coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं : अध्यक्ष दाहाल

पत्रकारहरुसँग समसामयिक राजनीतिक विषयमा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड । तस्बिर : अनिल/नागरिक

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान र परिवर्तनलाई सिध्याएरै छाड्ने मनसाय बनाएको आरोप लगाएका छन्। 'राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा केपीको प्रस्तुतिले संविधान र लोकतन्त्रलाई सिध्याएरै छाड्ने मनसाय देखियो,' अध्यक्ष दाहालले भने 'संविधान सिध्याएरै छाड्ने केपीको दु:साहस पूरा हुन दिंदैनौं।'  

प्रेस संगठन नेपाल सिन्धुलीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रधानमन्त्रीले अझै पनि लोकतन्त्रविरुद्ध चलखेल गरिरहेको बताए। 'यो परिवर्तनले समावेशी समानुपातिक जसले महिला, दलित जनजाति मधेसी मुस्लिम थारु मजदुर किसान सबैलाई केही मौलिक अधिकार दिएको थियो, सो संविधानलाई मिचेरै छाड्ने केपी ओलीले मनसाय प्रकट गरे' पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष दाहालले भने। संविधान ब्युँताउने गरि सर्वोच्च अदालतले गरेको फैसला जनताको जित भएको र त्यसलाई प्रधानमन्त्रीलेनै मान्ने तयारीमा नभएको प्रष्ट भएको उनको बुझाइ छ। 

प्रधानमन्त्रीले सदन विघटन गर्न पाउनै पथ्र्यो भन्ने अभिव्यक्ति दिएको भन्दै उनले नेपाली जनता सचेत भएकाले त्यो दु:साहस पूरा हुन नदिने बताए। अध्यक्ष दाहालले सञ्चारकर्मीको जिज्ञासामा आफूले प्रधानमन्त्रीका लागि संघर्ष नगरेको स्पस्ट पार्दै प्रधानमन्त्री कसको हुन्छ भन्ने कुरा राजनीतिक दलहरुबीच छलफल चलिरहेको बताए। 'छलफलमा जसकोमा सहमति हुन्छ प्रधानमन्त्री उसैको हुन्छ,' उनले भने 'तर सहमति त्यति धेरै टाढा छैन।' उनले माओवादी केन्द्र र काँग्रेस मिलेर आलोपालो प्रधानमन्त्री चलाउने चर्चा हुँदै आएको भएपनि फाइनल नभएको बताए।  

एमाले पार्टीको नेतृत्व केपीले नगरेको र ओलीले केपी गुटको मात्रै नेतृत्व गरेको अध्यक्ष दाहालको टिप्पणी छ। अदालतको फैसलाले आफूहरु माओवादी केन्द्र भइसकेको र माधव र ओली पनि एमाले भएको भन्दै उनले केपी पनि एमालेमा आउनुपर्ने र माधव पनि एमालेमा आउनुपर्ने परिस्थिति रहेको बताए। 'केपी ओलीले २८ गते कथित केन्द्रीय कमिटी भनेर गरेको निर्णयले त जो कोहिलाई आश्चर्यमा पारेको छ' उनले भने। एमालेभित्र हामी अब हस्तक्षेप त गर्दैनौ अध्यक्ष दाहालले भने, 'माधवजीहरु एमाले भइसकेपछि पनि केपीजीको प्रबृत्तिमा सुधार आएको छैन त्यसकारण त्यहाँ संघर्ष हुनु नयाँ कुरा भएन।' उनले बृहत्तर कम्युनिष्ठ एकता अझै आवश्यकता भएको भन्दै एमाले माओवादी केन्द्र र अरु कम्युनिष्ट पार्टीहरुबीच एकता हुनुपर्छ भन्ने मिसनबाट पछि नहट्ने अडान व्यक्त गरे। कम्युनिष्ट पार्टी एकतालाई देशभरका जनताले साथ दिएर झन्डै दुई तिहाई पाउनु असाधारण ऐतिहासिक परिघट्ना भएको उनले जनाए। कम्युनिष्ट एकता भएर पाएको मत एकथरीलाई मनपरेको थिएन नै तर दुर्भाग्य आफैले प्रस्ताव गरेर बनाएको अध्यक्ष र प्रधानमन्त्रीबाटै दुर्घटना गराउने षड्यन्त्र भएको बताए।  

आफू सिन्धुली अनौपचारिक सन्दर्भमै आएको उनले बताए। २७ वर्ष अगाडी विद्रोहको तयारी गर्ने प्रशिक्षणका क्रममा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य हरिबोल गजुरेलको सिन्धुलीस्थित घरमा आएर एक रात बसेको स्मरण गर्दै उनले पुनः घरमा आउनका लागि धेरै समयदेखि गजुरेलले अनुरोध गरेकाले दुई दिनको फुर्सद निकालेर आएको बताए। '२७ वर्ष पुरानो सम्बन्धलाई ताजा गर्ने उद्देश्यले विलकुल अनौपचारिक भ्रमणमा म यहाँ आएको हुँ' उनले भने 'सडकको पहुँच र आइटी तथा सञ्चारको सुविधाको कारण नेता कार्यकर्ताहरुसँगको भेटघाट सहज भएको हो।'

प्रकाशित: ५ चैत्र २०७७ ०५:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App