२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

लगानीमैत्री कानुन बनाउन निजी क्षेत्रको माग

उद्योगी–व्यवसायीका समस्या सुल्झाउन सरकार प्रतिबद्ध : प्रधानमन्त्री

नीतिगत समस्याका कारण मुलुकमा लगानीमैत्री वातावरण बन्न नसकेको उद्योगी–व्यवसायीले गुनासो गरेका छन् । प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा शुक्रबार आयोजना गरिएको कार्यक्रममा निजी क्षेत्रका प्रतिनिधिले पुराना कानुन परिवर्तन गरेर निजी क्षेत्रमैत्री नयाँ कानुन बनाउन आग्रह गरे ।

नेपाल उद्योग परिसंघ (सिएनआई) का कार्यवाहक अध्यक्ष विष्णु अग्रवालले स्वदेशी उत्पादन बढाउन कानुन परिवर्तन गर्नुपर्ने धारणा राखे । ‘उद्योगी व्यवसायी अहिले पनि समस्यामा छन्,’ अग्रवालले भने, ‘पुराना कानुन परिवर्तन गर्नुपर्छ ।’  

मुलुकलाई औद्योगीकरण गर्न सिएनआईले मेक इन नेपाल अभियान सुरु गरेको अग्रवालले बताए । स्वदेशमा उत्पादन बढाउन सरकारले वातावरण बनाउनुपर्ने बताए ।

सिएनआईका पूर्वअध्यक्ष हरिभक्त शर्माले निजी क्षेत्रका समस्यालाई सहजीकरण गर्न आग्रह गरे । ‘प्रधानमन्त्री प्रफुल्लित भए पनि निजी क्षेत्र स्ट्रेसमा छ,’ शर्माले भने, ‘निजी क्षेत्रका लागि सरकारले सहजीकरण गर्नुपर्छ ।’ कानुन संशोधनको प्रक्रिया लामो भएको बताए । व्यवसायी अप्ठ्यारो अवस्थामा गुज्रिएको भन्दै बन्द भएका साना उद्योगका लागि पुनरुत्थानका कार्यक्रम ल्याउनुपर्ने बताए ।

चेम्बर अफ कमर्सका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले निजी क्षेत्रका लागि सही आर्थिक नीति आवश्यक रहेको धारणा राखे । आर्थिक कानुन व्यवसायी मैत्री नभएको उनको गुनासो थियो । ‘निजी क्षेत्रलाई हतोत्साही पार्ने खालका कानुन परिवर्तन गर्नुपर्छ,’ उनले भने, ‘कर प्रणाली सुधार हुनु आवश्यक छ ।’ नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले भने प्रधानमन्त्री ओलीको प्रसंशा गरे । कोभिड नियन्त्रण र खोप वितरण गर्न उदाहरणीय काम गरेको भन्दै धन्यवाद दिए । साना तथा मझौला उद्यम पुनरुत्थान कार्यक्रम आवश्यक रहेको उनले बताए ।

साना तथा घरेलु उद्योग महासंघका अध्यक्ष उमेशप्रसाद सिंहले कोभिडका कारण थलिएका साना उद्योगका लागि प्याकेज आवश्यक भएको बताए । सरकारले घोषणा गरेको राहतका कार्यक्रमबाट फाइदा लिन नसकेको उनको गुनासो थियो । उद्योगमैत्री कानुन आवश्यक भएको सिंहको धारणा थियो ।

व्यवसायीका कुरा सुनेका प्रधानमन्त्री केपी ओलीले उद्योगी, व्यवसायीका समस्या सुल्झाउन सरकार प्रतिबद्ध रहेको बताए । रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयात प्रतिस्थापन गर्ने उद्योगका लागि आवश्यक कानुन संशोधनका लागि सरकार तयार रहेको बताए । स्वदेशमा उद्योग सञ्चालन गर्ने उद्योगीलाई सहुलियत दिन सरकार तयार रहेको प्रधानमन्त्री ओलीको प्रतिबद्धता थियो । ‘स्वदेशी उत्पादनलाई बढाऔं,’ प्रधानमन्त्री ओलीले भने, ‘आवश्यक ऐन, कानुन संशोधन गर्न तयार छौं ।’

बढ्दो व्यापार असन्तुलन प्रति प्रधानमन्त्री ओलीले चिन्ता व्यक्त गरे । विदेशबाट सामान आयात मात्र गर्ने काम रोक्नुपर्ने उनको धारणा थियो । उत्पादन वृद्धि गर्दा व्यापार घाटा बेहोर्नुपरेकोमा चिन्ता व्यक्त गर्दै मुलुकलाई औद्योगीकरणमा लैजानुपर्ने धारणा राखे । सरकारले सुखी नेपाली समृद्ध नेपालको नारा अघि सारेको बताउँदै मुलुकको आर्थिक विकासका लागि निजी क्षेत्रलाई सहयोगका लागि आग्रह गरे ।

महासंघका पूर्वउपाध्यक्ष प्रधान एमालेमा प्रवेश

नेपाल उद्योग वाणिज्य महासंघका पूर्वउपाध्यक्ष किशोर प्रधान नेकपा एमालेमा प्रवेश गरेका छन् । प्रधानलाई शुक्रबार प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालुवाटारमा आयोजित एक कार्यक्रममा टीकाखादा लगाएर पार्टी प्रवेश गराएका हुन् । प्रधान उद्योग वाणिज्य महासंघको निर्वाचनमा वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालसँग पराजित भएका थिए ।

प्रधानसँगै २ सय ३५ जना उद्योगी–व्यवसायी एमालेमा प्रवेश गरेको प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले दाबी गरे । प्रवेश गर्ने अधिकांश मारवाडी समुदायका उद्योगी व्यापारी रहेका छन् । गोल्छा अर्गनाइजेसनका हितेश गोल्छा, ललित अग्रवाल, सीताराम अग्रवाललागयत उद्योगीलाई ओलीले स्वागत गरेका थिए ।

प्रकाशित: ७ चैत्र २०७७ ०२:५६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App