१५ पुस २०८२ मंगलबार
image/svg+xml
राजनीति

चुनाव बिथोल्न ‘वन बुथ, वन एक्सन' नीति

काठमाडौं - मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले संविधानसभा निर्वाचन बिथोल्ने नीतिलाई सफल बनाउन 'वन बुथ, वन एक्सन'को नीति अघि सारेको छ। संविधानसभा निर्वाचन बहिष्कारको नीतिलाई सफल बनाउन अध्यक्ष बैद्यले सो नीति केन्द्रीय समितिमा पेस गरेको उक्त प्रस्तावमा छलफल जारी छ। बैद्यको प्रस्तावलाई अधिकांश सदस्यले समर्थन जनाउँदै निर्वाचन बिथोल्न पूरै ध्यान केन्द्रित गर्नुपर्र्ने सुझाव दिएका छन्।

'सकेसम्म मुलुकका सबै मतदान केन्द्रमा र त्यो सम्भव नभए कम्तीमा एउटा क्षेत्रको एउटा मतदान केन्द्रमा भए पनि बिथोल्ने प्रस्ताव अध्यक्षले राख्नुभएको छ,' एक सदस्यले भने, 'त्यसमा सबैजसो कमरेडले समर्थन जनाउनु भएको छ, यद्यपि छलफल जारी छ।' बैद्यका अनुसार सो नीतिलाई सफल बनाउन केन्द्रीय नेतृत्वको प्रत्यक्ष भूमिका हुने गरी सांगठनिक संरचना पार्टीले निमार्ण गर्नेछ।

बहिष्कारको नीतिमा एक मत भएको केन्द्रीय समिति निर्वाचनलाई बिथोल्ने गरी योजना निर्माणमा पोखरा बैठक केन्द्रित भएको अर्का केन्द्रीय सदस्यले बताए। 'निर्वाचन बहिष्कार गर्ने र बिथोल्ने नीतिमा केन्द्रीय समिति एक देखिएको छ, अब त्यसमा कुनै शंका गर्नु जरुरी छैन,' ती सदस्यले भने, 'अहिले मुख्य छलफल निर्वाचन बिथोल्न कुन कुन नीति लिने र कसरी बिथोल्ने भन्नेमा केन्द्रित छ, हामी योजना निमार्णको तहमा छौं।' उनका अनुसार लिखित रुपमा प्रतिवेदनमा विथोल्ने योजना उल्लेख नगरी कार्यान्वयनमा लैजाने तयारीमा केन्द्रिय समिति छ। 

बैद्यले 'बिदेशीको योजनामा बनेको' खिलराज रेग्मी नेतृत्वको अन्तरिम चुनावी मन्त्रीपरिषदलाई निर्वाचन गराउन दिनु सिक्कमीकरणलाई खुलेआम स्वागत गर्नु भएको तर्क पेस गर्दै निर्वाचन बिथोल्न पर्ने प्रस्ताव गरेका हुन्। रेग्मी सरकारले गराउने निर्वाचनले मुलुकको राष्ट्रियता र राष्ट्रिय स्वाधिनता थप कमजोर हुने जिकिर वैद्यले गरेपछि केन्द्रीय सदस्यले धारणा राख्न थालेका छन्। 

निर्वाचन बिथोल्ने रणनीतिलाई सहयोग गर्ने उद्देश्यसहित महासचिव रामबहादुर थापाले सांगठानिक प्रस्ताव पेस गरेका छन् भने सचिव नेत्रविक्रम चन्दले युवा परिचालन सम्बन्धी योजना अघि सारेका छन्। 

'मुख्यतः सरकारले खेल्ने भूमिकामा हाम्रो रणनीति लागु हुन्छ, सरकारले दमन गरे गाउँ तहमा पुनः 'जनसैन्य फर्मेसन' सम्म गर्न पछि पर्नुहुँदैन भन्ने सुझाब आएका छन्,' ती सदस्यले भने, 'आन्दोलनलाई जनजिविकासँग जोडेर लान सकिएन भने असफल हुने खतरा हुन्छ, आन्दोलनलाई त्यहाँ पनि जोड्दै बिथोल्ने र ध्वस्त बनाउने नीति आउँछ।' राष्ट्रियता र राष्ट्रिय स्वाधिनताका मुद्दामा संसदवादी दल (एनेकपा माओवादीसहित) भित्र बिग्रह आइसकेकाले आन्दोलन सफल हुन सक्ने राय सदस्यले राखिरहेका छन् 

'मुख्यतः राष्ट्रियता, राष्ट्रिय स्वाधिनता, वैदेशिक हस्तक्षेप र जनजीविकासँग जोडर निर्वाचनको पछिल्लो नौटंकीलाई बिथोल्ने नीति लिएर आउँछौ,' अर्का सदस्यले भने। बोल्न बाँकी केन्द्रीय सदस्यले धारणा राखेपछि पदाधिकारीले संश्लेषण गरी जवाफ दिने कार्यक्रम छ।

प्रकाशित: १७ असार २०७० २१:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App