१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

ओली पक्षका ९० प्रतिशत सांसद संसद् विघटनको विरोधमा छन्, गुटले बोल्न गाह्रो भएको हाे : प्रचण्ड

फाइल तस्वीर।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी ओलीको पक्षमा रहेका ९० प्रतिशत सांसद प्रतिनिधि सभा विघटनको विरोधमा रहेको दाबी गरेका छन्। मंगलबार गृहनगर चितवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्ने क्रममा प्रचण्डले ओली पक्षका ९० प्रतिशत सांसद संसद विघटनको विपक्षमा रहेको तर उनीहरु बोल्न डराएको जिकिर गरे।

‘केपीजीसँग भएका पनि ९० प्रतिशत सांसदहरु प्रतिनिधि सभा विघटको विरोधमा छन्,’ उनले भने, ‘विचारा उहाँहरुलाई बोल्न गाह्रो भएको छ। गुटमा भएपछि उहाँहरुलाई अप्ठेरो छ। गुट भनेको बडो खतरनाक चिज हो।’

उनले प्रधानमन्त्री ओली समूहबाहेक अरु सबै प्रतिनिधि सभा विघटनको विपक्षमा रहेको जिकिर गरे। ‘सबै राम्रो दिमाग भएका मान्छेहरु चाहिँ फेरि प्रधानमन्त्री केपी ओलीले जुन संसद् विघटन गर्ने र देशलाई निकै ठूलो अप्ठेरोमा हाल्ने काम गर्नुभयो त्यसको विरुद्धमा छन्,’ उनले भने, ‘केपी समूह बाहेक सबै संसद विघटनको विपक्षमा छन्।’

प्रचण्डले संसद विघटनविरुद्ध संयुक्त आन्दोलनको तयारी भइरहेको समेत बताए। ‘मैले शेरबहादुर देउवासँग कुरा गरें, रामचन्द्र पौडेल र अरू नेतासँग पनि कुरा गरिरहेको छु। जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ,’ प्रचण्डले भने, ‘केही समयभित्र संयुक्त आन्दोलन हुन्छ भन्ने लागेको छ।’

अर्को प्रसंगमा प्रचण्डले चितवनमा भगवान राम जन्मिएको प्रमाणित भए आफू सबैभन्दा धेरै खुसी हुने समेत बताए। तर, प्रधानमन्त्री ओलीले राजनीति गर्नको लागि राम चितवनमा जन्मिएको मुद्दा उठाएको प्रचण्डको आरोप छ। ‘राम मन्दिरको कुरा खाली ‘पोलिटिक्स’ गर्नको लागि र प्रचण्ड सिध्याउने अभियान चलाउँछु भन्ने ठान्नुभएको छ, त्यसले उहाँ(केपी ओली) नै गड्डामा पर्नुहुन्छ,’ प्रचण्डले भने।

गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेकी थिइन्। त्यसको विरोधमा सत्तारुढ दलकै प्रचण्ड–नेपाल खेमाले निरन्तर सडक आन्दोलन गरिरहेको छ। नेकपाका शीर्ष नेताहरु एक–अर्का विरुद्ध अभिव्यक्ति दिइरहेका छन्।

प्रकाशित: ४ फाल्गुन २०७७ ०७:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App