प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको विरोधमा शनिबार ट्रेड युनियन कांग्रेसमा आबद्ध पेशाकर्मीहरुले दोलखामा सदरमुकाम चरिकोटमा प्रदर्शन गरेका छन् ।
ट्रेड युनियन कांग्रेसको अगुवाईमा काङ्ग्रेस निकट २४ वटा पेशागत संघ संस्थाले चरिकोटमा प्रदर्शन गरेका हुन् । शुभेच्छुक संस्थाले देशैभर प्रदर्शन गर्ने नेपाली काङ्ग्रेस केन्द्रीय समितिको कार्यक्रम अनुसार शनिबार दिउँसो चरिकोटमा पार्टीका २४ शुभेच्छुक संस्थाले विरोध प्रदर्शन गरेका हुन् ।
काङ्ग्रेस पार्टी कार्यालयबाट निस्किएको र्यालीले बजारका विभिन्न भागको परिक्रमा गरेको थियो । कालोपट्टी बाध्नुका साथै कालो माक्स लगाएका र्यालीका सहभागीले प्ले कार्ड बोकेका थिए । नाराबाजी बिनै र्यालीका सहभागी बजारका विभिन्न भागको परिक्रमा गरेका थिए ।
काङ्ग्रेस पार्टी कार्यालय प्रांगणमा आयोजित सभामा ट्रेड युनियन कांग्रेसका जिल्ला अध्यक्ष रामजी चौलागाई लगायतले बोलेका थिए ।
प्रकाशित: २४ माघ २०७७ ११:१५ शनिबार