३० वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

‘पार्टीभित्रै संघर्ष आत्मसमर्पण असम्भव’

नेकपा एमालेभित्र फरक मत राख्ने नेताहरू त्यहीभित्र बसेर संघर्ष गर्नुपर्ने निष्कर्षमा पुगेका छन्। माधव नेपाल समूहका अधिकांश केन्द्रीय सदस्य र सांसदहरूले पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने बताएका हुन्। सर्वोच्च अदालतले फागुन २३ गते पूर्ववत् रूपमा एमाले र माओवादी केन्द्र ब्युँताइदिएपछि एमालेका अध्यक्ष केपी शर्मा ओलीले फागुन २८ गते आफूखुसी केन्द्रीय कमिटीको बैठक राखेर नेपाल समूहका नेताहरूको जिम्मेवारी खोसेपछि विवाद उत्पन्न भएको थियो। 

नेपाल समूहका नेताहरूले छुट्टै राष्ट्रिय भेला गरी समानान्तर कमिटी बनाउन थालेपछि ओली समूहले नेपालसहित चार नेतालाई स्पष्टीकरण सोधेको थियो। त्यसपछि विवाद झनै उत्कर्षमा पुगिरहेकै बखत नेपाल समूहको केन्द्रीय सदस्यहरूको बैठक पार्टीभित्रै बसेर संघर्ष गर्ने निक्र्योलमा पुगेका छ। शुक्रबार र शनिबार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो।

अधिकांश केन्द्रीय सदस्यहरूले व्यक्तिवाद र अवसरवादसँग लडाइँ लड्ने, व्यक्तिवादसँग जोडिएर आएको अवसरवादजस्ता विषयसँग सजग रहनुपर्ने धारणा राखेका छन्। तर बैठकमा केन्द्रीय सदस्य डा.विजय पौडेलले भने पार्टीभित्र बसेर केपी ओलीसँग संघर्ष गर्न नसकिने भन्दै राजनीतिक प्रतिवेदन पेस गरे। उनले ओली समूहमै विद्रोह हुन सक्ने सम्भावनासहितको प्रतिवेदनमा नेकपाकै पुरानो सांगठनिक संरचनामा फर्कनुपर्ने धारणासमेत राखेका छन्।

‘हाम्रो समूहले इज्जत नामक नाक जोगाउन राखेका साना, झिना, मसिना सर्त पनि केपी शर्मा ओलीले मान्नुहुन्न। त्यहाँ गएर न त नवौं महाधिवेशनका नीति लागू गर्न सकिनेछ, न त आउने निर्वाचनमा जनताका असल प्रतिनिधिले चुनाव लड्ने टिकट नै पाउनेछन्,’ उनले प्रतिवेदनमा भनेका छन्, ‘ओलीको नेतृत्वमा महाधिवेशनको नाटक हुनेछ र केही देखाउने प्रयोजनबाहेक आम रूपमा सही कम्युनिस्टहरूलाई बढारेर मिल्काइनेछ।  

बिन्ती, अनुरोध र प्रार्थनाबाट तानाशाहको मन पग्लिँदैन। कसैमा केपी ओलीको हृदय परिवर्तन गराउन सकिन्छ भन्ने लाग्छ भने त्यो कुरा मृगमरिचिका मात्रै हो।’ पौडेलको धारणाप्रति अधिकांश नेताले असहमति प्रकट गर्दै तत्काललाई पार्टीभित्रै बसेर संघर्ष गर्नुपर्ने धारणा राखेका थिए। ‘सबैको मत नेकपा एमालेको एकता कायम राख्नुपर्छ, एकता कायम राख्ने बिन्दु २०७५ जेठ २ अघिको अवस्था नै हो। आजको अवस्थामा विभाजन वा समर्पण पनि होइन,’ बैठकमा केन्द्रीय सदस्य ठाकुर गैरेले भनेका थिए।

उनले नेकपा एमालेको एकता आजको आवश्यकता भएको धारणासमेत राखेका थिए। ‘विभाजन आवश्यक छैन, आत्मसमर्पण सम्भव छैन। अदालतको फैसलालाई मान्ने सबैको चाहना हो। हामीले जुन बिन्दुबाट एमाले विर्सजन गरेका थियौं, त्यही बिन्दुबाट सञ्चालन गर्नुपर्छ,’ उनले भने। उनका अनुसार यसो गर्दा एमालेमा कसैले एकता नमानेको वा आत्मसमर्पण गरेको ठहरिनेछैन।

उनीहरूले धेरैजसो समय आफूहरूले पार्टी निर्माणमा पुर्‍याएको योगदानको चर्चा गर्दै त्यहीभित्रै बसेर अवसरवाद र व्यक्तिवादविरुद्ध संघर्ष गरे मात्रै अघि बढ्न सक्ने धारणा राखेका थिए। नेपाल पक्षका केन्द्रीय सदस्यहरूले आत्मसमर्पण गर्नुपर्ने वा विभाजन गरेर अर्को पार्टी निर्माण गर्नुपर्ने विषय तत्काललाई त्याग्न नेतृत्वसँग आग्रह गरेका छन्। ‘हामीले भन्ने गरेका छौं, अहिले सबै विषय मानेर आत्मसमर्पण गर्नुपर्ने आवश्यकता छैन। झन विभाजन गर्ने अवस्था त छँदै छैन,’ केन्द्रीय सदस्य गैरले भने।

प्रकाशित: १५ चैत्र २०७७ ०१:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App