७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमाले मिलाउन दोस्रो तहका नेता सक्रियः सफलताको संकेत छैन

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन जारी गरेको वक्तव्यलाई माधवकुमार नेपाल समूहले अस्पष्ट र जालझेलपूर्ण भन्दै अस्वीकार गरेपछि दुवै पक्षका दोस्रो तहका नेताहरू फेरि विवाद मिलाउने भन्दै भेटघाट गरिरहेका छन्। तर, यो भेटघाटको कुनै अर्थ नरहेको र अनाहकमा अन्योल मात्र सिर्जना गर्ने महसुस वरिष्ठ नेताहरूले गरेका छन्।  

ओलीले यही जेठ २३ गते जारी गरेको ६ बुँदे वक्तव्यमा एकताका लागि २०७५ जेठ ३ गतेअघिको अवस्थाबाट पार्टीलाई अघि बढाउन आफू तयार भएको तर त्यसका लागि शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरिएको रिटबाट नेपाल समूहका सांसदले हस्ताक्षर फिर्ता लिनुपर्ने सर्त राखेका थिए। ओलीबाट यस्तो प्रस्ताव सर्वोच्च अदालतमा अहिले विचाराधीन प्रतिनिधिसभा पुनर्स्थापनासम्बन्धी मुद्दालाई प्रभावित गर्न आएको थाहा हुँदाहुँदै पनि नेपाल पक्षीय केही युवा नेताहरू भने पार्टी मिलाउने नाममा आफ्नै राजनीतिक भविष्य जोगाउनतिर केन्द्रित छन्। त्यसैका लागि उनीहरू फेरि पनि आपसी छलफलमा छन्, जुन छलफलले कुनै परिणाम ननिकाल्ने निष्कर्षमा नेपाल समूहका वरिष्ठ नेताहरू रहेका छन्।  

नेपाल पक्षले लोकतन्त्रको रक्षाका लागि गरिएको हस्ताक्षर फिर्ता नहुने बताएको छ। नेपाल पक्षले बिनासर्त २०७५ जेठ ३ गतेअघिको अवस्थाबाट पार्टीलाई अघि बढाउन ओली तयार हुनुपर्ने पनि जनाएको छ। २०७५ जेठ २ कै कमिटीबाट पार्टी सञ्चालन गर्नुपर्ने र नवौं महाधिवेशनले निर्वाचित गरेको कमिटी हटाएर अर्को कमिटी बनाउने कुरा स्वीकार्य नहुने नेपाल पक्षको अडान छ।

पार्टी एकताको आधार खोज्न भन्दै मंगलबार राति ओली पक्षका सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञावाली, विष्णु रिमाल र नेपाल पक्षका सुरेन्द्र पाण्डे, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्य ललितपुरस्थित समीट होटलमा बैठक गर्न पुगेका थिए। छलफलमा नेपाल पक्षका नेताले ओलीको वक्तव्य अमूर्त रहेको र २०७५ जेठ २ मा पार्टीका कमिटीहरूलाई फर्काउनुपर्ने आफ्नो न्यूनतम शर्त भएकाले त्यहींबाट अघि बढ्नुपर्ने बताएका थिए।  

अध्यक्ष ओलीको वक्तव्यपछि र वरिष्ठ नेता नेपालको जबाफी वक्तव्यले एमाले एकता संकटमा रहेको विश्लेषण गरिएको थियो। तर विवाद समाधानका उपाय खोज्न फेरि दुवै पक्षका दोस्रो तहका नेताहरू संवादमा बस्नुले एकताको सम्भावना नभए पनि नेपाल पक्षले नेपाली कांग्रेस, माओवादी केन्द्र, राजपाको उपेन्द्र यादव पक्षलगायतसँग गरिरहेको राजनीतिक सहकार्यमा भ्रम उत्पादन गर्न सक्ने छ। उनीहरूबीच मंगलबार राति भएको छलफल यसअघिजस्तै कुनै निचोडमा पुगेन्। एकताका लागि दुवै पक्षका दोस्रो तहका नेताहरूबीच भइरहेको छलफलमा आचार्य पहिलो पटक सहभागी भएका हुन्।

आचार्यले एकता कायमै राख्नुपर्ने तर लम्पसार भएर सम्भव नहुने धारणा राख्दै आएका छन्। ओली, खनाल, नेपाल, गौतम र बोहोरा जस्ता प्रथम पुस्ताका नेताहरूले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्ने प्रकृया शुरु गरे सबै कुरा मिल्ने नेपाल समूहका नेता भीम आचार्यको बुझाइ छ। ‘प्रथम पुस्ताका नेताहरूले पार्टीको सम्मानित अविभावकत्व ग्रहण गरी नेतृत्व दोस्रो पुस्तालाई हस्तान्तरण गर्नुपर्छ अब पार्टीलाई यही दिशातर्फ लैजाने हो भने एकता संभव छ’, आचार्यले नागरिकसँग भने। उनको यस्तो आदर्श चाहना भए पनि पहिलो पुस्ताका नेताहरूले अहिले तत्कालै दोस्रो पुस्तालाई सत्ता हस्तान्तरण गर्ने स्थिति छैन।

ओली पक्षका नेताले आफूहरू एकताका लागि २०७५ जेठ ३ अघिको अवस्थामा फर्किन तयार भए पनि नेता नेपालले वक्तव्य जारी गरेर झन् समस्या थपिएको गुनासो गरेका थिए। नेपाल पक्षका नेताहरूले भने अध्यक्ष ओलीको वक्तव्य गोलमोटल भएको, कारबाही फुकुवा जस्ता विषयहरू नआएको, जेठ २ को न्युनतम शर्त नमानेको, नवौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी र स्थायी कमिटीलाई ओलीको एकल निर्णयले हटाएको जस्ता विषयमा मौन रहेकाले थप स्पष्ट हुनुपर्ने धारणा राखेका थिए। छलफलमा ओली पक्षका नेताहरूले अब मिलेर पार्टी चलाऔं भन्ने प्रस्ताव राखेका थिए।

उनीहरूले शीर्ष नेताहरूलाई सम्मानजनक स्थान दिएर राख्ने र दोस्रो पुस्ताका नेताहरूले पार्टी चलाउनुपर्ने धारण पनि राखेको स्रोतको दाबी छ। जब कि अहिले पनि पहिलो पुस्ताका नेपाल पक्षीय नेताहरू पार्टी पुनर्गठन गरेर जान तयार भएको स्थितिमा दोस्रो पुस्तालाई तालासाँचो बुझाएर हिड्ने स्थिति आउने छैन। ओली पक्षका नेताहरूले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटबाट पार्टीका सांसदहरूको हस्ताक्षर फिर्ता लिनुपर्ने बताएका थिए। नेपाल पक्षका नेताहरूले त्यो विषय धेरै जटिल नभएको तर अध्यक्ष ओलीलाई नवौं महाधिवेशनको आदेशबाट २०७५ जेठ २ को स्थायी कमिटी बोलाउन, जेठ २ अघिको पार्टी कमिटी ब्युँताउन केले रोकेको हो भन्ने प्रश्न राखेका थिए। उनीहरूले ओलीले पार्टीका नेताहरूलाई धकेल्दै–धकेल्दै विभाजनको डिलमा पु¥याउन खोजेको आभास भइरहेको बताएका थिए।

नेपाल पक्षका नेता योगेश भट्टराई भने छलफलबाट निकै उत्साहित रहेको प्रतिक्रिया दिने गरेका छन्। तर, त्यसको कुनै विश्वसनीय आधार नभएको धारणा नेपाल पक्षको जुम बैठकमा समेत आउने गरेको छ।  

पार्टीभित्र उत्पन्न विवादका कारण नेपाल समूह विपक्षी गठबन्धनसँग मिल्न गएपछि ओली संकटमा परेका छन्। चौतर्फी घेराबन्दीमा परेका ओलीलाई अहिले नेकपा जोगाउन नसकेको र एमाले पनि एकताबद्ध गराउन नसकेको आरोप लागिरहेको छ। नेपाल समूहबिना एमालेका लागि आगामी निर्वाचन निकै सकसपूर्ण हुने भएकाले पनि ओली पक्षका नेताहरू अहिले पार्टी मिलाउनुपर्छ भन्नेमा लागेका छन्। तर, तिनले ओलीलाई यसबारे प्रष्ट बताउन नसक्ने भएकाले खासै परिणाम आउने स्थिति छैन। 

ओलीले माधव नेपाल र भीम रावललाई किनारा लगाएर पार्टीमा एकछत्र राज गर्ने र नेपाल पक्षका अन्य नेताहरूलाई विभिन्न प्रलोभनमा पारेर आफूतिर तान्न खोजेकाले पनि समस्या बढेको एक नेताको दाबी छ। तर नेपाल पक्षका नेताहरूले उनलाई बाहिर राखेर आफूहरू मात्रै ओलीसँग जान नसक्ने बताएका छन्। उनीहरूले यसका लागि नेता नेपालसँग ओलीले कुरा गर्नुपर्ने र पार्टीलाई जेठ २ को अवस्थामा फर्काउनुपर्ने आग्रह गरिरहेका छन्।

प्रकाशित: २७ जेष्ठ २०७८ ०२:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App