१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

‘सरकारको जोडघटाउसँग रेशम चौधरीलाई नजोडौं’

जनता समाजवादी पार्टी (जसपा) ले पछिल्लो समय टीकापुर घटनाका मुख्य योजनाकार भनिएका रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाइरहेको छ। यहीबेला थरूहट÷थारूवान राष्ट्रिय मोर्चाका केन्द्रीय संयोजक लक्ष्मण थारूले सरकारको जोडघटाउसँग रेशम चौधरीको मुद्दाको कुनै सरोकार नहुने स्पष्ट पारेको छ।

टीकापुर घटनाका बन्दीसँग पनि सत्ता साझेदारको कुनै सवाल नजोडिने उनको भनाइ छ। शुक्रबार कैलालीको एक गोप्य स्थानमा पत्रकार सम्मेलन गर्दै संयोजक थारूले टीकापुर घटनामा जेल गएकालाई निःसर्त रिहाइ गर्नुपर्ने तर आफूहरूलाई कसैको सत्तासँग सरोकार नभएको स्पष्ट पारे। ‘हाम्रो उद्देश्य भनेको टीकापुर घटना मुद्दामा जेलजीवन बिताइरहेका सांसद रेशम चौधरीलगायत सात जनालाई उच्च अदालत दिपायलले जन्मकैदको फैसला गरेको छ,’ थारूले भने, ‘अन्य केहीलाई १० वर्ष कैद सुनाइएको छ, तिनीहरूको निःसर्त रिहाइ गरिनुपर्छ भन्ने हाम्रो माग हो।’

 राजनीतिक दलहरूले रेशमको मुद्दालाई लिएर जोडघटाउ गरेको, त्यसमा आफूहरूको केही स्वार्थ नभएको, बरु सबैले टीकापुर घटनाका मुद्दा सल्टाउन सहयोग गर्नुपर्ने उनले बताए ।टीकापुर घटना प्रतिशोधको नभई राजनीतिक मुद्दाको विषय भएकोउल्लेख गर्दै उनले भने, ‘यो नितान्त राजनीतिक विषयको मुद्दा हो, तसर्थ आजीवन र जेलमा जीवन बिताइरहेका कैदीबन्दीलाई तुरुन्तै निःसर्त छाड्न सरकारसँग वार्ता टोली गठन गरिएको पनि उनले बताए।

जसपाले केपी ओली नेतृत्वको सरकारमा जाने चर्चापछि वार्ता टोली गठन भएको भन्ने जिज्ञासामा उनले भने, ‘सरकार तथा सत्ता समीकरणबारे हामीलाई कुनै सरोकार छैन, हामीलाई यति मात्रै थाहा छ, टीकापुुर घटना मुद्दाले कसैको सरकार बनाउने वा गिराउनेसँग सरोकार राख्दैन। झुटा मुद्दा हो, खारेज हुनुपर्छ।’

उच्च अदालत दिपायलको फैसलापछि अर्धभूमिगत रहेका मोर्चाका केन्द्रीय संयोजक थारूले टीकापुर घटनामा बन्दी जीवन बिताइरहेका परिवारका तर्फबाट वार्ता टोली गठन गरेको जानकारी दिए। ‘रेशम चौधरीको संयोजकत्वमा हामीले पाँच सदस्यीय वार्ता टोली गठन गरेका छौं,’ लक्ष्मणले भने, ‘रेशमलाई जेलभित्रबाट नभई बाहिर निकालेर ससम्मान वार्ता गर्न सरकारसँग आग्रह गर्छाैं।’ जनता समाजवादी पार्टी (जसपा) नेपालले पछिल्लो समय रेशम चौधरीको रिहाइलाई मुख्य राजनीतिक मुद्दा बनाएको छ। 

प्रकाशित: १४ चैत्र २०७७ ०२:०२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App