१५ फाल्गुन २०८२ शुक्रबार
image/svg+xml
राजनीति

निर्वाचन सम्बन्धी ५४ प्रतिशत हानिकारक सूचना

फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन नजिकिँदै जाँदा विभिन्न व्यक्ति, उम्मेदवार तथा राजनीतिक दलविरुद्ध भ्रामक तथा दुष्प्रचारपूर्ण सूचना फैलिएको भन्दै निर्वाचन आयोगले चिन्ता व्यक्त गरेको छ।  

आयोगमा संचालनमा रहेको निर्वाचन सूचना सम्प्रेषण तथा समन्वय केन्द्रको सूचना सदाचार प्रवर्धन इकाईले प्रत्यक्षतर्फ उम्मेदवारी दर्तापछि हालसम्म कूल ६१२ वटा ‘टक्सिक’ सूचना पहिचान गरेको जनाएको छ।  इकाईका अनुसार पहिचान गरिएका ६१२ सामग्रीमध्ये ५४५ वटा विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गत पर्ने देखिएकाले कारबाहीका लागि नेपाल प्रहरी लाई पठाएको आयोगले जनाएको छ। 

त्यस्तैगरी  १२१ सामग्री निर्वाचन आचारसंहिता, २०८२ आकर्षित हुने ठहर गर्दै केन्द्रीय आचारसंहिता अनुगमन समितिमा पठाइएको आयोगले जनाएको छ।  

यस अवधिमा ७४ सामग्री प्रेस काउन्सिल ऐन, २०४८ अन्तर्गत पर्ने देखिएकाले प्रेस काउन्सिल नेपालमा र एक सामग्री विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ अनुसार कारबाहीका लागि विज्ञापन बोर्डमा पठाएको बताएको छ ।  

सम्बन्धित निकायमा पठाइएकामध्ये हालसम्म नेपाल प्रहरीले १३२ वटा, केन्द्रीय आचारसंहिता अनुगमन समितिले ९० वटा र प्रेस काउन्सिल नेपालले ३२ वटा सामग्रीमाथि कारबाही गरिसकेको आयोगले जानकारी दिएको छ। अन्य सामग्रीमाथि अनुसन्धान भइरहेको आयोगले जनाएको छ ।  

संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम ले गरेको एक अध्ययन अनुसार नेपालको निर्वाचनसम्बन्धी हानिकारक सूचनामध्ये ५४ प्रतिशत सामग्री कृत्रिम बौद्धिकता (एआई) प्रयोग गरी तयार गरिएका ‘डिप फेक’ तस्बिर तथा भिडियो भएको पाइएको छ। 

आयोगले निर्वाचन अवधिभर सामाजिक सञ्जाल, अनलाइन माध्यम तथा परम्परागत सञ्चारमाध्यममार्फत प्रसारित सामग्रीको निरन्तर अनुगमन गरिरहेको जनाएको छ। 

साथै, मतदातालाई सत्य–तथ्यमा आधारित सूचना मात्र विश्वास गर्न, आधिकारिक स्रोतबाट जानकारी लिन तथा शंकास्पद सामग्री देखिएमा सम्बन्धित निकायमा उजुरी दिन आग्रह गरिएको छ।   

प्रकाशित: १५ फाल्गुन २०८२ १८:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App