२० जेष्ठ २०८१ आइतबार
image/svg+xml
राजनीति

अपराधमुक्त शहर निर्माणका निम्ति अन्तर्राष्ट्रिय सहयोगमा नेपालको जोड

नेपालले अपराधमुक्त, सुरक्षित र उत्थानशील शहरको निर्माणका निम्ति सुदृढ अन्तर्राष्ट्रिय सहयोग एवं साझेदारी अपरिहार्य भएकामा जोड दिएको छ। ‘शहरी सुरक्षा, भयमुक्त सुशासनः अपराध रोकथाम सबैको प्राथमिकता’ विषयक राष्ट्रसङ्घीय उच्चस्तरीय छलफलमा नेपालले सुशासन कायम गर्न असमानता घटाउँदै समुदाय, सरोकारवाला र जनसाधारणको सहभागिता बढाउनुपर्नेमा नेपालले जोड दिएको हो।

अप्रत्यक्षरुपमा उक्त छलफलमा आज भाग लिँदै गृहमन्त्री रामबहादुर थापाले सुरक्षित र भयरहित वातावरणमा समावेशी, उत्थानशील एवं समृद्ध समाज स्थापनालाई नेपाल सरकारले उच्च प्राथमिकतामा राखेको बताए। न्युयोर्कस्थित संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगले जनाएको छ।

थापाले हिंसा, अपराध, असुरक्षा तथा सामाजिक अपराधलगायत अनेक जोखिमको सामाना गर्दै शहरहरूलाई अपराधमुक्त तुल्याउन नेपाल सरकारले गरेका प्रयासबारे जानकारी दिए। अतिकम विकसित राष्ट्रहरूको समूहबाट स्तरोन्नत हुने आकाङ्क्षा पूरा गर्न नेपालले अपराध निवारण तथा दिगो शहरी विकासमा आफूलाई केन्द्रित गरेको जानकारी दिँदै गृहमन्त्रीले त्यसका लागि सङ्घीय संरचनाका तीनवटै निकायसँग सशक्त समन्वय र सहयोग कायम गरेर अघि बढिरहेको बताए।

अपराध रोकथाम तथा शहरी विकासका नीति तथा कार्यक्रममा युवा, महिला, स्थानीय समुदायको सहभागितालाई प्राथमिकता दिएको मन्त्री थापाले बताए। राष्ट्रसङ्घीय महासभाका अध्यक्षले आयोजना गरेको एकदिने उक्त छलफलमा १६ देशबाट मन्त्रीस्तरीय प्रतिनिधित्व भएको थियो भने कैयौँ उच्चस्तरीय वक्ताले भाग लिएका थिए। रासस

प्रकाशित: १० वैशाख २०७८ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App