ‘जनताको हितमा सरकारले काम गर्नुपर्छ। त्यसका लागि के, कसरी र कस्ता कार्यक्रम ल्याउन सकिन्छ भनेर सैद्धान्तिक कुराकानी भएको छ।’

बैठक कुनै पनि विषयमा निर्णयमा भने नपुगेको जानकारी दिँदै खड्काले अहिलेको अवस्थामा कसरी आइपुगियो भनेर समीक्षा भएको बताए। बैठकमा साउन ३ देखि सुरु हुने संघीय संसद्का दुवै सदनको बैठक, त्यसको तयारी र आगामी दिनमा पनि गठबन्धनका नेताहरूबीच छलफललाई निरन्तरता दिँदै जाने विषयमा छलफल भएको छ। मन्त्रिपरिषद्लाई पूर्णता दिने र प्रधानमन्त्रीले विश्वासको मत कहिले लिने भन्ने विषयमा पनि कुराकानी भएको नेताहरूले बताएका छन्।

प्रकाशित: १ श्रावण २०७८ ०३:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App