५ कार्तिक २०७८ शुक्रबार
राजनीति

नेपालको आँखामा ओली शंकाको घेरामा

सत्तारूढ दल नेकपा (एमाले) आन्तरिक विवाद सुल्झाउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली इमानदार हुनेमा आशंका गर्न थालेका छन्। वरिष्ठ नेता माधवकुमार नेपालसँग एमालेको पुरानो संरचना २०७५ जेठ २ गते फर्काउने प्रतिबद्धताबाट एमाले अध्यक्ष ओली इमानदार हुनेमा आशंका गर्न थालिएको हो। 

ओली नेतृत्वको सरकारले वैशाख २७ गते विश्वासको प्राप्त नगरेपछि सरकार ढलेको थियो। संसद्मा नेपाल समूहका २८ सांसद उपस्थित नहुँदा ओली सरकार ढलेको थियो। राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वा दुईभन्दा बढी दल मिलेर सरकार बनाउन ३ दिनको समय दिए पनि नयाँ सरकार बन्न नसक्दा ओलीकै नेतृत्वमा नयाँ सरकार गठन भइसकेको छ।  

यही बीचमा ओलीले पार्टीको आन्तरिक विवाद मिलाउन नेपालसँग वैशाख ३० गते साँझ चार घण्टा छलफल गरेका थिए। सो छलफलमा ओलीले एमालेको पुरानो संरचनामा फर्कने र फागुन २८ गते गरेका निर्णयलाई कार्यदल बनाएर विवाद निरूपण गर्ने प्रस्ताव गरेपछि बैठक टुंगिएको थियो। सोही संवादको निरन्तरता स्वरूप ३१ गते दुवै पक्षका नेताहरूबीच सिंहदरबारमा तीन घण्टा छलफल भएको थियो। छलफलमा ओली पक्षले गृहमन्त्रीसमेत रहेका रामबहादुर थापालाई पनि सहभागी गराएपछि नेपाल पक्षले ओलीको इमानदारितामाथि आशंका गरेको थियो।  

नेपाल पक्षका केन्द्रीय सदस्यहरूले नेपाललाई शनिबारको बैठकमा ओलीले रामबहादुर थापालाई शुक्रबारको बैठकमा सहभागी गराएको विषयमा आपत्ति जनाएका छन्। ओलीले पार्टीभित्र जसरी पनि पेल्ने नीति लिएको बताउँदै सचेत रहन आग्रह गरेका थिए। उनीहरूले थापालाई सहभागी गराएर २०७५ जेठ २ मा फर्कन अस्वीकार गरेको सन्देश दिएको जनाएका थिए।  

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले पनि २०७५ साल जेठ २ गते फर्कन नसक्ने बताइरहेका छन्। त्यही बेला बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरूको बैठकले ओलीले नै सरकार बनाउने चालबाजीमा लागेको र यसले अल्मल्याउँदै जाने रणनीति लिएको प्रष्ट हुने बताएका थिए। नेपाल पक्षका नेता शनिबार बिहान ११ बजे बैठक बसेको थियो। 

उनीहरूले ओली जेठ २ मा फर्कने कुराप्रति संवेदनशील बन्न नसकेको बताएका थिए। ‘प्रधानमन्त्री ओली र नेपालसहित बसेको बैठकमा गृहमन्त्री थापालाई २०७५ जेठ २ गतेको कमिटीले नचिन्ने बताउँदै त्यही बेलाको कमिटी ब्युँताउने स्थायी कमिटीको बैठक राख्ने र त्यहाँबाट अघि बढ्ने प्रतिबद्धतामा थापालाई छिराएर नेपाल पक्षलाई हेप्न खोजेका छन्,’ बैठकमा सहभागी एक सदस्यले भने। शुक्रबार सिंहदरबारमा बसेको बैठकले २०७५ जेठ २ भन्दा अघिको एमालेलाई आधार मानेर अरू छलफल अघि बढाउने कुरा भएको र त्यसका लागि अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बसेर कार्यदल टुंग्याउने कुरा भएको भीम रावलले बताएका थिए। 

‘प्रधानमन्त्री ओली र नेपालसहित बसेको बैठकमा गृहमन्त्री थापालाई २०७५ जेठ २ गतेको कमिटीले नचिन्ने बताउँदै त्यही बेलाको कमिटी ब्युँताउने स्थायी कमिटीको बैठक राख्ने र त्यहाँबाट अघि बढ्ने प्रतिबद्धतामा थापालाई छिराएर नेपाल पक्षलाई हेप्न खोजेका छन्।’

तर नेपाल पक्षको केन्द्रीय सदस्यहरूले थापासहितको बैठकमा सहभागी हुनु नै गलत भएको बताएका थिए। ‘आजको बैठकमा पार्टी अध्यक्ष ओलीले जे प्रतिबद्धता गर्नु भएको छ त्यो इमानदारीपूर्वक कार्यान्वयन गर्नुहुनेछ र पार्टी विवादरहित भएर जाने कुरा उठेको छ,’ केन्द्रीय सदस्य ठाकुर गैरेले बताए। उनका अनुसार केही शंका उठेको हो कार्यदल बनाएर अघि बढ्ने कुरा छ, अब एकदुई दिनमै विषयहरू टुंगिने छ। २०७५ जेठ २ को अवस्थामा जस्ताको तस्तै फर्कने चरणबाट एमाले अघि बढेको र फेस सेभका लागि जेठ २ को आसपासबाट सहमति हुने एमाले स्रोतको दाबी छ। प्रधानमन्त्री ओलीले नेपालसँग संवाद गर्न गृहमन्त्री थापालाई पनि सहभागी गराएपछि नेपाल पक्ष केही सशंकित बनेपछि शनिबार कार्यदल बन्न सकेन। शुक्रबारको बैठकमा सौहार्दपूर्ण वातावरणमा भए पनि के–के विषयमा केन्द्रित भए भन्नेबारे बाहिर आएको छैन। 

ओली र नेपाल दुवै पक्षका दोस्रो तहका नेताहरू बैठकमा सहभागी भएका थिए। उनीहरूले यही बैठकबाट दुवै पक्षले कम्तीमा १० सदस्यीय कार्यदल बनाउने जनाएका थिए। नेपालसहित माओवादी केन्द्रबाट एमालेमा आएका नेता थापा पनि सहभागी भएपछि कार्यदलको नाम तय हुन सकेको थिएन।  बिहीबार नेताद्वयबीच चार घण्टासम्म ‘वान टू वान’ भएको संवादमा २०७५ जेठ २ कै वरिपरिको एमाले रहने गरी सहमति खोज्ने सहमति गरेर उठेका थिए। 

त्यसका लागि कार्यदल बनाउने सहमति दुई नेताबीच भएको थियो। त्यही सहमतिलाई कार्यान्वयन तहमा पुर्‍याउन दोस्रो तहका नेतासहित ओली–नेपालले छलफल गर्न थालेका हुन्। ओलीले चाँडै नै महाधिवेशन गर्ने र त्यहीबाट सबै विषयहरूमा छिनोफानो गर्ने योजना बनाएका छन्। 

यही क्रममा नेपाल पक्षले पनि अहिले महाधिवेशन आयोजक कमिटी बनाउन सहमति जनाइसकेका छन्। एमालेको पूर्ववत् संरचना (२०७५ जेठ २)मा नफर्कने ओलीको अडान र पूर्ववत संरचनामै फर्कनुपर्ने नेपाल दुवै एक–एक कदम पछाडि हटेर त्यही बिन्दुबाट विवाद मिलाउने गरी कार्यदल बनाउन सहमत भएका थिए।

प्रकाशित: २ जेष्ठ २०७८ ०७:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App