१४ असार २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सरकार र जनता मिलेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्छ : उपप्रधानमन्त्री पोखरेल

उपप्रधानमन्त्री ईश्वर पोखरेलले सरकार र जनताबीच हातेमालो गरेर कोरोनाविरुद्धको लडाईं सफल पार्नुपर्ने बताएका छन्। 

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका संयोजक समेत रहेका उपप्रधानमन्त्री पोखरेलले सिंहदरबारमा संचारकर्मीसँग संवाद गर्दै सरकारको एकल प्रयासले मात्र कोरोनाविरुद्धको लडाईं सफल नहुने भएकाले सरकार र नागरिकबीच हातेमालोको जरुरी रहेको बताए। ‘म नागरिकहरुलाई अपिल गर्न चाहन्छु, सिंगो मानव समुदाय अहिले कोरोनाविरुद्ध लडिरहेको छ। त्यसैले यो हामी सबैको साझा समस्या हो, यसलाई समाधान गर्न सरकार र नागरिक हातेमालो गरेर अगाडि बढ्नुपर्छ। हामी आफै जवाफदेही भएर अगाडि बढ्न जरुरी छ’, उनले भने।  

सरकारले बैशाख १३ गतेको मन्त्रिपरिषद्को निर्णयबाट नयाँ भेरियन्टसहितको कोभिड–१९ महामारीको दोस्रो लहर रोकथाम तथा नियन्त्रण सम्बन्धी आदेश २०७८ जारी गरेको जानकारी दिँदै उनले राज्यका तर्फबाट अभिभावकीय भूमिका र जिम्मेवारी सोचेर यो निर्णय गरिएको बताए। ‘कोभिडको जुन लहर छ यसलाई फैलन नदिने मुख्य कुरा हो। यसलाई राज्यको मात्र काम हो भनेर चित्रित गरिनुहुन्न,’ उपप्रधानमन्त्री पोखरेलले भने,‘आम नागरिकको स्वास्थ्य र जीवन रक्षाका लागि आवश्यक सम्पूर्ण प्रबन्ध गरेका छौं। जनता पनि हाम्रो आफ्नै जीवनका लागि हो भनेर सचेत हुन जरुरी छ। जनताको साथ र सहयोग भएन भने यो गम्भीर समस्या समाधान गर्न कठिन छ।’

उपप्रधानमन्त्री पोखरेलले संकटमा परेकालाई सरकारले अस्पताल र उपचारका लागि चाहिने सामाग्री लगायत सम्पूर्ण प्रबन्ध गरेको जानकारी दिए। यसअघि स्थापित कोरोना विशेष अस्पताललाई थप व्यवस्थित बनाउने काम भइरहेको उनले बताए।  

१८ लाखभन्दा बढीलाई कोरोनाको खोप लगाइसकेको जानकारी दिँदै उनले खोप खरीदका लागि स्वास्थ्य मन्त्रालयले प्रक्रिया अगाडि बढाइसकेको बताए।

प्रकाशित: १७ वैशाख २०७८ ०८:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App