२० वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

नेपाल समूहको छुट्टै कार्यालय

विराटनगर कार्यालयको उद्घाटन समारोहमा सहभागी नेपाल समूहका नेताहरू । तस्बिरः नागरिक

नेकपा एमालेका माधवकुमार नेपाल समूहले विराटनगरमा छुट्टै कार्यालय स्थापना गरेको छ। नेपाल समूहले विराटनगरस्थित तीनपैनीमा दुई तले घर भाडामा लिएर विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय सञ्चालनमा ल्याएको हो।  

कार्यालयको बिहीबार बिहान एमालेका सचिव तथा प्रदेश १ का इन्चार्ज भीम आचार्यले उद्घाटन गरेका छन्। कार्यालयको उद्घाटन गर्दै इन्चार्ज आचार्यले पार्टी अध्यक्ष र वरिष्ठ नेता माधवकुमार नेपालबीच छलफल भए पनि वार्ता सकारात्मक रूपमा अगाडि नबढेकाले समानान्तर कमिटी निर्माण गर्दै अघि बढेको बताए। उनले अहिले पनि आफूहरु पार्टी एकताको पक्षमा रहेकोको दाबी गरे। ‘हामी अहिले पनि पार्टी एकताको पक्षमा छौं’, उनले भने, ‘तर, पार्टी अध्यक्ष ओलीनै पार्टी एकताको पक्षमा देखिनु भएको छैन।’ आचार्यले वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाललगायतका नेतालाई एकपछि अर्को कारबाहीको शिलशिला जारी राखेकाले ओली पार्टी एकताको पक्षमा नरहेको प्रष्ट भएको बताए।  

यसअघि चैत २८ गते नेपाल समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको थियो। सो समूहले दुवै कमिटी गठन गरेको दुई हप्तापछि महानगरपालिकामा छुट्टै कार्यालय खोलेको हो। सो समूहले जिल्ला र नगर समिति गठन भएसँगै वडा र टोलस्तरका कमिटी निर्माण गर्नुको साथै भातृ संगठनहरुका समानान्तर कमिटी निर्माणमा पनि तीव्र बनाएको नेपाल समूहका विराटनगर महानगर कमिटीका अध्यक्ष पारुल क्षेत्रीले बताए।

प्रकाशित: ९ वैशाख २०७८ ११:४६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App