१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

अबको राजनीतिक परिदृश्य कस्तो हुन्छ भन्नेबारे छलफलमा छाैं : प्रदीप ज्ञवाली

फाइफ तस्बिर।

मंगलबार सर्वोच्च अदालतले संसद विघटनको निर्णय बदर गरिदिएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहले बुधबार बिहान ११ बजेका लागि स्थायी कमिटी बैठक बोलायो। करिब तीन घण्टा बसेको स्थायी कमिटी बैठकले सर्वोच्च अदालतले गरेको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको बैठकपछि ओली समूहका प्रवक्ता तथा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए। सञ्चारकर्मीहरुसँगको कुराकानीका क्रममा उनले बैठकले गरेका निर्णय मात्र सुनाएनन् विभाजित बनेको नेकपा पुनः एकीकरण गर्नका लागि आफूहरु तयार रहेको समेत बताए।

प्रवक्ता ज्ञवालीले सञ्चारकर्मीसँग गरेको कुराकानीको सम्पादित अंशः

पार्टी एकताको संकेतस्वरुप हामीले कसैलाई कारबाही नगरेका हौं

पार्टी एकताको पक्षमा हामी सधैंब रह्यौं। पार्टी एकतालाई ध्यानमा राखेर हामीले कसैलाई कारबाही गरेका छैनौं। यसबीचमा गम्भीर वैचारिक र राजनीतिक मतभिन्नताहरु भए। तर, पनि पार्टीलाई एक बनाएर लग्न सकियोस् भन्नेमा हाम्रो प्रयास जारी छ। र, त्यो प्रयासको संकेतस्वरुप नै हामीले एकताबद्ध रहने सन्देश दिनेगरी कसैलाई पनि कारबाही नगरेका हौं। अब नयाँ ढङ्गले छलफलहरु अघि बढ्लान्। त्यसमा खास गरेर अहिले जो साथीहरु बाहिरिनुभएको छ, उहाँहरुका ठोस प्रस्तावहरु के हुन्? एकता अमूर्त कुरा त होइन, त्यसका केही द्रुत कुराहरु होलान्। ती विषयहरु अगाडि सार्न चाहनुहुन्छ? राष्ट्रिय राजनीतिलाई अगाडि लैजानेबारेमा उहाँहरुको बुझाई के हो? नेपाली कांग्रेससँग सत्ता समिकरणको बारेमा छलफलहरु चलिरहेको छ भन्ने कुरा हामी सुनिरहेका छौं। छलफल चल्नुलाई अस्वभाविक ठान्दैनौं। तर, त्यही बाटोमा हिड्ने हो भने त एकताका ठाउँहरु कहाँ बाँकी रहलान् र? उहाँहरुका कुरा सुनेर हामीले आवश्यक प्रतिक्रिया दिन्छौं। हाम्रो तर्फबाट हामी सँधै एकताको पक्षमा छौं। र, एकताबद्ध ढङ्गले नै अगाडि बढ्न सकिन्छ। तर, त्यो एकताको आधार सही विचार, सही सिद्धान्त र सही नेतृत्व हुनुपर्छ।

हाम्रो चाहना स्थिर सरकार र राजनीतिक स्थायित्व हो

हाम्रो चिन्ता नेपाली जनताको जुन चाहना हो स्थिर सरकार, स्थायी र संगतिपूर्ण नीतिहरु र मुलुकमा बलियो राजनीतिक स्थायित्व त्यो कुरालाई अदालतको फैसलाले बल पुर्‍याउँछ वा भोलिका दिनमा मुलुक एउटा राजनीतिक अस्थिरतातिर जान्छ भन्ने बारेमा पर्खिनुपर्नेछ। त्यो नहोस् भन्ने हाम्रो चाहना हो। तर, हाम्रो मनमा केही गम्भीर जिज्ञासा र प्रश्नहरु छन्। ती प्रश्नहरुका बारेमा हामी बहस, छलफल गर्दै जान्छौं। तर, अहिलको हकमा अदालतको फैसलालाई कार्यान्वयन गर्ने, त्यसलाई सम्मान गर्ने हिसाबले हामी अगाडि बढ्छौं।

अर्को हामीले अहिले समग्र परिस्थितिको बारेमा छलफल गर्न छिट्टै हामीले पार्टीको केन्द्रीय कमिटी बैठक र ससंदीय दलको बैठक पनि बोलाउँदैछौं। संसदीय दलको नेताले बोलाउने बैठक नै आधिकारिक बैठक हुन्छ भनेर थप मैले बताइरहनु परेन। त्यहाँबाट हामीले थप छलफल पनि गर्छौं, सुझाव पनि लिन्छौं।

सर्वोच्चको फैसला कार्यान्वयन गर्छौं

संसद्को अधिवेशन निर्धारित समयमै आह्वान हुन्छ। त्यसपछिको राजनीतिक परिदृश्य कस्तो हुन्छ भन्ने बारेमा चाहिँ हामी सम्बद्ध सबैसँग छलफलमा छौं। हाम्रो एउटै चिन्ता मुलुकमा फेरि राजनीतिक अस्थिरता, संसद्भित्र असैद्धान्तिक र नीतिहीन गठबन्धहरु र त्यसले विगतमा जे कारणले नेपालमा आलोचना बढ्यो, असुन्तष्टि बढ्यो, जनस्तरमा जुन एक किसिमको वितृष्णा बढ्यो त्यो स्थिति नहोस्, मुलुकले दिएका नीतिहरु, मुलुकले लिएको बाटो कहिँकतै अवरुद्ध नहुने गरी, त्यसलाई केन्द्रविन्दुमा राखेर हामी सबै पक्षसँग छलफल गर्छौं।  

प्रधानमन्त्रीले देशको लागि सबैभन्दा उपयुक्त विकल्प रोज्नुहुन्छ

हामी दलहरुसँग छलफलमा छौं। मुलुकलाई अन्योलमा राख्नुहुन्न भन्ने हाम्रो भनाई हो। प्रधानमन्त्रीले आवश्यक परामर्शपछि जे गर्दा देशको लागि सबैभन्दा उपयुक्त हुन्छ त्यही गर्नुहुन्छ।  

देशभर गरिने भनिएका कार्यक्रमहरुले निरन्तरता पाउँछ

हामीले देशका विभिन्न ठाउँमा कार्यक्रमहरु राखेका छौं, यसले निरन्तरता पाउँछ। तर, कार्यक्रमका स्वरुपहरु परिवर्तन हुन सक्छन्।  

प्रकाशित: १२ फाल्गुन २०७७ १०:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App